अब पढाई कसरी गर्ने ? बिष्णु ज्ञवालीको लेख

बिष्णु प्रसाद ज्ञवाली २०७७ जेठ १७ गते १०:०२ मा प्रकाशित

विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को असर नेपालमा पनि परेको छ । यसको प्रभाव उधोग , वाणिज्य, कलकारखाना, होटल , संघ संस्था, सामान्य पसल तथा व्यक्ति लगाएत विभिन्न शैक्षिक संस्था, विश्वविद्यालय तथा विद्यालयहरुमा पनि परेको छ । एस ई ई , कक्षा ११, १२, स्नातक चौथो वर्ष, स्नातकोत्तर दोश्रो र चौथो सेमेस्टरका विद्यार्थीहरु लगायत कतिको परीक्षा दिदादिदै, कतिको परीक्षा शुरुवात हुनुभन्दा अघिल्लो दिन परीक्षा रोकिएका छन् ।

हामीलाई थाहा छ सिकाइ निरन्तर चलिरहने प्रकृया हो । यो जीवन्त सम्म चलिरहन्छ । त्यसैले विद्यार्थीहरुले कुनै न कुनै माध्यमवाट शिक्षा हासील गर्नुपर्छ ।शिक्षा प्रकृतिको काखमा पनि प्राप्त गर्न सकिन्छ । शिक्षा विकासको आधार हो । दिगो शान्ती र समृद्धीको लागि शिक्षालाइ महत्वपूर्ण माध्यमको रुपमा स्वीकारिएको छ । नेपालमा शिक्षा सम्वन्धी हक मौलिक हकको रुपमा रहेको छ ।

भौतिक कक्षामा गएर तुरुन्त पढ्न पाउने वातावरण छैन । लकडाउन केही खुलुको भयो भने पनि विस्तारै खुलुको पार्दै लैजाने क्रममा शैक्षिक संस्थाहरु खुल्ने अन्तिम क्रममा मात्र हो । अभिभावक, शिक्षक र स्वयं विद्यार्थीहरुलाइ शैक्षिक गतिविधीमा संलग्न हुन नपाउदा केही उकुसमुकुस भएको छ । हुनत ज्यानभन्दा ठूलो पढाइ पनि होइन र अन्य कुरा पनि छैन । तरपनि यस्तो अवस्था कहिलेसम्म रहने भन्ने कुराको कुनै उत्तर छैन । त्यसैले यो अवस्थामा  भर्चुअल कक्षामा पढ्नुभन्दा अर्को विकल्प देखिदैन । पछि भौतिक कक्षा सञ्चालन गर्दा पनि अति सतर्कताका साथ गर्नुपर्ने हुन्छ । एक दुइ वर्ष नै सामाजिक दुरी कायमा गर्नुपर्ने वाध्यता पनि आउन सक्छ ।

डिजिटल डिभाइसहरु नेपालमा अलि कमजोर छ । कम्प्युटर होला, इन्टरनेट छैन होला । इन्टरनेट होला तर राम्रोसंग नचल्ला, दुवै होला तर विध्धुतको प्रवाह राम्रोसंग नहुन सक्छ । गाँउघरमा फोन अझै राम्रोसंग नचल्ने ठाँउहरु पनि छन् । त्यहाँका वच्चाहरुलाइ डिजीटल कक्षाहरुमा जोड्न झन गाह्रो छ । अझ कतिपय अवस्थामा अभिभावकसंग, विद्यार्थीसंग साथै शिक्षकहरुसंग पनि डिजीटल ज्ञान नहुन सक्छ ।

भर्चुअल कक्षाका धेरै समस्याहरु , कठिनाइहरु हामीलाइ थाहा छ । थाहा हुँदाहुदै पनि सम्भाव्यताका वारेमा छलफल गर्नुपर्ने वाध्यता भईसक्यो । सवैको लागि गुणस्तरीय शिक्षा पाउने र प्रदान गर्नुपर्ने हुन्छ । अमेरिका जस्तो देशमा पनि वेविनार वाट ८०प्रतिशतले मात्र पढेका छन् । अझ त्यहाँ फेस टु फेसले जस्तो गुणस्तरीयता ल्याउन सकेन भनेर मुद्दा समेत परेको सुनिन्छ । तर पनि  पढाइको लागि विकल्प खोज्नुपर्ने वाध्यता छ । धेरै कठिनाइका वावजुत पनि सम्भाव्यताको वारेमा अध्ययन हुनु जरुरी छ ।

शासनको व्यवस्था वा अवस्था परीवर्तन होस् वा प्रविधीको परिवर्तन  वा जुनसुकै परिवर्तन किन नहोस, त्यतिखेर परिवर्तन गर्ने भनेको शिक्षकले नै हो । अहिलेसम्मको परिवर्तनको भूमिका हेर्ने हो भने शिक्षक नै अग्र पंङ्तिमा छन् ।  अध्यारोमा टर्च वाल्ने काम शिक्षकले नै गर्ने हो । त्यसैले शिक्षकलाइ मैनवत्तिसंग तुलना गरिएको छ । शिक्षक भनेका परिवर्तनका वाहक हुन् , यसमा कुनै दुइमत छैन । अव बालबालिकाहरुलाइ पढाउन / सिकाउनु पर्नेछ । जसका लागि :

सरकारलाई ईन्टरनेट भनेको अति आवश्यक वस्तु हो  । यसलाइ अति आवश्यकिय वस्तुको रुपमा राख्नुपर्नेछ ।सहुलियत दरमा यो सुविधा उपलव्ध गराउनुपर्नेछ ।

