अहिले सार्स कोरोेना भाइरस २ (कोभिड १९) को विश्वव्यापी महामारीको कारणले गर्दा नेपाल लगायत धेरै देश र शहरहरु लकडाउनमा छन् । यसले गर्दा धेरै बिरामीहरु स्वास्थ्य संस्थासम्म पुग्न सकिरहेका छैनन् । र, पुगिहाले पनि राम्रो उपचार सेवा पाउन सक्ने अवस्था छैन ।
त्यसैले बिरामी हुनबाट बच्नु धेरै महत्वपूर्ण छ । यो लेखमा अहिलेको दैनिकीलाई कसरी स्वस्थकर, सिर्जनशील, उत्पादनमूलक र मनोरञ्जनात्मक बनाएर रोग लाग्नबाट बच्न सकिन्छ भन्ने बिषयमा चर्चा गरिनेछ ।
बिहान घाम झुल्किनुभन्दा ४५ मिनेट अगाडिनै उठांै । आजकल करिब ५ः४५ मा घाम झुल्किने हुनाले ५ बजेतिर नै उठ्नु उपयुक्त हुन्छ । आयुर्वेदमा यसलाई ब्रह्ममुहुर्तमा जागरण भनिन्छ । उचित मात्रामा निद्रा स्वास्थ्यको लागि अत्यावस्यक छ ।
सामान्य मानिसको लागि ६ देखि ८ घण्टाको गहिरो निद्रा आवश्यक हुन्छ । राति ढिलोसम्म बस्नु र बिहान ढिलोसम्म सुत्नु स्वास्थ्यको दृष्टिले अत्यन्तै हानिकारक छ । खासगरी किशोर किशोरीहरु र भरखरका युवायुवातीहरुमा यस्तो आदत बढी पाइन्छ । त्यसैले अविभावकहरुले विशेष ध्यान दिन र सम्झाउन जरुरी हुन्छ । बिहान चाँडै उठ्नकोे लागि सुत्ने बेलामा नै चाँडै उठ्ने दृढ संकल्प लिएर सुत्नुपर्छ ।
उठेपछि मुख कुल्ला गरी २ गिलास पानी पिएर दिशा पिसावको लागि ट्वाइलेट जाआंै । उठ्नेबित्तिकै दिशा गर्ने बानी छैन भने बल गरेर गर्ने प्रयत्न नगरौं । तर दैनिकरुपमा बिहानै दिशा हुनु राम्रो हुन्छ । दिशापिसाव गरेपछि साबुन पानीले हात धुनुपर्छ । मुख धुँदा नाक र आँखा राम्ररी सफा गरौं । दाँत माझिसकेपछि जिब्रोको पछाडिको भागमा जम्मा भएको तह जिब्रीले विस्तारै सफा गरौं । जोडले गर्दा जिब्रोमा भएका ‘टेस्ट बड’ मा क्षति पुग्नसक्छ ।
घरमै बसेर कुनै शाीरिक श्रम एवं बौद्धिक काम नगरिरहेको अहिलेको समयमा व्यायामको सख्त जरुरत पर्छ । शारीरिक एवं मानसिकरुपमा स्वस्थ रहनको लागि सर्वोत्तम व्यायाम योगासन हो । सूर्य नमस्कार छोटो समयमा गर्न सकिने पूर्ण व्यायाम हो । जसले सिक्नुभएको छ ।
तर नियमित अभ्यास गर्नुभएको छैन वहाँहरुले नियमित अभ्यास गर्ने र जसले सिक्नुभएको छैन । वहाँहरुले टिभी हेरेर वा युट्युब हेरेर भए पनि सूर्य नमस्कार, आसन प्राणायाम एवं ध्यान सिक्ने उपयुक्त अवसर हो । आसनहरुले मूलरुपमा शारीरिक व्यायामको काम गर्र्छ, प्राणायामले मनलाई नियन्त्रणमा राख्न मद्दत गर्छ र ध्यानले आध्यात्मिक उन्नति गराउँछ ।
यसबाहेक नाँच मनोरञ्जनात्मक हुनुको साथै व्यायामको उत्तम विधि पनि हो । खास गरेर बच्चाहरुसँग नाँच्यौ भने उनीहरुको पनि व्यायाम हुनुको साथैे समय पनि सिर्जनात्मक ढंगले बित्छ । डोरी नाघ्ने खेल (स्किपिङ्ग) घरमै गर्न सकिने अर्को व्यायामको विधि हुनसक्छ । सम्भव भएमा व्याडमिण्टन एवं टेवलटेनिस खेल्न सकिन्छ । घर वरपर नै ‘मर्निङ वक’ गर्न वा साइकल चलाउन पनि सकिन्छ ।
