कोभिड-१९ पछि कर्मचारीलाई काममा फर्काउनु अघि बिचार गर्नुपर्ने केही कुराहरु
अहिले संसारभरका देशहरु अत्यावश्यक बाहेकका प्रायः सबै सुबिधा बन्द गरेर कोभिड-१९ को सामना गरिरहेको अवस्था हो । लकडाउनले नेपालमा पनि सडक, भवनलगायात सबै खाले निर्माण कार्य पनि अरु क्षेत्रझैं ठप्प भएका छन् ।
युरोपका बिभिन्न देशहरुले आफू अब ‘पास्ट् द पिक’ को अवस्थामा आइपुगेको भनेर आफ्ना नागरिकलाई भन्न शुरु गर्न थालेका छन् भने दक्षिण एसिया, अफ्रिका, दक्षिण अमेरिकालगायतका ठाउँहरुमा पनि छिट्टै यस्तै भन्न पाइयोस् भनेर सबैले आशा गरिराखेको अवस्था छ।
नेपालमा हालको लकडाउन कहिलेसम्म रहने हो, यो त समयले नै बताउने छ । तर अबको केही हप्ता वा महिनाभित्र अर्थतन्त्रलाई योजनाबद्ध रुपमा खोल्नेतर्फ तयारी शुरु गर्नु बुद्धिमता हुनेछ । स्तम्भकार हाल बसोबास गर्दै आएको क्यानडाको न्यू ब्रन्जवकि प्रान्तमा अप्रिल महिनाका अन्तिम १२ दिनमा कोभिड–१९ को कुनै पनि नयाँ केस देखिएन, जुन क्यानडा भरिकै अब्बलमध्येको नतिजा हुन पुगेको छ ।
अन्टेरियो र कुइबेक जस्ता ठूला प्रान्तमा अझ पनि दिनदिनै सयौंको संख्यामा नयाँ केस देखिए पनि यस प्रान्तमा भने १४ हजार १०० भन्दा बढी ब्यक्तिमा परीक्षण गरिएकोमा जम्मा ११८ जनामा भाइरस देखिएको र त्यसमध्यमा ११८ जना नै सञ्चो भइसकेका छन् ।
क्यानडामा यातायात र भौतिक पूर्वाधार प्रान्तीय सरकारका जिम्मेवारी हुन् । हरेक प्रान्तका आफ्नै प्रान्तीय मन्त्रालयले आफ्नै किसिमले यसलाई सञ्चालन गर्ने गर्दछन् । कोभिड–१९ को नियन्त्रणमा आसा गरे अनुरुपको सफलता प्राप्त भएकाले यस प्रान्तले अब भवन, सडक, पुललगायतका निर्माण कार्यहरु बिस्तारै स्वस्थ र सुरक्षित रूपमा शुरु गराउन आवश्यक तयारीहरु थालेको अवस्था छ ।
नेपालमा पनि संघीय र प्रान्तीय सरकारहरुले आ–आफ्ना जिम्मेवारीका मन्त्रालयमा कुन–कुन कार्यक्रम र सेवा कहिलेदेखि र कसरी पुनः शुरुवात गर्ने भनेर ‘रिकभरी प्रोसेस’ तयार पार्न थाल्दा बुद्धिमता हुन्छ ।
कार्यस्थल खोल्नु र कर्मचारीलाई फिर्ता बोलाउनु अघि आवश्यक सावधानीका उपायहरु स्थापना गर्नु मन्त्रालयहरुको जिम्मेवारी हुनु पर्दछ । तीमध्येका गर्नुपर्ने केही महत्वपूर्ण कामहरु यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएका छन् । तल उल्लेखित बुँदाहरु शुरुवाती बिन्दु मात्र हुन् । यतिमात्र गरेर अवश्य पनि हुँदैन । कार्यालय र कामको प्रक्रृति अनुसार थप्दै जानु आवश्यक हुन्छ ।
क) पर्यवेक्षक–प्रबन्धकले कार्यालयहरु कर्मचारीका लागि सुरक्षित भए(नभएको मुल्याङ्कन गर्ने र आवस्यकता अनुसार यथासिघ्र सुरक्षित गराउने।
-कर्मचारीलाई पीपीई उपलव्ध गराउने । शरीर नछोईकन तापक्रम नाप्न मिल्ने थर्ममिटर (इन्फ्रारेड)को व्यवस्था गर्ने अथवा हरेक कर्मचारीलाई निजी थर्ममिटर उपलब्ध गराउने ।
-कार्यालयमा कुर्सी/टेबलहरु २ मिटरभन्दा नजिक नरहने गरी सार्ने, मिलाउने ।
-सरसफाइमा अझ बढी ध्यान दिने । हात सफा गर्नका लागि साबुनपानी वा स्यानिटाइजर ठाउँठाउँमा राखिदिने। पर्यवेक्षक प्रबन्धकले साबुनपानी वा स्यानिटाइजर प्रयोग गरेर न्यूनतम २० सेकेन्ड हात सफा गर्न प्रोत्साहित गर्ने। शौचालय, चुकुल, भर्याङ्, लिफ्ट, चमेना घरलगायतका ठाउँका लागि सफाइका प्रोटोकल तयार पार्ने र दिनमा ३ पटक वा बढी पटक आवश्यकता अनुसार सफा गर्ने।
