बजेट लेख्न अर्थमन्त्री खतिवडासहितकाे टाेली मध्यरातसम्म मन्त्रालयमा



काठमाडौं । भोलि जेठ १५ गते, बजेट आउने दिन ।

आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन बुधबार अबेर रातसम्म अर्थमन्त्री डा. युवराज खतिवडा व्यस्त छन् ।

उनीसँगै उनको कोर टिम छ । जसले उनलाई साथ दिइरहेको छ । यो  टिम आगामी वर्षको बजेट निर्माणमा हप्तौदेखि दैनिक १६ घण्टासम्म काम गरिरहेको छ ।

बुधबार राति पौने ११ बजेसम्म अर्थमन्त्रालय उज्यालो छ । बाहिर कडा सुरक्षा छ भने भित्रै बजेट बनाउने टिम बजेट लेखनीलाई अन्तिम रुप दिन घोतल्लिरहेको छ ।

मन्त्रालय स्रोतका अनुसार यसको संयोजन अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले गरिरहेका छन् । साथै अर्थसचिव शिशिर ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनी पनि सहभागी  छन् ।

यस्तै नेपाल राष्ट्र बैंकबाट अर्थमन्त्रालयमा काजमा आएका डा.रामशरण खरेल पनि निर्माण तथा लेखनमा सहभागी छन् । उनले अर्थमन्त्री डा. खतिवडाको सहयोगीको भूमिकामा रहेर डा. खतिवडा मन्त्री भएदेखि नै काम गरिरहेका छन् ।

उक्त टिमले बुधबार राति लेखनीलाई अन्तिम रुप नदिँदासम्म त्यही बस्नेछ । र,  छपाईका लागि प्रेसमा पुगेर फाइनल भएपछि घर फर्कने छ ।

बजेट बिहीबार दिउँसो ४ बजे संसदमा पेश हुनेछ ।


क्लिकमान्डु