उद्योगी व्यवसायीको मागः राहतका अल्प र दीर्घकालीन कार्यक्रम चाहियो
पोखरा । पोखराका उद्योगी व्यवसायीले बन्दाबन्दीका कारण उद्योग÷वाणिज्य क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, पोखरा उद्योग वाणिज्य सङ्घ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पुर्याएको गम्भीर क्षतिको मूल्याङ्कन गर्दै उद्योग-वाणिज्य र पर्यटन क्षेत्रको लागि विशेष राहत प्याकेजको मागसहित आगामी आर्थिक वर्षको बजेट पूर्वाधार र औद्योगिक व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
उनले कर्जाको समयसीमा बढाउनुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, वासलात ऋणात्मक भए पनि कर्जा प्रवाह गरिनु्पर्ने तथा आउँदा दिनमा पूँजी हेरेर नभई आम्दानी, योजना तथा नवीनतम सोचका आधारमा उद्योगी-व्यवसायीलाई कर्जा प्रवाह गरिनुपर्नेमा जोड दिए ।
त्यस्तै उद्योगधन्दा खुलाउनुपर्ने, ‘नो वर्क, नो पे’को व्यवस्था गरिनुपर्ने, खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने, भूउपयोग नीति लागू हुनुपर्ने र कृषिमा अनुदान बढाइनुपर्ने सुझाव दिए ।
पर्यटन उद्योगमा कम्तीमा एक वर्ष सबै प्रकारका कर मिनाहा गरिनुपर्ने र पर्यटन प्रवद्र्धनका लागि छुट्याइएको बजेट पर्यटन पुनःउत्थानको क्षेत्रमा खर्च गरिनुपर्ने माग गर्दै अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीबाट फर्केनेका लागि स्वरोजगारका कार्यक्रम ल्याउन माग गरे ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले व्यवसायलाई आधार मानेर ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमममा शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी र पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माइकला कर्माचार्यले कोरोनाका कारण निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको लगानी जोखिममा परेको बताउँदै सरकारले विद्यमान अवस्थाको गम्भीरताका साथ विश्लेषण गर्दै राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना सङ्क्रमण र बन्दाबन्दीका बीचमा पनि आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने विचार राख्र्द उद्योग-व्यवसाय सञ्चालन नगरिए अर्थतन्त्र नै थला पर्ने जिकिर गरे ।