बैंकका कर्मचारी लकडाउनको बेला परिचयपत्रले मात्र हिड्न नपाउने, बैंकको पत्र चाहिने



काठमाडौ । लकडाउनको समयमा बैंकका कर्मचारी परिचयपत्रको भरमा मात्र हिँड्न नपाउने भएका छन् ।

मंगलबार बैंकको परिचयपत्रमात्र बोकेर हिँडेका कर्मचारीलाई सुरक्षामा खटिएको प्रहरीले बैंकसम्म जान दिएका थिए ।

बैंकको कामको प्रयोजनबाहेक निजी कामका लागि पनि बैंकका कर्मचारीहरु परिचयपत्र बोकेर हिँडेपछि सडकमा बाक्लै सवारीसाधन चलेको र लकडाउन उंलघन गर्नेहरु बढेपछि गृहमन्त्रालयले चेकिङलाई कडाइ गरेको छ ।

परिचयपत्र मात्रै बोकेर हिँडेका बैंकका सयौं कर्मचारीहरुलाई मंगलबार प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ । यसरी प्रहरीले नियन्त्रणमा लिएपछि बैंकर्स संघक अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई जानकारी गराए ।

कार्यकारी निर्देशक ढकालले प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रमुखलाई फोन गरेर बैंकले खटाएको पत्र साथमा रहेका कर्मचारीलाई रोक नगर्न आग्रह गरे । ढकालको आग्रहसँगै ट्राफिक प्रमुख भीम ढकालले उपत्यकाभित्रका ट्राफिकलाई सर्कुलर गरिसकेका छन् ।

अब सम्बन्धित बैंकका कर्मचारीले बैंकबाट कार्यालय आउनका लागि लेखिएको पत्र साथमै बोकेर हिँडेको खण्डमा मात्रै प्रहरीले पक्राउ गर्ने छैन ।

केन्द्रीय कार्यालय हरेक दिन खुलेपनि शाखा कार्यालयहरु भने साताको एक पटक मात्र खुल्ने गरेका छन् । बैंक अनुसार जिल्ला प्रशासन कार्यालयले पास दिएको छ ।

केन्द्रीय कार्यालयका कर्मचारीलाई गाडीबाट ल्याउने सुविधा भएपनि शाखा कार्यालयका कर्मचारीहरु परिचयपत्र मात्र बोकेर हिँड्ने गरेका थिए ।

अब सम्बन्धित बैंकले सो कर्मचारीलाई काम गर्नको लागि बोलाएको पत्र र परिचयपत्र भएपछि मात्र बैंकका कर्मचारी हिँड्न पाउनेछन् ।


क्लिकमान्डु