सामाजिक, आर्थिक क्षेत्रमा परेको असरलाई अध्ययन गर्दै योजना आयोग



काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको कारण नेपालको सामाजिक, आर्थिक एवम अन्य क्षेत्रहरुमा परेको असरको प्रभावलाई अध्ययन गर्ने भएको छ ।

आयोगले त्यसको लागि विभिन्न संघ संस्था, सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विषय विज्ञ, बुद्धिजिवीहरु एवं सरोकार राख्ने सबै नागरिकलाई सुझाव दिन आग्रह गरेको छ ।

कोरोनाले सामाजिक, आर्थिक लगायतका क्षेत्रमा पारेको असरलाई अध्ययन गरी अर्थ व्यवस्थालाई पुर्नउत्थान गर्न आवश्यक नीति, रणनीति एवम उपयुक्त उपायहरू सहितको प्रतिवेदन तयार गर्ने आयोगले जनाएको छ । कोरोनाबाट पूर्ण, आंशिक र सामान्य रुपले क्षति तथा नोक्सानी भएका क्षेत्रमा तत्काल राहत र उद्धारको लागि आवश्यक काम गर्ने भएको छ ।

त्यसको लागि आयोगले वित्तीय, आर्थिक तथा अन्य सहयोगका लागि के काम गर्नुपर्छ, कोरोनाले श्रृजना गरेका चुनौती तथा अवसरहरु केके छन् भन्ने बारेमा सुझाव दिए आग्रह गरेको छ ।

यस्तै कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, शिक्षा, स्वास्थ्य लगायत अन्य आर्थिक एवम सामाजिक क्षेत्रहरुमा गतिशीलता प्रवद्धन गर्ने उपायहरुः अर्थतन्त्रमा संरचनात्मक सुधार वा परिवर्तन गर्न तथा समग्र अर्थव्यवस्थाको लागत घटाउने उपायहरु र अन्य उपयुक्त विषयमा वैशाख ३० गतेसम्म सुझाव दिन भनेको छ । सुझाव दिनको लागि आयोगको अनुसन्धान तहगत समन्वय महाशाखामा पठाउन भनेको छ ।


क्लिकमान्डु