निर्यातको वृद्धिदर घट्यो, आयात साढे ७ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा निर्यातको वृद्धिदरमा ह्रास आएको छ ।

९ महिनाको अवधिमा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । तर यो अघिल्लो वर्षको तुलनामा कम हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ २५.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आयात पनि घटेको छ । चालु आवको ९ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर ९८२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३ प्रतिशत र १.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस. बिलेट,

यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई रु.९०३ अर्ब ७२ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.६ प्रतिशत रहेको थियो ।

२०७६ चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक ०.६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ३.२ प्रतिशतले घटेको छ ।

२०७५ चैत महिनामा वार्षिक बिन्दुगत आधारमा १.९ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ चैत महिनामा ३.९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु