लकडाउनमा पुँजीगत खर्च ३.०८ प्रतिशत मात्रै बढ्यो, लक्ष्य भेट्टाउन असम्भव



काठमाडौं । कोरोना भाइरस रोकथान तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनसँगै पुँजीगत खर्चमा भारी गिरावट आएको छ भने राजस्व संकलनमा पनि भारी गिरावट आएको छ ।

सरकारले लकडाउन घोषणा गरेयता झण्डै २ महिनाको अवधिमा पुँजीगत खर्च ३.०८ प्रतिशत मात्रै भएको छ । चैत ११ गते पुँजीगत खर्च २५.३४ प्रतिशत मात्रै थियो । जेठ ७ गतेसम्म आइपुग्दा २८.४२ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा चालु ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

चैत ११ गतेसम्म सरकारले पुँजीगत खर्च जम्मा १ खर्ब ३ अर्ब ३७ करोड ११ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो । जेठ ७ गतेसम्म आईपुग्दा १ खर्ब १५ अर्ब ९७ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै सरकारले चालु तर्फको खर्च चैत ११ गतेसम्म ४ खर्ब ६३ अर्ब ५५ करोड ८२ लाख अर्थात विनियोजित बजेटको ४८.४३ प्रतिशत खर्च भएको थियो । जेठ ७ गतेसम्म आइपुग्दा १३.४९ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ६४ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।

अन्य वर्षमा जस्तै यो वर्षमा पनि पुँजीगत खर्च घटेर चालु खर्च बढ्ने देखिएको छ ।

कोरोना भाइरसको कारण चालु आर्थिक वर्षमा राजस्व संकलनमा पनि ह्रास आउने देखिएको छ । सरकारले चालु आवमा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारको राजस्व संकलनको लक्ष्यमा पनि ह्रास आउने देखिएको छ ।

चैत ११ गतेसम्म ५ खर्ब ६४ अर्ब ५७ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यो दिनसम्म सरकारले लक्ष्यको ५०.७७ प्रतिशत राजस्व संकलन गरेको थियो । झण्डै २ महिनाको लकडाउनको अवधिमा ४.१६ प्रतिशतले बढेर ५४.९३ प्रतिशत राजस्व संकलन भएको छ ।

बुधबारसम्म सरकारले लक्ष्यको ५४.९४ प्रतिशत अर्थात ६ खर्ब १० अर्ब ८२ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

जानकारहरुका अनुसार सरकारले चालु आवमा पनि अघिल्ला वर्षहरुको जस्तै आर्थिक वर्षको अन्तिम समयमा पुँजीगत खर्च गर्ने सोच राखेका कारण समस्या भएको हो । यो वर्ष पनि सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसकेको र अन्तिम समय अर्थात फागुनबाट केही बढाउने र जेठ र असारमा बढी पुँजीगत खर्च गर्ने सोच राखेको र त्यही नेपालमा पनि चैतको सुरुबाट नै संक्रमण देखिन थालेपनि पुँजीगत खर्चमा समस्या भएको हो ।


क्लिकमान्डु