अर्थमन्त्रीको चकलेट मोह, ४० प्रतिशत लाग्ने भन्सार शुल्क ३० प्रतिशतमा घट्यो



काठमाडौं । आत्मनिर्भर अर्थतन्त्र बनाउने घोषणा गरेका अर्थमन्त्री डा युवराज खतिवडाको चकलेट मोह बजेटमा देखाएका छन् ।
विदेशबाट आयात हुने चकलेटमा ४० प्रतिशत लाग्दै आएको भन्सारलाई यो पटक घटाएर ३० प्रतिशतमा झारेका छन् ।

मुख्य रुपमा केही व्यवसायीको फाइदाको लागि चलकेटमा लाग्ने भन्सार शुल्क हटेको छ । भन्सारको लागत अन्तिममा उपभोक्ताले नै तिर्ने भएपनि भन्सार शुल्क घटेपछि यसको फाइदा आयात हुने चकलेटले राम्रोसँग उठाउने छन् ।

नेपालमा विदेशी महंगा चकलेटको बिक्रेता व्यवसायिक घराना विशाल ग्रुप रहेको छ ।

एमजी मोटरको बिक्रेतापनि बिशाल ग्रुप हो । बजेट अगाडि विद्युतीय सवारी साधनको भन्सार र अन्तशुल्क बढ्ने सूचना चुहिएपनि एमजी मोटर बिशाल गु्रुपले भन्सारमा अड्किएको विद्युतीय गाडी छुटाएको थियो ।

नेपालमा गतवर्षमात्र ३ अर्ब रुपैयाँ बराबरको चकलेटजन्य पदार्थ आएको थियो । जसबाट सरकारले भन्सार महशुल वापत १ अर्ब ५४ करोड रुपैयाँ पाएको थियो । १० प्रतिशतले भन्सार शुल्क घटाउदा सरकारलाई ३८ करोड जति घाटा लाग्छ ।

चकलेट अत्यावश्यक वस्तुमा पर्दैन । नेपालमैपनि चकलेट उत्पादन गर्ने धेरै उद्योगहरु छन् । अर्थमन्त्रीको कदमले स्वदेशी चकलेट उद्योग निरुत्साहित हुने पक्का छ ।


क्लिकमान्डु