नेपाल बैंकले कर्जामा दियो २ प्रतिशत छुट, ग्राहकहरुले आधारदरमा नै कर्जा पाउने



काठमाडौं । नेपाल बैंकले बैशाख १ गतेदेखी लागूहुनेगरी चैत्रसम्म लगानी गरिएका कर्जाहरुमा उक्त अवधिमा कायम ब्याजदरमा २ प्रतिशतले छुटदिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्जाका क्षेत्रहरु बाहेक अन्य सबै कर्जाहरुको चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशतले कम गरी २०७६÷७७ को चौथो त्रैमास (२०७७ को बैशाख, जेष्ठ र असार) को ब्याज गणनागर्न निर्देशन भए बमोजिम उक्त छुटदिने जनाएको छ ।

बैंकद्वारा २०७६ चैत्र मसान्त सम्म लगानी भएका कर्जाहरु जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपूँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, ब्यक्तिगत आदीको हकमा चैत्र मसान्तको आधारदर ७.८२ मा लगाईएको प्रिमियममा २ प्रतिशतले छुट दिने ब्यबस्था मिलाईएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दस्तुर तिर्ने ऋणिको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत बैशाख देखी असार सम्मको अबधिको ब्याजमा २ प्रतिशत छुट पाउनेछन् ।

२०७७ बैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुबिधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस्तो छुट सुबिधा प्रदानगर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदर बराबर कै अर्थात ७.८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुबिधा पाउने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।

बैंकले लकडाउनको अवधिमा संभव भएसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङ्ग, लगायतका कारोबारहरु बिहान ११ देखी अपरान्ह २ बजे सम्म संचालनगर्दै आईरहेको जनाएको छ ।


क्लिकमान्डु