४०% रेमिट्यान्स घटेको छ, अब देशभित्रै कृषिमा संभावना खोज्नुपर्छः चन्द्र टन्डन



विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पनि ठूलो असर गरेको छ । अझ रेमिट्यान्समा निर्भर रहेको हाम्रो देशमा झन् बढी असर गर्ने निश्चित छ । देशको कुल ग्राहस्त उत्पादनको झन्डै ३० प्रतिशत हिस्सा रेमिट्यान्सको छ । रेमिट्यान्सको मुख्य स्रोत रहेका देशहरुमा पनि कोरोनाले असर गरेका कारण ठूलो संख्यामा रोजगारी कटौति हुने निश्चित छ । रोजगारी कटौति भएपछि लाखौं नेपालीहरु देश फर्किने छन् । उनीहरुको उचित व्यवस्थापनका लागि सरकार चतुर भएर निर्णय लिन आवश्यक छ । सिटी एक्सप्रेस नेपालमा २० प्रतिशतको हाराहारीमा रेमिट्यान्स भित्र्याउने कम्पनी हो । कोरोनाले रेमिट्यान्स व्यवसाया के कस्तो असर पारेको छ । र, अबको संभावना के भन्ने विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले सिटी एक्सप्रेस मनि टान्सफरका प्रमुख चन्द्र टन्डनसँग गरेको कुराकानीको सम्पादित अंशः

रेमिट्यान्स व्यवसायमा कोरोनाले कस्तो असर परेको छ ?

रेमिट्यान्स नेपालको मात्रै समस्याले नभए बाहिरको समस्याले पनि सिर्जना हुने हो । अहिले मध्यपूर्वको तुलनामा जापान र दक्षिण कोरियामा कोरोना भाइरसको असर कम छ । ती देशबाट आउने रेमिट्यान्सको हकमा ७० प्रतिशत रेमिट्यान्स आइरहेको छ । साथै अन्य देशको हकमा २० प्रतिशतभन्दा बढी रेमिट्यान्स आएको छैन । यसले गर्दा रेमिट्यान्सको भविष्य दीर्घकालीन समय के होला भन्ने छ भने तत्काल पनि ५/७ महिनाका लागि रेमिट्यान्स घट्ने सम्भावना छ ।

अन्य महिनासँग तुलना गर्दा चैत महिनाको अवस्था कस्तो रह्यो ?

नेपालमा आउने कुल रेमिट्यान्सको १८ प्रतिशत जति हामीले ल्याउने हो । चैतमा त्यति धेरै असर भएको छैन । ४० प्रतिशतसम्म कम छ । तर यो लकडाउनको प्रभाव भइरह्यो भने समस्या होला । चैतमा त केही समय त राम्रै थियो ।
बैशाखबाट भने लकडाउन अवधिमा ७० प्रतिशतसम्म व्यवसाय घट्छ । अहिले कोरियाको व्यवसाय १ प्रतिशत पनि घटेको छैन । अनलाइनमार्फत आउने बढेको छ । जापानको केसमा पनि त्यतिधेरै घटेको छैन । ३० प्रतिशत मात्रे घटेको छ । खाडी मुलुकहरुमा भने घटेको छ ।

केही दिनअघि साउदी अरेबियाको केन्द्रीय बैंकले पोलिसी निकालेर काउन्टर बन्द गरेर डिजिटल कारोबारको गति बढाऊ भन्यो । यसका लागि लाइसेन्स चाहिए छिटो दिन्छौं भन्यो । र, ६ महिनासम्म शुल्न नलिन पनि भन्यो । त्यसले गर्दा १÷२ वटा कम्पनीले डिजिटल पनि शुरु गरिसके । यो अवस्था रह्यो भने पनि डिजिटलमार्फत आउने भएकाले नघट्न सक्छ ।
अहिले तेलको मूल्य नकारात्मकमा गइसकेको छ । हामीले पनि विदेशमा रहेका कर्मचारीलाई समस्या भयो भने केही कोष छ्ुट्याएका छौं । त्यहाँ कम्पनी बन्द भयो भने के होला भन्ने हिसाबले हामीले तयारी गरेका छौं । अब १/२ वर्षमा यो मूल्य घट्ने सम्भावना छ ।

त्यहाँ भएका नेपाली र कम्पनीसँग कुरा बुझ्दा रोजगारी कटौती हुने सम्भावना कति छ ?

