पटकपटक फेल भएको दाङमा अर्को विमानस्थल बनाउन अर्थमन्त्रीले बजेट छुट्याए



काठमाडौं । पटक–पटक सञ्चालन र बन्द हुँदै आएको दाङको टरिगाउँ विमानस्थलको विकल्पमा दाङमै अर्को विमानस्थल निर्माण गरिने उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा दाङको नारायणपुरमा अर्को नयाँ विमानस्थल निर्माण गरिने बताए । उनले दाङसँगै तेह्रथुमको चुहानडाँडा लगायतका आन्तरिक विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

विस २०११ सालमा सञ्चालन शुरु भए पनि दाङको विमानस्थलमा यात्रु नहुँदा कैयन पटक सञ्चालन र बन्द हुँदै आएको छ । दाङको टरिगाउँ विमानस्थल त अझै चुनावमा नेताहरुका लागि गतिलो खुराक समेत बन्दै आएको छ ।

आफूले जिते टरिगाउँमा रहेको विमानस्थल सञ्चालन गर्ने नभए अर्को विमानस्थल बनाइदिन्छु भन्दै चुनावमा नारा दिँदै आएका छन् । तर विमानस्थलमा यात्रु नै नहुँदा विमान कम्पनीहरुले त्यहाँको सेवा सञ्चालन नै बन्द गरेका छन् ।

यतिसम्म कि नेपाल एयरलाइन्सले समेत नियमित उडान गर्न सकेको छैन ।

बजेट अघि पर्यटनमन्त्री योगेश भट्टराईले अब उप्रान्त कसैको माग गरेकै आधारमा विमानस्थल निर्माण नगरिने स्पष्टसँग बताएइका थिए ।

उनले गाडी नपुग्ने र अत्यावश्यक भएका ठाउँमा, व्यवसायिक प्रतिफल हुने र पर्यटकीय हिसाबले फाइदा हुने स्थानमा मात्रै विमानस्थल निर्माण प्राथमिकतामा पर्ने बताएका थिए ।

तर पटक पटक फेल भइसकेको दाङमा पहिले नै रहेको विमानस्थल सञ्चालन हुन नसक्दा अर्को विमानस्थल निर्माण गर्नका लागि बजेट छुट्याउनु उचित भने देखिन्न । दाङ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको जिल्ला हो ।

प्रदेश नम्बर ५ अन्तर्गत भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । सम्भवतः आगामी आर्थिक वर्षको केही महिनामै सञ्चालनमा पनि आउँछ । यो मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यहाँबाट दाङ पुग्नका धेरै समय लाग्दैन । त्यसैले दाङमै अर्को ठूलो विमानस्थल चाहिन्छ भन्नु तर्कसंगत विषय पनि होइन ।

साथै दाङबाट नजिकै रहेको नेपालगञ्जमा पनि अर्को विमानस्थल छ । साथै प्रदेश नम्बर ५ मा गुल्मीमा पनि विमानस्थल छ भने प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लामा समेत विमानस्थल निर्माणका लागि ३ पटकसम्म उद्घाटन भइसकेको छ ।

एकातिर सम्भावना असाध्यै कम भएको र व्यवसायिक हिसाबले समेत फेल भइसकेको दाङमा अर्को अझ ठूलो विमानस्थल बनाउँछु भन्नु चुनावी नारा मात्रै हो । सुन्दा लोकप्रिय सुनिए पनि यसको आर्थिक हिसाबले फाइदा छैन घाटा नै छ ।

किन चाहियो विमानस्थल ?
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले टरिगाउँ विमानस्थल सानो भएकाले ठूलो विमानस्थल बनाउनका लागि नारायणपुरलाई रोजिएको बताए । उनका अनुसार अहिलेसम्म डिजाइनिङ र ड्रोइङ गर्ने काम सम्पन्न भइसकेको जानकारी दिए ।

‘टरिगाउँ विमानस्थल विस्तार गर्न सम्भव छैन र उत्तर दक्षिणमा रनवे छ, तर नारायणपुरमा भने ठूलो विमानस्थल बनाउन पनि सकिन्छ र रनवे पनि पूर्वपश्चिम दिशामा बनाउन सकिन्छ,’ उनले भने ।

उनका अनुसार टरिगाउँ विमानस्थलमा ठूला विमान जान सक्दैनन भने नारायणपुरमा बनाउन लागिएको विमानस्थलमा एटीआर जस्ता ठूला विमान पनि जान सक्ने बताए ।

‘दाङमा घोराही र तुलसीपुर जस्ता २ वटा उपमहानगरपालिका पनि भएको र विमानस्थलको आवश्यकताका आधारमा निर्माण गर्न लागिएको हो,’ पोख्रेलले भने । नारायणपुर यी दुबै उपमहानगरपालिकाको बीचमा पर्छ ।


क्लिकमान्डु