दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सकिन्नः पर्यटन व्यवसायी



पोखरा । पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामी दुईवर्षसम्म तिर्न नसक्ने बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै सो जानकारी गराएको परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

‘बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि प्रदेश सरकारले निश्चित प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने मागसहित हामीले ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘आगामी दुई वर्षसम्म व्यवसायीले कतैतिरको ऋण तिर्न सक्ने अवस्था छैन, हामीले मुख्यमन्त्रीलाई यसबारेमा जानकारी गराएका छौँ ।’

पर्यटन क्षेत्रको खर्बौंको लगानी जोखिममा रहेको र होटल सामान्य सञ्चालनमा समेत कठिनाइ भइरहेको अवस्थामा ऋण र ब्याजको किस्ता तिर्न सक्ने अवस्था नरहेको उनको दावी छ ।

उपाध्यक्ष भट्टराईले ऋण तिर्नका लागि तोकिएको अवधिमा दुईवर्ष थपिनुपर्ने र त्यसबाहेक ऋणको ब्याजदर पनि घटाउनुपर्ने व्यवसायीको माग रहेको बताए । उनले व्यवसायी नै नबाँचे वित्तीय संस्था सञ्चालन हुन नसक्ने भन्दै दोहोरो अङ्कको ब्याजदर घटाएर ऋण दिनुपर्ने बताए ।

व्यवसायीले पर्यटन क्षेत्रलाई बचाउनका लागि नीति तथा कार्यक्रममा समावेश नभएकोप्रति पनि दुखेसो पोखेका छन् ।
पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले  अहिलेको अवस्थामा पर्यटनको लगानी जोगाउन धेरै आग्रह गर्यौँ, तर सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै असन्तुष्टि जनाए ।
उनले पर्यटन क्षेत्र तत्कालीन र दीर्घकालीन असर पर्ने क्षेत्र हो, यस क्षेत्रबाट व्यवसायीलाई पलायन हुनबाट जोगाउनु राज्यको दायित्व हुन आउँने बताए ।

उनले सरकारले अहिले राहत दिएर व्यवसायीलाई जीवन्त दिने र सन् २०२१ मा सरकार र निजी क्षेत्र मिलेर पर्यटनमा पुर्नरुत्थान, सन् २०२२ मा बल्ल पर्यटन क्षेत्रले सरकारलाई नाफा दिने व्यवस्था हुने गरी सहज वातावरण सिर्जना गर्नुपर्ने बताए ।


क्लिकमान्डु