सुरेन्द्र पाण्डेको प्रस्तावः भ्रष्टाचार र कर छली गरेको कालोधन सिस्टममा ल्याऔं, छानविन पछि गरौंला



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका नेता सुरेन्द्र पाण्डेले भ्रष्टाचार गरेर आजर्न गरेको सम्पत्ति एक पटकका लागि सिस्टममा ल्याउन दिनुपर्ने बताएका छन् । संघीय संसदको अर्थ समितिमा सांसद पाण्डेले यस्तो प्रस्ताव गरेका हुन् ।

‘धेरै व्यवसायी साथीहरुले पनि एकपटकका लागि त्यस्तो पैसा बैंकमा ल्याउनका लागि खुल्ला गरेर त्यसपछि कडाइ गर्नुपर्छ भनने सुझाव पनि दिइरहेका छन्,’ पाण्डेले भने, ‘राजनीतिक कुराकानी गरेर एकपटकलाई खुल्ला गरेर जानुपर्छ ।’

लागुपदार्थको कारोबारबाट आर्जन गरेका सम्पत्तिलाई नभई कर छली र भ्रष्टाचार गरेर कमाएको पैसालाई सिस्टममा ल्याएर पछि क्याप्चर गरेर जानुपर्ने उनको भनाइ छ ।

बैठकमा उपस्थित बैंकरहरुलाई पाण्डेले प्रश्न गरे, ‘यस विषयमा तपाईंहरुको धारणा के छ ? मलाई त्यो चाहिएको छ ।’

गैरकानूनीरुपमा आर्जन गरिएको त्यस्तो धनलाई कालोधन भनिन्छ । कालोधनलाई शुद्धिकरण गरेर सेतो धन बनाउन नदिनका लागि फाइनानिसयल उकसन टास्क फोर्स लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले कडाभन्दा कडा कानून बनाइरहेका छन् । नेपाल पनि फाइनान्सियल एकसन टास्क फोर्सको सदस्य राष्ट्र हो ।

सम्पत्ति शुद्धिकरण निवारणका लागि नेपालले आवश्यक कामहरु नगरेको भन्दै कालोसूचिमा पर्ने जोखिम पनि उत्तिकै छ । यस्तो अवस्थामा पाण्डले राजनीतिक निर्णय गरेर कर छली र भ्रष्टाचार गरेर आर्जन गरेको समपत्तिलाई एकपटकका लागि सिस्टममा ल्याउन खुल्ला गर्नुपर्ने धारणा राखेका हुन् । जुन माग व्यवसायी र केही नेताहरु राख्दै आएका छन् ।

‘नेपालमा कर नतिर्ने प्रवृत्ति र भ्रष्टाचार दुबै मौलाएको छ, त्यस्तो पैसा बैकिङ क्षेत्रमा ल्याएर पछि कसरी क्याप्चर गर्न सकिन्छ भन्ने पाण्डेको चासो थियो ।

पाण्डेले नो योर कस्टुमर (केवाईसी)का कारण पनि बैंकमा पैसा नआएको बताए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भ्रष्टाचारको पैसा देशभित्र भन्दा देश बाहिर बढी रहेको जानकारी दिए ।


क्लिकमान्डु