कोरोनाका कारण कुल ग्राहस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्बको क्षति



काठमाडौं । कोरोनाका कारण मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

कोभिड-१९ पूर्वको यस प्रक्षेपणलाई केन्दी्रय तथ्यांक विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कोभिड-१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सामाजिक दूरी कायम गर्न २०७६ चैत ११ देखि घरमै बस्नुपर्ने व्यवस्था गरेको छ ।

यसक्रममा उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित छन् भने आपूर्ति श्रृंखला प्रभावित छ । ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त छ ।

यसैगरी सार्वजनिक यातायात बन्द रहेको अवस्था छ । अर्थतन्त्रका सबै क्षेत्रमा कोभिड-१९ को प्रभाव देखिन थालेको छ । गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान छ ।

विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।

कोभिड–१९ को प्रभाव शुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने देखिन्छ ।

गत फागुनको तुलनामा चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति वढेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ ।

चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य छ । निक्षेपको भारित औसत व्याजदर सीमान्त घटेको छ भने कर्जाको व्याजदर स्थिर रहेको छ ।


क्लिकमान्डु