सरकारी कर्मचारीको भत्ता : यी क्षेत्रमा कटौती, दशैं र महंगी भत्ता पाइने



कोरोनाका कारण अर्थतन्त्र कमजोर बनेको, राजस्व कम संकलन हुने र यसले आगामी वर्षमा खर्चमा मितव्ययिता ल्याउन आवश्यक भएको तर्क गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेटमा कर्मचारीहरुको प्रोत्साहन भत्ता कटौती गरेका छन् ।

हालसम्म शतप्रतिशतसम्म प्राप्त गर्दै आएका कोरोनाको अग्रपक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बाहेक सबैको भत्ता कटौती गरिएको हो ।

सरकारी कर्मचारीलाई बजेटले बनायो निराश, तलब बढेन सबै खाले भत्ता खारेज

त्यसैगरी प्रशासनिक खर्चमा पनि व्यापक कटौती गरिएको छ । राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न खर्च कटौती गरिएको हो ।

जसमा कार्यालय सञ्चालन, इन्धन, मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा ममर्त खर्चमा उल्लेख्य बजेट कटौती गरिएको छ ।

त्यसैगरी निजामती कर्मचारी मात्रै नभइ सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुको प्रोत्साहन भत्ता अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाजा/खाना खर्च, जोखिमलगायतको भत्ता आगामी साउन १ गतेदेखि लागू हुने गरी कटौती भइसकेको छ ।

यो व्यवस्था सार्वजनिक संस्थान, विश्वविद्यालय, समिति, बोर्ड, प्रतिष्ठान, कोषलगायतका सर्वाजनिक निकायमा समेत लागू हुने गरी मितव्ययीता सम्बन्धि निर्देशिका जारी गरिने उल्लेख छ ।

हालसम्म यो सुविधा १८ हजार कर्मचारीले पाउँदै आएका थिए । जसबाट वार्षिक ६ अर्ब रुपैयाँ जोगिनेछ ।

क–कसले भत्ता कटौती भयो ?

यसरी भत्ता कटौती हुनेमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले पाउँदै आएको भत्ता कटौती हुनेछ । उनीहरुले अतिरिक्त काम गरेका आधारमा प्रोत्साहन भत्ता पाउँदै आएका थिए ।

राजश्व तथा भन्सार कार्यालयका कर्मचारीले कार्यसम्पादनमा आधारित भत्ता पाउँथे भने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, अदालत, सरकारी वकिलले पाउने भत्ता पनि खारेज भएको छ ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालयका कर्मचारी पनि यस्तो भत्ता पाउँदै आएका थिए भने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, निजामती किताबखाना, राहदानी विभाग, संसद सचिवालयका कर्मचारी, विभिन्न संस्थान तथा विश्वविद्यालयका कर्मचारीको भत्ता पनि कटौती भएको छ ।

यी भत्ता भने पाउँछन्

प्रोत्साहन लगाउनका भत्ता कटौती भए पनि कर्मचारीले पाउँदै आएको महंगी भत्ता, दशैं भत्ता, पोशाक भत्ता र स्थानीय भत्ता भने कायमै रहनेछ ।


क्लिकमान्डु