बैंक अफ काठमाण्डूले कोरोना भाइरस रोकथामका लागि १ करोड रुपैयाँ दिने



काठमाडौं । बैंक अफ काठमाण्डूले कोभिड-१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा १ करोड रुपैयाँ दिने भएको छ । उक्त रकममध्ये प्रत्येक प्रदेशको राहत कोषमा ५ लाखको दरले ३५ लाख तथा बाँकी ६५ लाख रुपैयाँ केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय बैंकले गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो ।

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टीजस्ता सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आइरहेको जानकारी समेत गराएको छ ।


पुष्प दुलाल