दैनिक मालिस (मसाज) गर्नु अर्को स्वस्थकर बानी हो । यसको लागि मसाज थेरापिष्टकै आवस्यकता पर्दैन । आफैंले वा परिवारको सदस्यको सहायताले गर्न सकिन्छ । घरमै उपलब्ध तोरीको वा तिलको तेल अथवा आयुर्वेद औषधि पसलमा उपलब्ध मालिस तेलहरु प्रयोग गर्न सकिन्छ । सम्पूर्ण शरीरमा मालिस गर्न सम्भव नभए पनि टाउको, कान तथा पैतालामा नियमितरुपमा मालिस गर्नु राम्रो हुन्छ ।
स्वास्थ्यको दृष्टिले अर्को महत्वपुर्ण बानी दैनिक नुहाउनु पनि हो । आयुर्वेदमा यसलाई दिनचर्या अन्तर्गत राखिएको छ अर्थात दैनिक रुपमा गर्नुपर्ने काम भनिएको छ । दैनिक नुहाउँदा पसिना तथा मयल सफा हुने मात्र नभई पाचन क्षमता बढ्छ, थकान एवं तन्द्रा हट्छ, आयु, ओज एवं बल पनि बृद्धि हुन्छ ।
घरमै बसेर कुनै शाीरिक श्रम एवं बौद्धिक काम नगरिरहेको अहिलेको समयमा कम क्यालोरीको खाना खाँदा पनि पुग्छ । त्यसैले सामान्य अवस्थामा भन्दा कम खाना खानुपर्छ । दिनमा ३ पटकभन्दा बढी नखाऔं ।
हाम्रो आमाशयलाई ४ भागमा विभाजन गर्ने हो भने २ भाग भात, रोटी आदि ठोस खाना, १ भाग दाल, तरकारीको रस आदि तरल पदार्थ र १ भाग खाली राख्नु उपयुक्त हुन्छ । अर्थात् पेटभरी टन्न खाना खान हुँदैन । पेटभरी खाँदा शरीर कुपोषित हुन्छ । याद रहोस् शरीरलाई पर्याप्त पोषक तत्व नपुगेको अवस्थालाई मात्र कुपोषण भनिंदैन, आवश्यकताभन्दा बढी खाएर रोग लाग्ने अवस्थालाई पनि कुपोषण नै भनिन्छ ।
अन्न (चामल, मकै, गहुँ, कोदो, फापर आदि), दाल-गेडागुडी र सागसब्जी, तरकारी एवं फलफुल दैनिकरुपमा खाऔं । दुध र यसबाट बनेका परिकार पनि हप्तामा दुईचार पटक खान सकिन्छ । मासु, माछा एवं अण्डा हप्तामा एक पटक भन्दा बढी नखाऔं । बारम्बार मासु-माछा खाँदा पायल्स, फिसर, युरिक एसिड, मोटोपन आदि विभिन्न प्रकारका समस्या आउने सम्भावना बढेर जान्छ ।
खाजा नास्ताकोरुपमा घरमै बनाईएको आँटाको रोटी-तरकारी, दही-चिउरा, मकै-भटमास-मही, दूध-सातु, खैरो पाउरोटी-चिया, फलफुल-सलाद-क्वाँटी, गहुँ-जौको चिउरा, ओट-दुध आदि खाने बानी गरौं ।
यसको साथै चाउचाउ, बिस्कुट, आलु चिप्स, चकलेट, चीजबल जस्ता पत्रु खाना (जंक फुड) र अत्यधिक चिनी प्रयोग गरिएका फ्लेभर्ड जुस एवं चिसो पेय पदार्थ सकेसम्म खाँदै नखाने र बच्चाहरुलाई पनि नदिने गर्न सक्यौ भने धेरै रोगहरुबाट टाढै रहन्छौं । खानै मन लाग्दा वा बच्चाहरुलाई दिनै पर्दा पनि महिनामा एकदुई पटक भन्दा बढी नखाऔं र नदिऔं । चाउमिन, दुनट, पप, मःम, सेतो पाउरोटी जस्ता मैदाबाट बनेका खाना पनि कहिलेकाँही मात्र प्रयोग गरौं ।
