वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय पर सार्नुपर्छः मन्त्री डा. खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनु पर्ने बताएका छन् ।

मन्त्री खतिवडाले दातृ मुलुकले यस्ता सदासयता देखाएको खण्डमा नेपाल जस्तो सीमित स्रोत भएका मुलुकहरुले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने बताए ।

मन्त्री खतिवडाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम, एशियाली विकास बैंक, एशियाली पूर्वाधार विकास बैंक जस्ता बहुपक्षीय विकास संस्था लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीसँगको छलफलमा यस्तो बताएका हुन ।

विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले हालसम्म चालेका संस्थागत र कार्यक्रमिक कदमहरु तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारे भिडियो कन्फरेन्स मार्फत छलफल पनि भएको छ ।

अर्थमन्त्री डा. खतिवडाले कोरोना भाइरसका कारण नेपालमा मानवीय र आर्थिक संकट सँगसँगै आएको समेत जानकारी गराए । उनले पहिलाको कुनै संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि सर्वथा उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनुपर्ने बेला आएको जानकारी गराए ।

डा. खतिवडाले विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भए तापनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वाेपरी रहनेमा जोड दिए ।

उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा यस क्रममा अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न नेपालले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउँदै यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए ।

खतिवडाले विकास साझेदारहरुसँग अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भन्दै नीति, कार्यक्रम र सहायता उपकरणबाट नेपाल जस्तो जोखिमयुक्त देशको संकटको समाधानका लागि काम गर्न आवश्यक रहेको बताए । नियमित रुपमा उपलव्ध भइरहेको अतिरिक्त थप स्रोत साधनबाट मात्र संकट समाधान हुने उनको भनाई छ ।

छलफलमा कोरोना रोकथाम उपचार र पुनस्र्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्ने जानकारी गराए । उनले समितिमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त दातृ निकायका प्रतिनिधिहरुलाई समेत समावेश गर्ने नेपालको प्रस्ताव प्रति विकास साझेदारहरुले समर्थन गर्दै उक्त सहजीकरण समितिमा आ–आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता राखे । विकास साझेदारहरुले नेपालले हालसम्म गरेका कार्यहरुको सराहना गर्दै अब गर्ने प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाए ।

विश्वका सबै मुलुकले सामना गरिरहेको हालको संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा उनीहरुले जोड दिएका थिए । भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे धारणा राखेका थिए ।

छलफलमा विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर,अन्तर्राष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैकका भाईस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैकका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि जे पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजर, नेपाल स्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल भएको थियो ।


क्लिकमान्डु