महासंघको नेतृत्वमा आउन शेखरलाईभन्दा चन्द्र ढकाललाई हतार, चुनावको मिति तोक्न लिखित दबाब



काठमाडौं । सरकारले चैत ११ गतेदेखि कोरोना रोकथामका लागि लकडाउनको घोषणा गरेपछि चैत अन्तिममा हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चितकालका लागि सर्यो ।

यस पटकको साधारणसभाले नेतृत्व चयन गर्नेछ ।

विधानत बरिष्ठ उपाध्यक्ष शेखर गोल्छ साधारणसभा भएकै मितिदेखि महासंघको अध्यक्ष बन्नेछन् । चैत अन्तिममा साधारणसभा भएको भए अहिले गोल्छा अध्यक्ष भएर महासंघ चलाएको पनि झन्डै डेढ महिना भइसकेको हुन्थ्यो । कोरोनाका कारण आफ्नो कार्यकाल घटिरहेको छ । तैपनि गोल्छा चुपचाप बसेका छन् ।

यस पटकको निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधानले उम्मेद्धारी घोषणा गरेर अन्तिम तयारी गरिसकेका थिए । लकडाउनका कारण चुनावको मिति सरेपछि उनीहरुको खर्च बढ्ने भएको छ भने फरक परिस्थितिमा फरक मिहेनत गर्नुपर्ने देखिएको छ ।

यतिबेला बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकाललाई महासंघको नेतृत्वमा आउन बढी हतारो देखिएको छ । यो कुराको पुष्टि उनी आफैंले गरेका छन् ।

कोरोनाको संक्रमण दिनानुदिन बढिरेको छ । आम मानिसलाई रोग र भोकले कतिखेर मरिने हो भन्ने चिन्ता छ । तर, चन्द्र ढकाल भने ती बसै कुरा भुलेर सामान्य अवस्थामा जस्तै महासंघ नेतृत्वलाई लकडाउनकै बेला निर्वाचको मिति तोक्न तीब्र दबाब दिइरका छन् ।

महासंघ कार्यकारीणी बैठकले अनिश्चितकालका लागि स्थगित गरिएको साधारणसभाको मिति तोक्न अध्यक्ष भवानी राणा र उपाध्यक्ष शेखर गोल्छालाई दिएको थियो । राणा र गोल्छा दुबैजना लकडाउन खुलेको भोलिपल्टै यसबारे निर्णय गर्ने बताउँछन् ।

तर, यसैबीचमा एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र विशिष्ट सदस्य चण्डीराज ढकालले पटक पटक मिति तोक्न दबाब दिए । त्यतिमात्रै होइन, उनीहरुले लिखितरुपमै पनि मिति तोक्न माग गरे । साथै, यसबारे निर्णय गर्न स्थायी कमिटिको बैठकको माग पनि गरे ।

उनीहरुको माग अनुसार अध्यक्ष राणाले सोमबार स्थायी कमिटिको बैठक पनि बोलाइन् । तर, बैठक माग गर्ने ढकाल र श्रेष्ठ नै बैठकमा उपस्थित भएनन् । र, अन्य स्थायी कमिटि सदस्यहरुलाई पनि बैठक बहिस्कार गर्न आग्रह गरे ।

‘चन्द्रजीहरुले नै माग गरेपछि स्थायी कमिटिको बैठक बोलाइएको हो, तर उहाँहरु नै आउनुभएन,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन्, ‘उहाँहरुले निर्वाचनको मिति तोक्न पनि लगातार माग गरिरहनुभएको छ । लकडाउनकै बेला त कसरी मिति तोक्नु ?’

उपाध्यक्षद्धय ढकाल र श्रेष्ठले असार २५ गतेभित्र निर्वाचन गर्नका लागि मिति तोक्नुपर्ने माग राखेका छन् । नेतृत्वले लकडाउन खुलेपछि मात्रै निर्वाचनको मिति तोक्ने भनेपछि उनीहरुले बैठक बहिस्कार गरेको राणाले जानकारी दिइन् ।

चन्द्र ढकाल र चण्डीराज ढकालले नै स्थायी कमिटिको बैठक बोलाउन माग गरेको र उहाँहरुले नै बैठक बहिस्कार गरेको राणाले जानकारी दिइन् ।

बरिष्ठ उपाध्यक्ष गोल्छाले पनि लकडाउन खुलेको भोलिपल्ट साधारणसभाको मिति तोक्ने छलफल गरौला भनेका थिए ।

‘म विधानत अध्यक्ष भइसकेको व्यक्ति हुँ, तर साधारणसभा नहुँदा अध्यक्षको कार्यभार सम्हाल्न पाएको छैन, मलाई पनि सकेसम्म चाँडो अध्यक्षको कार्यभार सम्हाल्ने मन छ,’ गोल्छाले क्लिकमाण्डूसँग भने, ‘तर यो अवस्था म अध्यक्ष हुनका लागि वा अरु कसैले पनि आफू केन्द्रित भएर साधारणसभा र चुनाव चुनाव भन्नु भएन । किनभने अहिले हजारौं मान्छे भेला पारेर चुनाव गर्ने अवस्था छैन । अवस्था सहज हुनेवित्तिकै साधारणसभाको मिति तोक्नुपर्छ ।’

ढकालद्धय र श्रेष्ठलगायत उपस्थित नभएपछि स्थायी कमिटिमा कोरम नपुगेर आजको बैठकले औपचारिकता पाएन । तर महासंघको विधानअनुसार कोरम नपुगेको ३ दिनपछि उल्लेखित व्यक्तिहरु नआए पनि बैठक बसेर आवश्यक निर्णय लिन सक्ने व्यवस्था छ ।

चन्द्र ढकाल र चण्डीराज ढकाल लगायतले पनि यो कठिन परिस्थितिलाई बुझेर संयमित भई अघि बढ्दा सबैको भलो हुने देखिन्छ । किनभने लकडाउनको अवस्थामा आवतजावतमा सरकारले प्रतिवन्ध लगाएको छ भने लकडाउन खुल्नेवित्तिकै पनि भीडभाड गर्न नहुने र सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता हुन्छ ।

यदि कुनै एक व्यवसायीलाई कोरोना संक्रमण रहेछ भने चुनावमा भेला भएका हजारौं व्यवसायीलाई संक्रमण सर्ने उच्च जोखिम हुन्छ । यो जोखिम मोल्नेभन्दा पनि सुरक्षित रहने समय हो ।


पुष्प दुलाल