काठमाडौंमा अब यी सवारीका लागि पास नचाहिने (सूचिसहित)



काठमाडौं । जिल्ला प्रशासन कार्यालयले लकडाउनका समयमा चल्ने अत्यावश्यक सवारी साधनका लागि पास नचाहिने स्पष्ट पारेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालयले सवारी पास आवश्यक नपर्ने सवारी साधनको सूची तयार पारेको छ ।

कार्यालयका अनुसार एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीमा संलग्न सवारी साधनका लागि सवारी पास चाहिन्न ।

त्यसैगरी ट्यांकर सबै प्रकारका खाद्यवस्तु, कृषि कार्यसँग सम्बन्धित सामग्री, पशुपंक्षीजन्य आहार, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ र निर्माण सामग्रीहरु बोकेका सवारी साधनहरु सवारी पास बिना परिवहन गर्न सक्छन् ।

काठमाडौं प्रवेशमा रोक
कार्यालयले सवारी पास बिना माथि उल्लेख भए बाहेकका सवारी साधनलाई र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ ।

गल्लीमा पनि हिँड्न नपाइने
कार्यालयले काठमाडौंका मुल सडक, भित्रि सडक तथा गल्लीहरुमा विभिन्न बाहनामा मानिसको अनावश्यक भीडभाड हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको छ । त्यसो गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिइ आवश्यक कारबाही गर्न सक्ने समेत उल्लेख गरेको छ ।

सवारी पास कहाँबाट लिने ?
कार्यालयले सवारी पास लिनका लागि आफ्नो नियामक निकायसँग लिन आग्रह गरेको छ । जस्तै सञ्चारगृहहरुले सूचना तथा प्रविधि मन्त्रालयमा सम्पर्क राख्न सक्नेछन भने नियामक निकाय नहुनेले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

पहेँलो पास खारेज अब निलो पास
कार्यालयले यसअघि जारी भएका ईपास तथा पहेँलो रंगका पास रद्द गरिएको समेत स्प्ष्ट पारेको छ । नयाँ पास निलो हुने समेत जानकारी दिएको छ ।

त्यसैगरी कार्यालयले निर्माण सामग्री बोकेका ठूला सवारी साधनहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाएको छ ।


क्लिकमान्डु