मध्यपूर्वको हकमा लकडाउन हुने सम्भावना निकै धेरै छ । तर कति हुन्छ भन्ने यो लकडाउनको असर कहिलेसम्म जान्छ भन्नेमा अर्थ राख्छ । लकडाउन एक सातामै टुंगियो भने समस्या नहुन सक्छ । महिनौं समयसम्म गयो भने समस्या आउला । मलेसियाको हकमा रोजगारी तत्काल खोसिने सम्भावना छैन । कोरोनाले धेरै ग्रसित देश पनि होइन । पर्यटनमा असर गरेको हो । तर ६ महिनामा पिकअप गरेको हुनसक्छ ।

साथै जापानमा जसरी नेपाली लैजाने भनिएको छ, जापानले त्यसलाई गति दियो भने केही समस्या समाधान होला । कुनै पनि देशले सबैभन्दा पहिले आफ्नो देशका नागरिकलाई रोजगारी दिने हो । त्यसैले नेपालीहरु फर्केर आउँछन् ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई कसरी व्यवस्थापन गर्ने ?

नेपाल फर्केका त्यस्ता जनशक्तिलाई कृषिमा लगाउन सकिन्छ । खेतबारी बाँझा छन् । अब ती बाँझा खेतबारीलाई आधुनिक प्रविधि प्रयोग गरी कृषिमा लगाउन सकिन्छ । सरकारले पनि त्यसमा ध्यान दिनुपर्छ ।

रेमिट्यान्सको आप्रवाहको अवस्था अब के होला ?

१/२ वर्ष कम भए पनि सँधै घट्ने भन्ने हुँदैन । केही समय मात्रै समस्या हुने हो । विदेशी मुद्रा ल्याउनका लागि हाम्रो जस्तो देशका लागि रेमिट्यान्स र पर्यटन नै हो । यी क्षेत्रमा धक्का लागेसँगै समस्या त हुन्छ नै । व्यापार घाटा पनि हुन्छ ।

सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउनु पर्ने होइन र ?

अहिले त नियमित काम गरि रहेका मानिसहरु घरपरिवारका सदस्यसँग भेट गर्न पनि आत्तिकका छन् । उनीहरुलाई ल्याउन नसकिए पनि खान बस्न नै समस्या हुनेलाई सरकारले ल्याउनका लागि पहल गर्नुपर्ने थियो जस्तो लाग्छ । फेरि अहिले नेपालमा लकडाउन पनि छ र कोरोना भाइरस भित्रने शंका पनि उत्तिकै छ ।

अहिले विदेशबाट पठाएको रकम निकाल्न कति सहज छ ?

अहिले हामीले कसैले विदेशबाट पैसा पठाएको छ भने त्यो रकम निकाल्नका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराएका छौं । उहाँले फोन गर्दा उठेन भने पनि आफै कल ब्याक गरेर सेवा दिइरहेका छौं । कार्यालय पनि केही समयका लागि खुलेकै छन् । उहाँहरुलाई नजिक र पायक पर्ने स्थानबाट कसरी हुन्छ सेवा दिइरहेका छौं । धेरै रकम त सिधै बैंकमा जान्छ । तर क्यासको हकमा पनि समस्या छैन ।

सिटी एक्सप्रेसले कसरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ ?

अहिले हामीले साउदीमा खान नपाएकाहरुलाई भोजनको व्यवस्था गरेका छौं । म आफैंले अर्घाखाँचीमा पनि २५ वटा थर्मल गन सहयोग गरेको छु । साथै भोलिको समस्या हुन सक्ने सम्भावनलाई राखेर त्यसको तयारीमा पनि छौं ।


क्लिकमान्डु