-काउन्टरहरुमा भौतिक अवरोधहरु स्थापना गर्ने। जस्तो कि प्लेक्सग्लिास् अथवा प्लास्टिक अथवा शिशाका पाता इन्स्टल गर्ने।
ख) कार्यस्थलमा सबै प्रवेशद्वारमा देखिने गरी कोभिड–१९ जाँचसुची टाँस्ने । हरेक दिन कार्यलयभित्र प्रवेश गर्ने हरेक व्यक्ति र कर्मचारीले ढोकामा टाँसिएका प्रश्नहरुको उत्तर दिएर मात्र आफूभित्र जान हुने नहुने निर्णय गर्ने। जाँचसुचीमा राख्ने बुँदाहरु निम्नहरु हुन सक्छन्ः ज्वरो ३८ सेल्सीयस आएको छ कि, नयाँ खोकी शुरु भएको छ कि, पुरानो खोकी झनै बिग्रिदै गएको छ कि, नाकबाट सिंगान आउन थालेको छ कि, जिउ गल्न थालेको छ कि, घाँटीभित्र घाउ आएको छ कि। यिमध्ये कुनै एक प्रश्नको जवाफ पनि यदि हो भन्ने भएमा कर्मचारी कार्यालयभित्र नपस्ने, घरै बसेर अरुसँगको सम्पर्क सीमित राख्ने, आफ्नो पर्यवेक्षक प्रबन्धकलाई जानकारी दिने र स्वास्थ्यकर्मीलाई सम्पर्क राख्ने।
ग) सम्भव भएसम्म थोरै मात्र कर्मचारीले कार्यालय भवनमा गएर काम गर्ने व्यवस्था पर्यवेक्षक प्रबन्धकले मिलाउने। अन्यलाई संभव भएसम्म घरबाटै काम गर्न आवश्यक सामग्री उपलब्ध गराइदिने । उदाहरणका लागि ६ जना कर्मचारी छन् भने पहिलो २ दिन एक कर्मचारीले, दोस्रो २ दिन अर्को कर्मचारीले, अनि बाँकी २ दिन तेस्रो कर्मचारीले काम गर्ने ब्यवस्था मिलाउने।
घ) संभव भएसम्म एउटा उपकरण र गाडी एकभन्दा बढी कर्मचारीले प्रयोग नगर्ने। हरेक कर्मचारीले उपकरण र गाडीलाई प्रयोग अघि र प्रयोग पश्चात किटाणुरहित गराउने।
ङ) सम्भव भएसम्म कागजातहरु विद्युतीय प्रविधिबाट आदान–प्रदान गर्ने। विद्युतीय प्रंविधिबाट कर्मचारीलाई सूचना र तालिम प्रदान गर्ने। बेला–बेलामा कर्मचारीलाई सम्पर्क गरेर उनीहरुको शारीरिक र मानसिक स्वास्थ्य स्थितिबारे सोध्ने । घरेलु हिंसाका संकेत पाए यथाशीघ्र आवश्यकता अनुसार समाधानका लागि कदम चाल्ने ।
च) संभाव्य र पुष्टी भएका कोभिड-१९ केसलाई कसरी सामना गर्ने भन्नेबारे पर्यवेक्षक-प्रबन्धकले तालिम लिने ।
छ) धेरै कर्मचारीहरु काममा जान आतुर छन् । तर केही कर्मचारी भने काममा जानबाट त्रसित हुने अवस्था पनि नहोला भन्न सकिँदैन । त्यस्ता त्रसित कर्मचारीलाई आवश्यक सहयोग पुर्याएर काममा फर्किन सहयोग पुर्याउनु पनि पर्यवेक्षक प्रबन्धकको भूमिका महत्वपूर्ण हुन्छ ।
पूर्वाधार बिकासका लागि गरिने खर्च अर्थव्यवस्थाको महत्वपूर्ण आधार हो । यदि हामीले निर्माण गतिविधीलाई कुनै न कुनै रुपमा निरन्तरता दिए सकेनौँ भने अप्ठ्यारो अवस्थामा पुग्न सक्ने हुनसक्छ । नयाँ भाइरस कोभिड-१९ को जोखिमतालाई कम गर्दै निर्माण गतिबिधि शुरु गर्नलाई मिहिनेतका साथसाथै रचनात्मकताको पनि आवश्यकता पर्नेछ ।
तर सबैभन्दा पनि महत्वपूर्ण कुरा के हो भने अर्थतन्त्रभन्दा पनि मानवीय जीवन महत्वपूर्ण कुरा हो। जीवन रहे नै अर्थतन्त्रलाई फेरि अगाडि बढाउन सकिन्छ। कार्यस्थलहरु आवश्यक तयारी पूरा गरेर कर्मचारीका लागि स्वस्थ र सुरक्षित बनाएर मात्र खोल्नु ठीक हुन्छ ।
(लेखक हाल न्यू ब्रन्ज्वीक क्यानडामा सिभिल इन्जिनिएरका रुपमा कार्यरत छन् । )