बजेटले ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । कोरोनाबाट परेको अर्थतन्त्र उकास्नको लागि सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको प्याकेज ल्याएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले सरकारले दिने राहतका प्याकेजहरु विभिन्न प्रकारको हुने भन्दै सरकारले बजेट मार्फत ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताए ।

अर्थमन्त्री खतिवडाले सरकारले विद्युत्मा ८ अर्ब रुपैयाँको राहत दिएको जानकारी दिए ।

यस्तै ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको बताए । सामाजिक सुरक्षा कोषमा दर्ता भएका रोजगारदाता र श्रमिकले तिर्नुपर्ने रकम लकडाउनअवधीभर सरकारले तिर्ने र यसको लागि डेढ अर्ब रुपैयाँको राहत दिइएको बताए ।

‘राहतको कार्यक्रम भनेको नगदै बाढ्ने मात्र होइन,करछुट,ब्याजदरमा सहुलियतबाट दिन सकिन्छ,हामीले सबै उपायहरु अपनाएर राहतको प्याकेज ल्याएका छौ,’अर्थमन्त्री खतिवडाले भने । यस्तै करममा ६ अर्ब रुपैयाँको राहत प्याकेज दिइएको अर्थमन्त्री खतिवडाले बताए ।


क्लिकमान्डु