एनएमबि बैंकको नाफा १ अर्ब ८८ करोड, खराब कर्जा १.६९ प्रतिशतले बढ्यो



काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४.०६ प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको सोही अवधिकोमा बैंकले १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेकोमा २३ करोड २१ लाख रुपैयाँ थप गरी चालु आवको चैत मसान्त्मा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ पुर्याएको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको त्रेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३८.८३ प्रतिशत ब्याज आम्दानी वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्म ३ अर्ब ९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको बैंकले चालु आवको चैत मसान्तमा १ अर्ब २० करोड १५ लाख रुपैयाँले थप गरी ४ अर्ब २९ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी पुर्याएको हो । साथै, बैंकको सञ्चालन नाफा भने १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ छ ।

यसैगरी, बैंकको चैत मसान्तसम्म खराब कर्जा अनुपात २.४८ प्रतिशत रहेको छ । सो अवधिमा बैंकको खराव कर्जा अनुपात १.६९ प्रतिशतले बढेको हो । गत आवको चैत मसान्तमा बैंकको खराब कर्जा अनुपात ०.७९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंकको आधारदर ९.९९ प्रतिशत, स्प्रेडदर ४.८८ प्रतिशत र सीसीडी रेसीयो ७९.१६ प्रतिशत छ ।

साथै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ४६ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात २०.१७ गुणा, पूँजीकोष अनुपात १४.२६ प्रतिशत र कोषको लागत ७.०९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु