कोरोना कहरः निजी कम्पनीमा काम गर्ने कर्मचारीको तलब ५०% सम्म घटाउने तयारी



काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालित उद्योग व्यवसायमा कार्यरत कर्मचारीको तलब घट्ने भएको छ । व्यवसायीहरुका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले यस्तो सहमति गरेका हुन् ।

कोरोना भाइरस फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेकका उद्योग व्यवसाय सञ्चालन हुन सकेका छैनन् ।

व्यापार व्यवसाय नै ठप्प भएपछि कार्यरत कामदारलाई पूरा तलब दिन नसक्ने निष्कर्शमा निजी क्षेत्रका संगठनहरु पुगेका हुन् । उनीहरुले मजदुर संगठनका नेताहरुसँग पनि यस विषयमा छलफल गरिरकेका छन् । र, चाँडै नै श्रम तथा रोजगार मन्त्रीलाई सोको व्यहोरा जानकारी गराउने तयारी गरेका छन् ।

उद्योगी-व्यवसायीले कामदारलाई पूरा तलब दिन सक्दैनन्, हामी पनि त बाँच्नुपर्यो: भवानी राणा

‘उद्योग व्यवसाय बन्द छन्, तैपनि हामीले कामदारहरुलाई तलब नदिइरहन सक्दैनौं,’ नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन्, ‘तर, यसरी तलब दिँदा व्यवसायी पनि मर्नु भएन ।’

कामदारको पनि दैनिकी चलोस् र व्यवसायीहरु पनि डुब्ने अवस्था नआओस् भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिइन् ।

‘हामी सबैले योगदान र कम्प्रमाइज गर्नुपर्छ, रोजगारदाता र रोजगार पाउने व्यक्ति दुबै विन विन सिचुएशनमा हुनेगरी खाका तयार पारेका हौं,’ अध्यक्ष राणाले प्रष्ट पारिन्, ‘व्यवसायीले पनि कामदारलाई पैसा दिन्न नभन्ने र कामदारले पूरा तलब नै चाहिन्छ भन्नु भएन ।’

एक साताअघि ३ वटै संघका रोजगारदाता परिषद्का पदाधिकारीसहितको बैठक बसेको थियो। बैठकले प्रारम्भिक तहको छलफल गरेको थियो। उक्त छलफललाई मूर्तरूप दिन शुक्रबार ३ वटै संस्थाका पदाधिकारीको बैठक बसेको छ।

महासंघ अध्यक्ष भवानी राणाको निजी निवासमा शुक्रबार साँझ साढे ४ बजे बसेको बैठकमा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तनमा अध्यक्ष पशुपति मुरारका, कार्यकारीणी सदस्य अञ्जन श्रेष्ठ, प्रवलजंग पाण्डे लगायत उस्थित थिए । पदाधिकारी भएपनि उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान भने उपस्थित थिएनन् ।

छलफलमा केही दिनभित्रै सरकारलाई यसको लिखित जानकारी दिने सहमति भएको छ

आधारभूत तदब दिने र कर्मचारीले पाउने तलब अनुसार कटौति गर्ने तयारी गरिएको अध्यक्ष राणाले जानकारी दिइन् ।

‘धेरै तलब खानेको धेरै कटौति गर्ने र कम खानेको कम कटौति गर्ने भन्ने कुराकारी भइरहेको छ,’ उनले भनिन्, ‘यसो गर्दा रोजगारदाता र रोजगारी पाउने व्यक्ति दुवैको विन हुन्छ ।’

व्यवसायीहरुका अनुसार २० हजारसम्म तलब पाउनेलाई ८० प्रतिशत, ३० हजारसम्म तलब पाउनेलाई ७० प्रतिशत, ४० हजार तलब पाउनेलाई ६० प्रतिशत, ५० हजारदेखि एक लाख रुपैयाँसम्म तलब पाउनेलाई ५० प्रतिशत तलब दिने बारे छलफल भइरहेको छ ।

कोरोनाले अति प्रभावित उद्योग व्यवसायले कामदार कटौति गर्न पाउनुपर्ने सम्मको माग व्यवसायीहरुको छ ।


पुष्प दुलाल