अर्थमन्त्रीको व्यवसायीलाई आश्वासनः नीति तथा कार्यक्रममा नपरेका माग बजेटमा समेट्छु



काठमाडौं । उद्योग वाणिज्य महासघका टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा मन्त्री डा. खतिवडाले उद्योगी र व्यवसायीको धेरै माग बजेटमा समावेश गर्ने आश्वासन दिएका छन् ।

मन्त्री खतिवडाले व्यवसायीहरुको सबै माग आफूले अध्ययन गरेको र धेरै माग बजेटमा समावेश गरेर जान सकिने बताए ।

छलफलका क्रममा मन्त्री खतिवडाले बैंक ब्याजदर र कर्मचारीको विषयमा कुनै समस्या भएको खण्डमा राष्ट्र बैंकसँगको सहकार्यमा अघि बढने बताएका छन् ।

‘हामीले २ चरणको राहत प्याकेज ल्याएका छौं, आगामी आवको बजेटमा पनि कुनै न कुनै खाले राहतको प्याकेज आउने छ । जसले कोरोनाका कारण अर्थतन्त्रमा परेको असर न्यून हुनेछ,’ मन्त्री खतिवडाले भने ।

अहिले उद्योगीहरुले उद्योग व्यवसायको क्षेत्रमा भोग्दै आएका पुराना समस्याभन्दा पनि कोरोनाले निम्त्याएको समस्या समाधानका लागि आर्थिक प्याकेज ल्याउन सुझाव दिएका छन् । महासंघले बैंक ब्याजदरमा ५ प्रतिशतमा झार्नुपर्ने पनि सुझाव दिएको छ ।

अहिले सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा उद्योगी व्यवसायीको माग सम्बोधन नगरेको भन्दै चिन्ता गरेका छन् ।

नीति तथा कार्यक्रममा महासंघको धेरै माग समावेश नगरेको भएको भन्दै बजेटमा पनि के आउने हो पर्ख र हेरको अवस्थामा उद्योगी रहेका छन् । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा उद्योगीहरुको माग सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

सोमबार पनि महासंघले पत्रकार सम्मेलन गरेर नीति तथा कार्यक्रममा आफ्नो माग समावेश नभएको र सरकारले तत्काल राहत प्याकेज ल्याउन आवश्यक रहेको बताएको छ । अन्य देशहरुले राहतको प्याकेज ल्याएपनि नेपालले भने धेरै नै समय लगाएको महासंघको भनाइ छ ।


क्लिकमान्डु