सहजै रुपमा एक ठाँउवाट अर्को ठाँउमा जाने वातावरण तयार भएपछि आफ्ना वालवालिका पढाउला/ पढौंला भन्न मिल्दैन किनकि अहिले विश्वमा यो सिक्ने माध्यमलाइ परिवर्तन गरेर सिक भन्ने सन्देश हो ।

कोठाभाडा लिएर टिउसन कोचिङमा वच्चाहरु पढाएजस्तै सामान्य एण्ड्रोइड मोवाइल र डेटा प्याक पनि शैक्षिक वस्तु हुन भनेर अभिभावकले वुझ्नुपर्नेछ ।

परीक्षा कसरी लिने, हाजिरी कसरी गर्ने, मुल्यांङ्कनका आधारहरु केके हुने ? भन्ने विषयमा सम्वन्धित निकायले तुरुन्त भन्नुपर्ने हुन्छ । नत्र डिजीटल माध्यमवाट पढाउला. फेरी परीक्षा तथा मूल्यांकनको टुङ्गो नलाग्ला । अनी कहिलेसम्म पढाउने ?

भौतिक कक्षामा भन्दा डिजिटल कक्षामा कोर्षहरु अलि चाडो सकिन्छ । त्यसको लागि पनि शिक्षकहरुले अलि धेरै शैक्षिक सामग्री तयार गर्नुपर्नेछ ।

न्युमेरीकल विषयमा केहि कठिनाइ देखिएको छ । तर अहिले जुन अवस्थामा छ  तेहि अवस्थामा शुरु गरी समस्याको समाधान गर्दै अघि वढ्नुपर्ने वाध्यता छ ।  जसको लागि अनुदानमा आधारीत स्टुडियोहरु खोल्नुपर्ने हुन्छ । अहिले खुलेका / प्रयोगमा आएका स्टुडियो हरुलाइ सहज वातावरण हुँदा  दुर तथा खुल्ला शिक्षा प्रदान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना गरी अझ शैक्षिक अवस्थामा विस्तार गर्न सकिन्छ ।

हुनत अवसर भनेको जनमैत्री हुनुपर्दछ । तरपनि अहिले छनोटमैत्रीमा जानुपर्ने वाध्यता छ । यसो गर्दा प्राप्त हुने न्याय निर्देशित न्याय हुनेछ। तत्काल वितरणकारी न्यायमा हामी जानु अलि कठिन छ । त्यसैले जति जनाले सक्नुहुनेछ त्यतिवाटै शुरु गरौं ।

सम्भव भएसम्म छुटेका विद्यार्थीहरुलाइ एउटै टोलमा एउटै घरमा ओल्लो घर, पल्लो घरका पढेलेखेका सवैले मिलाएर शिक्षा दिने कोशिश गरौं । जुन व्यवहारीक शिक्षा ,गित, कथा, नृत्य, कृषि लगाएतका धेरै कुराहरु सिकाउन सकिन्छ । यो समयमा सामाजीक व्यक्ति वन्ने अवसर पनि छ । एउटै घरमा पढेलेखेका भएत झन सजिलो नै हुनेभयो । अहिले सवैले समय छुट्याएर पढाउने काममा सहयोग गर्ने हो भने तपाई हामीले पढेको सार्थक हुन्छ नभए तपाई जस्तो स्वार्थी दुनियामा कोहि देखिनेछैन । आफ्नो मात्रै होइन बालबालिकालाई सहयोग गरी मोडेल वनौ ।

विद्यालय खुलिहाल्यो भने सोसल डिस्ट्यान्स पक्कै कायम रहनेछ । विहानी र दिवा सेवा सहित विहानी सेवामा जोर रोल नं र दिवा सेवामा विजोर रोल नं वा अन्य आधार वनाएर वरु ३५ मिनेटको पिरियड कायम गरेर जोर दिनमा जोर कक्षा र विजोर दिनमा विजोर कक्षा सञ्चालन गर्ने एउटा योजना वेलैमा तयार गर्नुपर्ने देखियो ।

कुनै पनि योजना वनाउँदा संस्थाको माथिल्लो लेभल मात्र वसेर वनाउदै नवनाँउ । अहिलेको समय सामुहिक जिम्मेवारी र दायित्वको समय हो । जापानमा जस्तै पियन देखि प्रिन्सीपलसम्म संगै वसेर योजना वनाँउ । जसले गर्दा हामिले वनाएको नियम भन्ने हुन्छ । म को सट्टा हामी आउछ । जसले गर्दा कार्यान्वयन गर्न निकै सजीलो हुन्छ ।

प्राविधीक ज्ञान विद्यार्थी र शिक्षक दुवैलाइ वढाउन एक दिने, दुइ दिने वा एक हप्ते आवश्यक तालिम सञ्चालनका लागि सम्वन्धित पक्षले नेतृत्व लिनुपर्ने देखियो । यसो नगरे अव ढिला हुन सक्छ ।

अत: हामी जहाँ छौ  त्यहीवाट शैक्षिक गतिविधि सञ्चालन गरौं । जसले सक्छौ, उसले दिल खोलेर घर घरमा, टोल टोलमा सहयोग गरौं । अब हामी पढेलेखेका सवै शिक्षक हौं । शिक्षाको घडी नरोकौं । यसलाई निरन्तर चल्न सहयोग गरौं । अहिलेको ईच्छा: बालबालिकाको शिक्षा भन्ने कुरा हामी सवैले वुझौं । त्यसैले अब बालबालिकाको पढाई शुरु गर्ने  कि ?

ज्ञवाली ज्ञानोदय उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन्

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स