कांग्रेसको प्रश्नः पैदल गाउँ गइरहेका श्रमिकको सरकार छ कि छैन यो देशमा ?



निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।

(१) सयौं किलोमीटर पैदल हिँडेर ती नागरिक घर गइरहेका छन्, जो संग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।

(२) गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं- अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?

(३) परिक्षण, परिक्षण र व्यापक परिक्षण- कोरोनाबाट जोगाउन । राहत, राहत र पर्याप्त राहत-भोकमरीबाट जोगाउन । सरकारलाई हामी विनम्र अपिल गर्दछौं, सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनीपनि दिन चाहन्छौं ।

अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु पर्यो सरकार । सुनिन्छ भने सुन्नु पर्यो । बुझिन्छ भने बुझ्नु पर्यो । गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउंदछ । जय नेपाल !


पुष्प दुलाल