वाणिज्य बैंकका शाखा ७४६ स्थानीय तहमा पुगे, ७ मा पुग्न बाँकी



काठमाडौं । सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकका शाखा ७४६ वटा स्थानीय तहमा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनासम्मको विवरण हेर्दा अब जम्मा ७ वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छ ।

राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्न निर्देशन दिए अनुसार शाखा विस्तार भएका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनाको विस्तृत प्रतिवेदन अनुसार ७ वटा प्रदेश मध्ये २ वटा प्रदेशका सबै स्थानीय तहमा शाखा विस्तार भएका छन् भने ५ वटाका केहीमा पुग्न बाँकी छ ।

विवरण अनुसार प्रदेश नम्बर १ मा एक स्थानीय तहमा शाखा पुग्न बाँकी छ । त्यसैगरी वाग्मतीमा २, गण्डकीमा १, कर्णालीमा १ र सुदुरपश्चिममा २ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ । त्यसैगरी प्रदेश नम्बर २ र ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थानको संख्या १६२ छ । यसमध्ये २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ चैत मसान्तमा ९६९२ पुगेको छ ।


क्लिकमान्डु