कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने
काठमाडौं । कोरोना भाइरसका कारण बैंकिङ क्षेत्रमा काम गरिरहेका हजारौं कामदारले रोजगारी गुमाउने भएका छन् ।
कोरोना रोकथाम तथा उपचारका लागि सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकिङ प्रणालीमा ठूलो असर परेको छ ।
बैंकिङ क्षेत्रको आम्दानी र नाफा प्रभावित हुने भएपछि बैंकहरुले कर्मचारी कटौति गर्ने भएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुमा करार र आउट सोर्सिङमा काम गर्ने कामदार कटौति गर्ने भएका छन् । स्थायी कर्मचारीभन्दा न्यून सेवा सुविधा पाएर बढी खटिने ती कर्मचारीको जागिर कोरोना कहरले गुम्ने भएको छ ।
आर्थिक गतिविधि घटेसँगै बैंकमा काम नै कम हुँदै गएकाले करारमा कार्यरत सम्झौता नविकरण नहुने नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले बताए ।
‘जति पनि कर्मचारी करारमा छन्, अब उनीहरुको सम्झौता नवीकरण हुँदैन,’ दाहालले क्लिमाण्डूसँग भने ‘जसको ३ वा ६ महिनाको करार सम्झौता थियो त्यो सकिएपछि बैंकहरुले सम्झौताको समय थप्दैनन् ।’
कारोबार तथा गतिविधिहरु नै कम भएपछि बैंकहरुले सम्झौताका कर्मचारीको काम स्थायी कर्मचारीलाई नै गराउने दाहालको भनाइ छ ।
कामको चाप बढेपछि बैंकहरुले ३ महिनादेखि १ वर्षसम्म करारमा राखेर काम लगाउँदै आएका छन् ।
अहिले बैंकिङ क्षेत्रमा करिब १ लाख कर्मचारी छन् । जसमध्ये करार र आउटसोर्सिङ गरेर करिब ३० प्रतिशत अर्थात् ३० हजार कर्मचारी छन् ।
करार र आउटसोर्सिङमा कार्यरत कामदारमध्येबाट करिब ३० प्रतिशत कटौति हुनसक्ने एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना बताउँछन् । यसरी हेर्दा बैंकिङ प्राणलीबाट १० हजारले जागिर गुमाउने देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा १ सय ६२ बैंक तथा वित्तीय संस्था र त्यसका ९ हजार ६ सय ९२ शाखा कार्यलय छन् । कुल कर्मचारीको संख्या ६८ हजार ४ सय बढी छ । जसमध्ये ३ हजार ४ सय बढी कर्मचारी करारमा राखिएका छन् ।
बैंकिङ कारोबार सम्बन्धी काम गर्ने कर्मचारी बाहेक बैंक वित्तीय संस्थामा सुरक्षा गार्ड, सरसफाई गर्ने र सवारी चालक आउट सोर्सिङ गरिएको हुन्छ ।
एउटा शाखामा औषतमा ३ जनाका दरले आउट सोर्सिङ गरेर कामदार राखिएको मान्न सकिन्छ । यसरी हेर्दा यस प्रकारका कामदारको संख्या ३० हजारको संख्या हुन जान्छ ।
बैंकरको सेवा सुविधा कटौति
कोरोनाको कहरले करारका कर्मचारीको जागिर गुम्नेमात्र नभएर स्थायी कर्मचारीको सेवा सुविधा समेत कटौती हुने भएको छ । बैंकिङ क्षेत्रका कर्मचारीको पारिश्रमिकभन्दा बढी सेवा सुविधा बढी हुने गर्दछ । फिल्डमा नखटिएका कर्मचारीको अतिरिक्त सुविधा वापतको तलब कटौती हुने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘लकडाउनमा फिल्डमा खटिने कर्मचारी देखि बाहेकका कर्मचारीको अतिरिक्त सेवा सुविधा वापतको खर्च कटैती हुन्छ,’ उनले भने ‘ सवारी खर्च, टेलर एलाउन्स लगाएत अन्य परिश्रमिक वापतको खर्च घर बस्ने कर्मचारीलाई दिन आवश्यक हुँदैन ।’
कर्मचारीको सेवा सुविधा वापतको खर्च कटौति गर्दा बैंकको औषतमा ४ प्रतिशत खर्च बच्ने उनको भनाइ छ ।