ज्योति विकास बैंकमा मनोज ज्ञवालीले के गरे ? हेर्नुहोस उपलब्धी
ज्योति बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज २०७७ साल बैशाख १५ गतेसम्म रह्यो।
दुई वर्ष कार्यकाल पूरा हुनुसँगै बैंकबाट बिदा हुने समाचारहरु प्रकाशित भएपछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तकहरुको अनगिन्ती फोनहरु आएर एकछिन पनि काम गर्न नपाएको अवस्था सिर्जना भइ मैले फोन नै अफ गरेको थिए।
बिभिन्न सञ्चारका माध्यामबाट समेत उत्तिकै शुभेच्छा प्राप्त गरेको छु । यति धेरै माया र सदाशयताका लागि सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।
म २०७३ साल असारमा ज्योति बिकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकसँग जोडिँदै गर्दा बैकको २४ वटा शाखा, ९८ करोड रुपैयाँको पुँजी, ७.५ अर्ब निक्षेप र ६ अर्ब रुपैयाँ कर्जा थियो । कर्मचारीहरु २०० को हाराहारीमा थियौं ।
हाल बैंकको १०५ वटा शाखा, ३५० करोड रुपैयाँको पुँजी , ३४ अर्ब रुपैयाँको निक्षेप र २९ अर्ब रुपैयाँ कर्जा छ भने ८०० भन्दा बढि कर्मचारी साथीहरु बैंकमा हुनुहुन्छ ।
त्यतिबेला १५ करोड रुपैयाँ रहेको मुनाफा गत वर्ष नै ५३ करोड रुपैयाँभन्दा माथि रह्यो । बैंकले अहिलेसम्मकै सबैभन्दा बढी लाभांस (१२.७५ प्रतिशत) वितरण गर्न सफल रह्यो ।
सम्पत्तिको गुणस्तर अझै परिस्कृत रह्यो । १.३९ प्रतिशत रहेको निस्कृय कर्जा, कर्जाको यस्तो बिस्तारमा पनि अझै घटेर ०.५४ प्रतिशतमा सीमित रह्यो । धैरै प्रडक्टहरु थप्यौं, नीतिहरु बनायौं । आईटी सेक्युरिटीमा काम गरौं । बैंकलाई प्रविधिसँग जोड्यौं ।
मैले १.५ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत, ४.५ महिना का.मू. प्रमुख कार्यकारी अधिकृत र २ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरें । संस्थाको सबै सुचकांकहरु ४ वर्षभन्दा कम अबधिमा धेरैमाथि पुगेका छन् । यसबीचमा हामीले अरु ३ वटा क्षेत्रीयस्तरका बिकास बैकहरु प्राप्ति र मर्जर प्रक्रिया सफलतापूर्वक सक्यौं ।
यो समय बैंकिङका लागि धेरै कारणले चूनौतीपूर्ण थियो र तरलता अभावको कारण व्यावसाय वृद्धि अझ धेरै चुनौतीपूर्ण थियो ।
मेरा संगी साथी तथा आफन्तहरुको साथ, नियमनकारी निकायको मार्गदर्शन, मेरा असल सहकर्मीहरुको दिनरात मेहनेत, सेयरधनी र ग्राहकहरुको विश्वास, तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुंवरले बनाईदिएको आधार र सञ्चालक समितिको मागनिर्देशन तथा दिएको सिकाइको भूमिका महत्वपूर्ण छ । सँगै हामी पुँजी पुर्याउछौं तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने सञ्चालक समिति र सेयरधनीको भूमिका ठूलो छ ।
मलाई बेलाबेलामा व्यवस्थापनमा के गरौं के गरौं हुँदा सल्लाह सुझाव दिने मेरो अग्रज र गुरुहरुको भूमिका त्यत्तिकै छ । सबै नामहरु मनमा छन यहाँ भनिन । मलाई अलीकति अपठ्यारो पर्दा साथ के गरौं भनेर सम्झिने नामहरु प्रति आभारी छु । मेरा अग्रज तथा गुरु आदरणीय रत्नराज बज्राचार्य सर प्रति बिशेष आभार व्यक्त गर्दछु ।
म प्रमुख कार्यकारी अधिकृतको हैसियतमा अब नरहे पनि मेरा सयौ सहकर्मी साथीहरु यही हुनुहुन्छ। मलाई विश्वास गरेर बैंकमा बस्ने साथीहरु धेरै हुनुहुन्छ । मलाई मेरो सहकर्मी साथीहरुको मर्मस्पर्सी म्यासेज र उनीहरुको फोनमा रोएको आवाजले मलाई अझै जिम्मेवार बनाएको छ।
मेरो एउटा अपूरो सपना यो संस्थासंगै छ । अनी संस्था एकदमै मजबुत र सही गतिमा छ भन्ने विश्वास पनि छ । संस्थामा व्यक्ति होइन त्यहाँ भएको संस्थागत सुशासन, नीति, विधि र योजना महत्वपूर्ण हुन्छ र यसमा हामीले विश्वास गर्नुपर्छ ।
हामी ८०२ जना सहकर्मी साथीहरुमा म एकजना जिम्मेवारीमा नरहे पनि बाँकी ८०१ जना बैंकमै हुनुहुन्छ । हामीलेसँगै देखेको सपना पूरा गर्न लाग्नुहोस र संस्थालाई अब्बल बनाउनु होस् । सबैले एक अर्कालाई दोष लाएर पन्छिने होइन आ–आफ्नो जिम्मेवारीमा न्याय गर्ने कोससि गर्दा संस्था राम्रो हुन्छ। म सबैको भलो चाहन्छु।
यो बिषम् परास्थितीमा नेतृत्वदायी भूमिकाको अझै बढी जरुरी पर्दा नछुट्टिनु हुने भन्ने सुझाव पनि धेरै पाएँ । र, स्वीकार गर्दछु पनि तर विश्वास गर्छु यो निर्णयले संस्थालाई अझै अघि बढ्न मद्दत गर्नेछ र मेरा साथीहरुले यो परिवर्तनको ज्योतिलाई अझै चम्काउनु हुनेछ । परिवर्तनलाई स्वीकार्नु पर्दछ र सकारात्मक हिसाबले बुझ्नु पर्दछ ।
पक्कै ज्योति अझै राम्रो हुनेछ। हरेक हिसावले बैंक मजबुत छ र नेतृत्व परिवर्तनले खासै असर पार्दैन अनी बैंकले पक्कै अझै राम्रो नेतृत्व प्राप्त गर्नेछ भन्ने कुरामा पूर्ण विश्वास छ।
काम गर्दै जाँदा नियतबस त कहिल्यै गरिन तर परिस्थीती वा भुलबस कसैलाई असहज स्थीती परेको भएमा पनि व्यक्तिगत रुपमा नलिईदिन अनुरोध गर्दछु । साथै यो प्रकियालाई नियमित रुपमा बुझेर शंका उपशंकामा संस्थालाई आँच आउने हिसाबले सूचना दिने गर्ने काम कसैले नगरिदिनु हुन समेत अनुरोध गर्दछु।
मैले मेरो यस बैंकको हाराहारी ४ वर्षे कार्यकाललाई जीवन कै महत्वपूर्ण सफलता र सिकाइको रुपमा लिएको छु । सन्तुष्ट छु । कसैसँग पनि कुनै गुनासो छैन । मैले सकेको काम गरें, तर धेरै प्राप्त गरें । म संस्था प्रति अत्यन्तै आभारी छु र सम्बद्ध सबैप्रति ।
(ज्ञवालीको यो भनाइ उनको फेसबुकबाट लिइएको हो ।)