बैंकले तपाईंलाई जागिरबाट निकाल्यो/निकाल्दैछ ? राष्ट्र बैंकमा उजुरी दिनुहोस्



काठमाडौं । कोरोनाको कहरमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि पहिरो गएको छ । लकडाउनले गर्दा नाफा घटेको र सञ्चालन खर्च घटाउने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी धमाधम निकाल्न थालेका छन् ।

सरकारले कोरोनाको संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । अत्यावश्यक सेवामा वित्तीय सेवा समावेश भएर सञ्चालन भइरहेको भएपनि यस अवधिमा बैंक तथा वित्तीय संस्थाले व्यवसाय भने बढाउन सकेका छैनन् ।

बैंकिङ क्षेत्रबाट एक जनाले पनि रोजगारी गुमाउनु पर्ने अवस्था आउन दिँदैनौंः गभर्नर अधिकारी

घट्दो व्यवसाय र खुम्चिन्दो आम्दानीका कारण केही बैंक तथा वित्तीय संस्थाका व्यवस्थापनले करारमा रहेका कर्मचारीहरु समयावधी समाप्त हुन अगावै निकाली सकेका छन् ।

सञ्चालन खर्च जोगाउन धेरै बैंक तथा वित्तीय संस्थाहरु चलाखीपुर्वक करार तथा आउट सोर्सिङ कार्यलय सहयोगी कर्मचारीलाई जागिरबाट निकाला गरिरहेका नेपाल वित्तीय संस्था कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालले बताए ।

‘कारोबारको चाप परेको समय राखिएका करारका कर्मचारीको करार समाप्त नै नभई नाम चलेका र धेरै नाफा कमाउने बैंकहरुले निकाली रहेका छन्,’ खनालले क्लिकमाण्डुसँग भने ।

समयावधि बाँकी हुँदै करारका कर्मचारीलाई राजीनामा दिन एनआइसी एशिया बैंकको दबाब

ठुला बैंकहरुको सिको गदै केही लघु वित्त र इन्स्योरेन्स कम्पनीहरुले पनि करारका कर्मचारी निकाला गरेको उनले जानकारी दिए ।

‘बैंकहरुले कर्मचारीलाई लकडाउन सकिएपछि बैंकको कारोबार समान्य भएमा पुनः जागिरमा बोलाउने आश्वसन दिँदै राजीनामा दिन लगाएउको रहेछन्,’ खनालले भने ।

अब कर्मचारी कटौती नहुनेः बैंकर्स संघका अध्यक्ष

बैंकहरुलाई करार तथा आउट सोर्सिङ कर्मचारी नहटाउन बैंकर्स संघले एड्भाइजरी जारी गरेको छ ।

अब कर्मचारी कटौती नगर्न संघले सबै बैंकहरुलाई भनिसकेको संघका अध्यक्ष भुवन दाहालले बताए ।

कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने

कर्मचारी निकाल्न पाइँदैनः युनियन

बैंक तथा वित्तीय संस्थाले  कर्मचारी निकाल्न थालेपछि वित्तीय संस्था कर्मचारी युनियनले राष्ट्र बैंक र बैंकर्स संघमा त्यसो नगर्न सुझवपत्र पठएको थियो । संघले दिएको सुझावमा राष्ट्र बैंक र बैंकर्स संघले मौखिक सान्त्वना दिएपनि व्यवहारिकरुपमा कार्यान्यवन भने नगरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए ।

‘लकडाउन लामो समय रह्यो भने बैंकिङका धेरैको रोजगारी कटौती हुने अनुमानले संघले चैतको तेस्रो साताबाट नै सम्वन्धीत निकायलाई पत्र पठाएका थियौँ,’ उनको क्लिकमाण्डुसँग भने ‘गभर्नर साबलाई लिखित पत्रलाई बुझाएका थियौ र बैकर्स संघको अध्यक्षसँग फोन मार्फत पनि यो विषयमा कुरा भएको थियो ।’

‘मर्कामा परेका कर्मचारीले राष्ट्र बैंकको गुनासो शाखामा लिखितरुपमा गुसानो दिन सक्छन्,’ राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा १ सय ६२ बैंक तथा वित्तीय संस्था र त्यसका ९ हजार ६ सय ९२ शाखा कार्यलय छन् । जसमा ६८ हजार ४ सय बढी कर्मचारी कार्यतर छन् । करार र आउटसोर्सिंगसहित गर्दा १ लाख जनाभन्दा बढी रहेको बैंकरहरु बताउँछन् ।

