सरकारले कांग्रेसले भनेजस्तो बजेट ल्यायो, म भए भारत र चीनसँग बीप्पा सम्झौता गरेर लगानी भित्र्याउँथेः भट्टराई



काठमाडौं । पूर्व प्रधामन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा निकै असन्तुष्टी जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफलमा पूर्व अर्थमन्त्री सहित रहेका डा. भट्टराईले दिर्घकालिन भिजन बीना कै बजेट ल्याएको बताएका हुन् ।

छलफलमा उनले आफू यो समयमा अर्थमन्त्री भएको भए भारत र चीनसँग बीप्पा सम्झौता गरेर विदेशी लगानी निकै भित्र्याउने दाबी गरे । उनले सरकारलाई आगामी आवका लागि कम्तिमा पनि १७ वा १८ खर्बको बजेट ल्याउन सुझाव दिएपनि त्यो अनुसार बजेट नआएको बताए । उनले भने ‘अहिले अर्थमन्त्री अल्मलिनु भएको जस्तो छ ।’

अहिलेको सरकारले आफैले भन्दा पनि नेपाली काँग्रेसले भने अनुसार नै सानो आकारको बजेट ल्याएको डा. भट्टराईको दाबी छ । ‘यो सरकारले धेरै सानो आकारको बजेट ल्याएको छ । यो बजेट सरकारले भन्दा पनि काँग्रेसले भनेर ल्याएको हो । सरकारले कुनै पनि सपना नै देख्न सकेन ।’
विगत ४० वर्षदेखि पुरानै कुरा दोहोरी रहेको र हरेक वर्षको बजेटमा कति कति पैसा उठाएर कति खर्च भयो भन्नेमा मात्रै सिमित बनेको उनको तर्क छ ।

‘विगत ३०, ४० वर्षदेखि गुणात्मक फडको मार्न सकिएन । यो अवधिमा धेरै साना उद्योग बन्द भएका छन् । हाम्रा आर्थिक क्षेत्र धरासायी बन्दै गएका छन् । यसलाई हेरेर बजेट ल्याउनु पर्ने हो त्यसमा सरकार चुकेको छ ।’ सरकार कुरामा ठूलो फडको मार्न खोज्ने तर काम गर्दा खुट्टा कमाउने प्रचलन बढेको भट्टराइको बुझाई छ ।

आफु सरकारले ल्याएको बजेटबाट सन्तुष्ट नरहेको र यसले नेपाल बन्दैन भन्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

आफुले ९ महिना सरकार चलाउँदा धेरै दृष्टिकोण ल्याएको पनि उनको दाबी छ ।
भट्टराइले यो समयमा राज्य, बजार र समुदायको आर्थिक प्रणालीको लागि काम गर्नुपर्ने समय भएपनि सरकारले मुखले भन्ने तर काम गर्ने अवस्था नदेखिएको दाबी गरे ।

‘यो बेलामा मैले बजेट ल्याएको थिए भने पहिला गरिबिको रेखामुनी रहेका नेपालीको अभिलेखिकरण गर्ने थिए र यो वर्ष सबैलाई ५÷५ हजार र अर्को वर्ष १०/१० हजार दिने थिए । त्यसको लागि स्थानीय तहबाट अभिलेखिकरणको काम थाल्ने थिए’ उनले भने ‘१० औं लाखलाई रोजगारी दिने थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमले केही हुँदैन । हेलमेट लगाएर झार गोडेर देशको विकास नहुने भएकाले यो कार्यक्रमको बिकल्प सोच्ने थिए ।’

उनले छलफलको क्रममा आफु भएको भए कृषि क्षत्रेमा आमुल परिवर्तन गर्दै नगरी देशको विकासमा लाग्ने र एकै झडकामा परिवर्तन ल्याउने सम्म बताए ।


क्लिकमान्डु