लकडाउन खुकुलो पारी व्यावसायिक गतिविधि सुरु गर्न पैठारी संघको माग



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले लकडाउन खुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न माग गरेको छ ।

संघले विज्ञप्ति जारी गरी लम्बिँदो लकडाउनका कारण अर्थतन्त्र र जनजीवनमा थेग्नै नसक्ने चाप परेको भन्दै यसलाई खुकुलो बनाउन माग गरेको हो ।

नेपालीका लागि कोरोना भाइरसभन्दा बढी घातक बन्न सक्ने लकडाउन खुकुलो बनाउनुपर्ने संघको माग छ । लम्बिँदो लकडाउनले ज्याला मजदुरी गर्ने लाखौंको रोजीरोटी खोसेको संघको धारणा छ ।

स्वरोजगारमूलक व्यवसाय सञ्चालक तथा रोजगारीका अवसर सिर्जना र राजस्वमा ठूलो योगदान गरेका साना तथा मझौला उद्यमी टाट पल्टिने अवस्थामा पुगेको परिप्रेक्ष्यमा यसलाई अझै लम्ब्याउँदा लकडाउनको लगत्तैपछि अर्थतन्त्र र मुलुकको सामाजिक व्यवस्था अकल्पनीय दुर्घटनामा पर्ने निश्चित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नागरिकलाई घरमा थुनेर होइन कोरोना भाइरसका विषयमा शिक्षा र चेतना जगाउने तथा बाहिरी चहलपहल र गतिविधिलाई सुरक्षित बनाउने तथा परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्र बनाउने भियतनामको जस्तो मोडल अपनाएर लकडाउन खुकुलो पार्न संघले माग गरेको छ ।


क्लिकमान्डु