अर्थमन्त्री खतिवडाले गतवर्ष भ्याटमा गरेको गल्ती, यो वर्ष सच्याए



काठमाडौं । सरकारले गत आर्थिक वर्षमा गरेको गल्ती कमजोरी चालु आर्थिक वर्षमा सुधार गरेको छ । गत आवमा सरकारले कवाडी तथा पत्रुको व्यवसायी र कानून व्यवसायीलाई समेत भ्याटको दायरामा ल्याएको थियो । तर चालु आवबाट दुवै व्यवसायीलाई लगाएको भ्याट हटाएको छ ।

कवाडी व्यवसायलाई भ्याटको दायरामा ल्याएपनि कुनै खाले भ्याट संकलन नभएपछि सरकारले यो वर्ष यसमा लाग्ने भ्याटको दायरा हटाएको हो ।

यस्तै नगरपालिकामा दर्ता भएका मोटर पाट्र्स, सुटिङ, सर्टिङको सामान सहितको टेलरिङ व्यवसायमा पनि भ्याट हटेको छ ।
औषधि उद्योगले खरिदमा तिरेको कर पनि फिर्ता गर्ने व्यवस्था गरेको छ । औषधि उद्यागले औषधि उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ पदार्थमा स्वदेशी उद्योगबाट खरिद गरेमा उक्त खरिदमा तिरेको कर चौमासिक रुपमा फिर्ता पाउन कर अधिकृत समक्ष निवेदन दिन सक्ने व्यवस्था गरेको छ । कसैको निवेदन परेमा फिर्ता दिनुपर्ने ठहरिएको रकम कर अधिकृतले निवेदन परेको मितिले ६० दिनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै कुनै कामदारलाई ३ हजारसम्म तलब दिँदा प्यान नचाँहिने व्यवस्था पनि गरेको छ । कुनै व्यक्तिले आर्थिक वर्ष २०७६÷०७७ मा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि पटक प्रकृतिको ३ हजार रुपैयाँसम्मको ज्याला भुक्तानी गर्दा भुक्तानी प्राप्न गर्ने व्यक्तिले स्थायी लेखा नम्बर नलिएको भएपनि त्यस्तो खर्च कट्टि गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारले जलविद्युत उत्पादन, प्रसारण र वितरण आयोजनाको लागि आवश्यक पर्ने निर्माण उपकरण, मेशिनरी औजार र सोसँग सम्बन्धित पार्टपुर्जा लगानी बोर्डको स्वीकृतिमा सञ्चालन हुनेको हकमा सो केन्द्रको र अन्य आयोजनाको हकमा विद्युत विकास विभागको सिफारिसमा पैठारी गर्दा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था पनि गरेको छ । यस्तै कुनै आयोजनाले खरिद गरेको मेसिनरी सामान १० वर्ष नपुगी नामसारी, बिक्री जा कुनै किसिमले हक हस्तान्तरण गरेमा प्रतलित कानूनबमोजिम पुरै मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।


क्लिकमान्डु