तेल एवं घिउमा तारेका-भुटेका, धेरै नुन, मसाला एवं खुर्र्सानी हालेका खाना पनि सकेसम्म नखाऔं । दुखाई कम गर्ने औषधिहरु पनि अत्यावश्यक अवस्थामा बाहेक प्रयोग नगरौं । मद्यपान एवं धूम्रपान गर्दै नगरौं । यी कुराहरु पालना गर्न सकिएमा तीब्र आमाशयकला शोथ (एक्यूट ग्यास्ट्राइटिस) जस्ता समस्याबाट बच्न सकिन्छ र ‘इमर्जेन्सी’ रुपमा अस्पताल जानुपर्ने अवस्था आउनबाट जोगिन मद्दत पुग्छ ।
पानीबाट झाडा, वान्ता, टायफाइड, हेपाटाइटिस आदि थुप्रै सरुवा रोगहरु सर्ने हुनाले र यस्ता रोगहरु लागिहालेमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने हुनाले पिउनको लागि उमालेर वा अन्य विधिबाट निर्मलीकरण गरिएको पानीमात्र प्रयोग गरौं । दिनमा ८ देखि १२ गिलास (२-३ लिटर) पानी पिउने गरौं ।
कोरोना भाइरसको बारेमा भ्रामक समाचार र अफवाहको कारणले अनावश्यक डर एवं चिन्ता उत्पन्न भएर शारीरिक एवं मानसिक रोगको औषधि खाईरहेका व्यक्तिहरुमा रोग बढ्न सक्ने हुनाले उनीहरुलाई समय दिएर कुराकानी गर्ने, यससंबन्धि वास्तविक जानकारी गराउने र सकारात्मक कुराहरु पढ्न, हेर्न वा सुन्न उत्प्रेरित गर्ने गर्नाले सम्भावित जटिलताहरुबाट बच्न सकिन्छ । यसको साथै बच्चाहरु खेल्नेक्रममा चोटपटक लाग्ने वा दुर्घटनामा पर्नसक्ने हुनाले विशेष ध्यान दिन जरुरी छ ।
सिर्जनशील, उत्पादनमूलक एवं मनोरञ्जनात्मक बनाऔं
पुस्तक पढ्ने (पाठ्यक्रमको वा पाठ्यक्रम बाहिरको जीवनी, कथा, कविता, उपन्यास आदि), अनुसन्धात्मक जर्नलहरु पढ्ने, साहित्य एवं लेख लेख्ने, आसन, प्राणायाम एवं ध्यान गर्ने, पेण्टिङ गर्ने, नाच्ने, गीत गाउने एवं संगीत सुन्ने, आफ्नो बिषयसम्बन्धि भिडियो बनाएर युट्युबमा राख्ने गरेर पनि समय कटाउन सकिन्छ ।
त्यसैगरी, कोठाको सरसफाई गर्ने एवं कोठा ‘रिएरान्ज’ गर्ने, खेतबारीको काम गर्ने, गार्डेनिङ गर्ने, फोन, मेसेञ्जर, भाइबर आदि माध्यमबाट पुराना पारिवारिक एवं सामाजिक संबन्धहरु पुनःस्थापित गर्ने, नयाँ परिकार बनाउन सिक्ने, घरको काममा परिवारका सदस्यलाई मद्दत गर्ने, समस्यामा परेका व्यक्तिहरुलाई मद्दत गर्न स्वयंसेवीको काम गर्ने गरेर पनि समय विताउन सकिन्छ ।
त्यस्तै, चेस, क्यारेम, लुँडो आदि घरभित्रै खेल्न सकिने खेल खेल्ने, फिल्म एवं टि.भी. सो हेर्ने, विगतका कुराहरुबाट सिक्दै भविष्यको योजना बनाउने, गुगल वा युट्युब हेरेर आफ्नो ‘करियर’को लागि उपयोगी, पे्ररणादायी एवं नयाँ कुराहरु सिक्ने, दैनिकी लेख्ने आदि काम गरेर पनि सिर्जनसिल बन्न सकिन्छ ।
यी कुराहरुलाई व्यवहारमा उतार्र्न सकेको खण्डमा धेरै सरुवा रोग एवं नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ र लकडाउनको विषम परिस्थितिमा अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट बच्न सकिन्छ ।
(आयुर्वेदको कायचिकित्सा (इन्टर्नल मेडिसिन) विषयमा एम.डी. गरेका डा. कार्की हाल रोयल आयुर्वेद जावलाखेल र न्यूलाईफ आयुर्वेद गोङ्गबुमा कार्यरत छन् ।)
प्रतिक्रिया