कोरोनबाट अर्थतन्त्र जोगाउन डेढ खर्बको प्याकेज ल्याऔं, यसरी जुट्छ पैसा: डा. स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कोरोना भाइरसको असरबाट अर्थतन्त्रलाई माथि उकास्न १ खर्ब रुपैयाँभन्दा बढीको विशेष आर्थिक प्याकेज ल्याउन प्रस्ताव गरेका छन् । वाग्लेले डेढ हप्ताघि अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर यस्तो प्याकेज ल्याउन सुझाब दिए ।

अर्थमन्त्री खतिवडाले आफ्नो सुझावलाई अत्यन्तै सकरात्मक र गंभीररुपमा लिएको वाग्ले बताउँछन् । किनभने कसरी स्रोत जुटाउने ? र, कहाँ कहाँ खर्च गर्ने भन्ने प्रष्ट आधारसहितको प्रस्ताव वाग्लेले बुझाएका छन् ।

‘डेढ हप्ताअघि अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि भेटेर मैले यस्तो सुझाब दिइसकेको छु,’ उनले भने, ‘अर्थमन्त्रीजीले हाम्रो प्रस्तावलाई सकरात्मकरुपमा नै लिनुभएको छ ।’

किन आवश्यक छ ?

जीडीपीको ६० प्रतिशत सेवा क्षेत्रले ओगट्छ । त्यसमा पनि खुद्रा तथा होलसेल व्यापारको १५ प्रतिशत, यातायातरसञ्चार क्षेत्र ८ प्रतिशत, रियल स्टेटको १२ प्रतिशत छ। यी सबैमा संकुचन आउँदा आर्थिक वृद्धिदर घट्ने छ ।

अहिले सेवा क्षेत्र सबैभन्दा बढी प्रभवित भएको छ । रेमिट्यान्स बन्द हुने अवस्थामा पुगिसक्यो । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई ठूलो प्रभाव पर्छ । पर्यटन, टाभल, मनोरञ्जन, टान्सपोर्ट क्षेत्र पनि बन्द छ । झन्डै २ खर्ब बैंकको ऋण यो क्षेत्रमा छ ।

१८ लाख नेपाली दैनिक ज्यालादारीमा का गर्छन् । जसले विगत १ महिनादेखि काम गर्न पाएका छैनन् । उनीहरुलाई रोजगारीमा लगाउनु पर्यो । कतिपयलाई राहत पनि दिनुपर्यो ।

स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु छन् । कृषिलाई रिभाइज गर्नुपर्यो । प्याकेजको रुपमा खर्च गर्न सकिने झन्डै दर्जन क्षेत्रहरु छन् ।

बैंकको ब्याजदर घटाइदिनु पर्यो । कर छुट दिनुपर्यो ।

कोराना विरुद्ध लड्न भारतले २२ अर्ब र अमेरिकाले २ हजार अर्ब डलरको प्याकेज ल्याइसकेका छन् । त्यस्तै, अन्य देशहरुले पनि धमाधम प्याकेज ल्याइरहेका छन् । तर हाम्रो देशमा भने अहिलेसम्म त्यस्तो प्याकेज आएको छैन ।

कसरी जुटाउने ?

खर्च हुन नसकेका आयोजनाहरुको बजेट रकमान्तर गर्ने ।

केही रकम विदेशी सहायता लिने ।

गत सालको राजस्वको ५ प्रतिशतसम्म ओभरडाफ्ट लिन सकिन्छ ।

१ खर्ब ९५ अर्ब रुपयाँ आन्तरिक ऋण उठाउनुपर्ने छ । त्यहाँबाट पनि केही रकम लिन सकिन्छ ।

अहिलेसम्म २५ प्रतिशतमात्रै विकास खर्च भएको छ । अब बाँकी २/३ महिनामा सबै खर्च गर्नसक्ने अवस्था छैन । यसरी खर्च नभएको रकम पनि तान्न सकिन्छ ।


पुष्प दुलाल