हाल नेपाल वित्तीय क्षेत्र कर्मचारी युनियनमा १२ वटा मात्र वाणिज्य बैंक आवद्ध छ । संघमा आवद्ध भएका केही बैंकका युनियनहरुले बैंक व्यवस्थापनसँग करार, आउट सोर्सिङ र दैनिक ज्यालादारी कर्मचारी नहटाउन पहल गरिरहको छन् । युनियनकै पहलमा नेपाल बंगलादेश बैंकका ५७ जना करार, आउट सोर्सिङ र दैनिक ज्यालादारी कर्मचारीको जागिर जोगिएको छ ।

‘बैंक व्यवस्थापनले कर्मचारी हटाउने निर्णय गरेको थियो,’ एनबी बैंक कर्मचारी युनियनको अध्यक्ष पुष्पाञ्जली क्षेष्ठले क्लिकमाण्डूसँग भनिन् ‘बैंकले ९ जना कर्मचारीलाई भने हटाइसकेको छ । तर ५७ जनालाई भने युनियनले भनेपछि हटाउन सकेन ।’

उनीहरुलाई हप्तामा २/३ दिन काम र आधा तलब उपलब्ध गराउने गरी युनियन र बैंक व्यवस्थापनबीच सम्झौता भएर उनीहरुलाई जागिरबाट नहटाइएको श्रेष्ठको भनाइ छ ।

चालु आवको चैत मसान्तसम्मको बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरण अनसार बैंकहरुको नाफाको भने बढ्दो नै छ । गत आवको चैत मसान्तको तुलनामा बैंकहरुले २.६५ प्रतिशत बढी नाफा कमाएका छन् ।

०७६ चैतसम्ममा बैंकहरुले चैतमसान्तसम्म ४५ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिको ४२ अर्ब ९७ करोड रुपैयाँ नाफामा १ अर्ब २० करोड रुपैयाँ नाफा थप गरेका हुन् ।

राष्ट्र बैंकमा उजुरी दिनुस्

बैंकले समय नै नपुगी कर्मचारी हटाउने भनेका कर्मचारीले आफ्नो हकको लागि बैंकबिरुद्ध आवाज उठाउन सक्ने नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘मर्कामा परेका कर्मचारीले राष्ट्र बैंकको गुनासो शाखामा लिखितरुपमा गुसानो दिन सक्छन्,’ कार्यकारी निर्देशक ढकालले क्लिकमाण्डूसँग भने ।

कर्मचारीले गरको गुनासोको आधारमा राष्ट्र बैंकले बैंकहरुलाई सो सम्बन्धी निर्देशन दिने उनले प्रष्ट पारे ।

राष्ट्र बैंकको गुनासो शाखामा बैंक तथा वित्तीय क्षेत्रबाट पीडित जो कसैले पनि लिखित गुनासोका निवेदन दिन सक्छन् ।

गुनासोको प्रकृति र समस्याको जटिलता अध्यान गरेर सोको सुनुवाई हुने गुनासो विभागका एक अधिकारीले बताए ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्मचारी विनियमावली बनाएर दिने र सोहीको आधारमा बैंकहरुले आन्तरिक कर्मचारी विनियमावली बनाउने गर्दछन् । राष्ट्र बैंकको ऐनमा टेकेर बैंक तथा वित्तीय संस्थाले करारका कर्मचारीलाई काम चित्त बुझेन भन्दै निकाल्ने गरेको ती अधिकारीले बताए ।

‘कर्मचारी हायर एण्ड फायरको अधिकार बैंकलाई नै हुन्छ,’ उनले क्लिकमाण्डुसँग भने ‘राष्ट्र बैंकले हस्तक्षेप गर्न नमिल्ने हुँदा त्यसको फाइदा बैंकहरुले अहिले लिँदैछन् ।’

बैंकलाई आवश्यक पर्दा राखिएका कर्मचारीलाई अहिले अनावश्यक भन्दै निकाल्दा राष्ट्र बैंकले त्यसलाई रोक्नका लागि थप निर्देशन दिने विषयमा छलफल भइरहेको ती अधिकारीले जानकारी दिए ।

 


पुष्प दुलाल