कोरोनाले पारेको अर्थतन्त्रलाई उकास्ने गरी बजेट निर्माण गर्न अर्थतन्त्री खतिवडाको प्रदेशका अर्थमन्त्रीको सुझाव
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रमा केन्द्रित भइ बजेट निर्माण गर्नुपर्ने बताएका छन् ।
मन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय तहको मुख्य प्राथमिकता कोभिड संक्रमण रोक्न र अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र वित्तीय संघीयतालाई प्रभावकारी बनाउनमा आगामी वर्षको बजेट केन्द्रित हुनुपर्ने बताएका छन् ।
सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसँग भिडियो कन्फरेन्सबाट कुरा गर्दै कोभिड १९ को असर, बजेट कार्यान्वयनका समस्या, राजस्व तथा खर्च प्रणालीका व्यवहारिक पक्ष र आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा छलफल गरेका थिए ।
छलफलमा उनले संघबाट लागत साझेदारीमा सञ्चालन गर्ने गरी घोषणा भई सशर्त अनुदान अन्तर्गत वित्तीय हस्तान्तरण भएका आयोजनामा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए ।
आगामी वर्षको बजेट तर्जुमा गर्दा संघबाट सञ्चालित कार्यक्रमका अलावा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
‘प्रदेश र स्थानीय तहले कर प्रस्ताव गर्दा दाहोरो नपर्ने गरी यकिन गरेर कर प्रस्ताव गर्नुपर्छ’ मन्त्री खतिवडाले भने, ‘प्रदेश र स्थानीय तहले समेत आन्तरिक स्रोत र वैदेशिक स्रोत छुट्याई बजेट विनियोजन गर्नुपर्छ ।’
वैदेशिक स्रोत अन्तर्गत खर्च गरी शोधभर्ना माग गर्ने प्रणाली बसाउनु पर्नेमा उनले जोड दिएका छन् ।
भिडियो कन्फरेन्समा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रदेशले उठाउने आन्तरिक ऋणको सीमा बढाउनुपर्ने, गिट्टी बालुवा दहत्तर बहत्तरको विषय आर्थिक ऐनबाट सम्बोधन हुनुपर्ने बताए ।
‘सीमा नदीहरुको स्रोतको बाँडफाँटको मापदण्ड बनाउनुपर्छ,’ उनले भने ‘विकास आयोजनाको दोहोरोपन र आयोजना सम्पन्न भएपछि मात्र थप आयोजना पठाउनुपर्छ ।’
आगामी वर्ष रोजगारी गुमाएकाहरुको लागि प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।
यसैगरी प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले नदीजन्य वस्तुको विवाद ऐनबाट नै सुल्झाउनु पर्ने बताए । प्रादेशिक अस्पताललाई सुदृढ गर्नु पर्ने उनको धारणा छ ।
‘हस्तान्तरण भई आएका आयोजनामा पर्याप्त बजेट हुनुपर्छ,’ मन्त्री आङ्गवोले भने ‘केन्द्रलाई प्रदेश राजधानी जोड्ने सडक प्रदेशले नै बनाउनु उपयुक्त हुनेछ ।’
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले कृषिलाई प्राथमिकता दिने, प्रदेशको क्षमता बढाउने र मजदुरको समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताए ।
यस्तै बागमती प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् । उनले रोजगारीको समस्यालाई हल गर्नुपर्ने र कोभिडको संक्रमण जस्ता समस्या हल गर्न स्वास्थ्य पूर्वाधारको विकास गर्नु पर्ने बिषयमा जोड दिएका हुन् ।
सो भिडियो कन्फरेन्समा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले रोजगारीमूलक कार्यक्रममा जोडदिनुपर्ने, समानीकरण अनुदान बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले विशेष अनुदान रकम नै कर्णाली प्रदेशलाई धेरै प्राप्त हुनुपर्ने र कर्णालीमा राष्ट्रिय गौरवका आयोजना हुनुपर्ने धारणा राखे ।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले कोभिडले चुनौतीसँगै अवसर पनि ल्याएको बताएका छन् । कृषि तथा सामाजिक क्षेत्रमा पनि सर्सत अनुदानको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।