पर्यटनमा ‘डेस्टिनेसन वेडिङ’लाई प्रबर्द्धन गर्न उद्योग वाणिज्य महासंघको सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई पर्यटन क्षेत्र उकास्नका लागि डेस्टिनेसन वेडिङका लागि समेत जोड दिनुपर्ने सुझाव दिएको छ ।

महासंघले सरकारलाई बुझाएको २५ पृष्ठ लामो सुझावमा पर्यटन क्षेत्रमा क्षेत्रीय पर्यटनमा माइस टुरिजमसँगै डेस्टिनेसन वेडिङमा समेत जोड दिनुपर्ने उल्लेख गरेको छ ।

महासंघले वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न त्यस्ता पर्यटकहरुले स्वघोषणा गरी फिर्ता लैजाने सर्तमा गर–गहना ल्याउन पाउने व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ ।

डेस्टिनेसन वेडिङ धनाड्य व्यक्तिहरुका लागि शौखको विषय हो । बलिउड सेलिब्रेटीहरुले पनि डेस्टिनेसन वेडिङ गरेको पाइन्छ । भारतबाट इटली, बुडापेस्टलगायतका ठाउँमा बलिउड सेलिब्रेटीहरु गएको पाइन्छ । त्यसलाई नेपालमा पनि आकर्षित गर्न सकिने कैयन सम्भावनाहरु छन् ।

नेपालबाट पनि व्यवसायीहरु विभिन्न देशमा गएर विवाह गरेको पाइन्छ । त्यसलाई पनि नेपालमा आकर्षित गर्न सकियो भने पर्यटनमा समेत सम्भावना देख्न सकिन्छ ।

महासंघले दिएको सुझावमा आन्तरिक तथा ग्रामीण पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने, धार्मिक पर्यटनमा जोड दिनुपर्ने उल्लेख छ । साथै पर्यटन क्षेत्रको पुनर्जीवनका लागि विशेष वित्तीय सुविधा सहितको प्याकेज ल्याइनुपर्ने समेत उल्लेख छ ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको शीर्घ निर्माण गर्न पनि सुझाव दिएको छ ।


क्लिकमान्डु