मजदुर संगठनका नेता भन्छन्- तलब घटाउने सहमति भएकै छैन, उद्योगीले एकतर्फी हल्ला गरे



काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित उद्योग व्यवसायमा कार्यरत कर्मचारीको तलब घट्ने विषयमा अहिले कुनै पनि सहमति नभएको टे«ेड यूनियनका नेताहरुले बताएका छन् ।

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मजदुरको तलब ५० प्रतिशतसम्म तलब घटाउने प्रस्ताव गरेपनि त्यसमा आफूहरुको कुनै सहमति नभएको टे«ेड यूनियनका नेताहरुले जनाएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले उद्योगी व्यवसायीसँग मजदुरलाई तलबको ५० प्रतिशत मात्रै रकम दिने विषयमा कुनै पिन सहमति नभएको बताएका छन् । अध्यक्ष श्रेष्ठले यो विषयमा अहिले कुनै छलफल नै नभएको भन्दै सहमति पनि नभएको बताए ।

कोरोना कहरः निजी कम्पनीमा काम गर्ने कर्मचारीको तलब ५०% सम्म घटाउने तयारी

‘जुन विषयमा कुनै पनि छलपलल नै भएको छैन, त्यसमा सहमति कसरी हुन्छ ? सहमति हुनको लागि छलफल पनि आवश्यक छ । यस विषयमा आधिकारीक छलफल नै भएको छैन,’ अध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

आज उद्योग वाणिज्य महासंघका अधिकारीहरु सरकारकहाँ पुगेको तर त्यहाँ उनीहरुले के के छलफल गरे, के के सहमति गरे त्यो आफूलाई थाहा नभएको उनको भनाइ छ ।

‘अहिलेको समस्या मजदुरको कारण आएको पनि होइन, मालिकको कारण पनि आएको होइन, यो दैवी प्रकोपले सबैलाई एकैखाले समस्या छ, यो बेला सबैले विन विन योगदान गर्ने समय हो, कसैले पनि मेरो गोरुको बाह्रै टक्का हो भन्नु हुँदैन,’ उलले भने ।

कोरोनाको संक्रमण बढेको खण्डमा उद्योग धरासायी हुने र रोजगारी धेरै गुम्ने खतरा छ ।

यो बेलामा मजदुरका नेता र उद्योगीका नेता सहमत भएर पनि नहुने उनको भनाइ छ । काम लगाउने र काम गर्ने मिलेको खण्डमा निशुल्क काम गर्न तयार भएको खण्डमा निःशुल्क पनि गर्नुपर्छ ।

उद्योगी-व्यवसायीले कामदारलाई पूरा तलब दिन सक्दैनन्, हामी पनि त बाँच्नुपर्यो: भवानी राणा

‘काम गर्ने र काम गराउनेबीचमा सहमति हुनुपर्छ, यतिबेला ५०/२५ प्रतिशतमा हल्ला गरेर मात्रै पनि हुँदैन, होटल क्षेत्रका नेताहरु १२ प्रतिशतभन्दा दिन सकिँदैन भन्दैछन्, कुनै मालिक मजदुरलाई तलब दिन परेमा १ प्रतिशत ब्याजमा पैसा दिए मात्रै तलब दिने सकिने भन्दैछन् । केही ५० प्रतिशतमा पनि रोकिएका छन्’ उनले भने ‘कति प्रतिशत दिने भनेर दिने र लिनेबीच सहमति गर्नुहोस् हामी फ्क्लेक्जिब हुन तयार छौं,’ उनले भने ।

अहिले काम गर्ने ठाँउ जोगिनु पर्यो र कोरोनाको कारण कुनै पनि मजदुर बेरोजगार भएर बस्न नपरोस भन्ने चिन्ता रहेको बताए । अहिलेको परिस्थितिमा फ्लोक्कजीबल हुन आवश्यक रहेको बताए । अहिलेको अवस्थामा ट्रेड यूनियन समस्या सिर्जना गर्ने पक्षमा नरहेको नि बताए ।

उनका अनुसार २०,३० वर्षदेखि कमाएका व्यवसायीले अहिलेको समस्यालाई देखाएर १५ दिनको मात्रै तलब दिएको खण्डमा त्यो चाँही नमान्ने बताए ।

त्यसैगरी, नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसका सभापति पुष्कर आचार्यले पनि मजदुरलाई दिन तलबको विषयमा कुनै निर्णय नभएको बताए । उद्योग वाणिज्य महासंघ, सिएनआई र चेम्बर अफ कमर्श मिलेर निर्णय गरेको सुन्नमा आएपनि आफूहरुसँग कुनै छलफल नभएको बताए ।

‘सरकारले सरकारले लकडाउन गरेको छ, लकडाउन अवधिको तलब दिनु भनेको छ, त्यो अवधिको तलब दिने वा नदिने भन्ने त छलफलको विषय नै हैन नि,’ अध्यक्ष आचार्यले भने ।

आगामी दिनमा दिनमा लकडाउन थप भयो र त्यसमा छलफल गर्नुपर्ने भयो भने बसेर कुरा गर्न सकिने उनको भनाइ छ ।
‘यो अहिलेको विषय छलफलको विषय नै होइन,’ उनले भने ।

सरकारले लकडाउन अवधिको तलब दिनु भनेको छ, त्यसकारण अहिलेको विषयमा छलफल गर्नु आवश्यक नभएको र राज्यभन्दा माथि कोही पनि नभएको आचार्यको तर्क छ ।

कुनै एक पक्षले गरेको निर्णय कुनै हालतमा लागु नहुने उनले बताए । अहिले उद्योगपतिले जे निर्णय गरेका छन्, त्यो नै सत्य हो भन्नु गलत भएको उनको भनाइ छ ।

आफूहरु मजदुरको हित बिपरित कुनैपनि सहमति नगर्ने उनले प्रष्ट पारे ।


पुष्प दुलाल