१ अर्बको अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने तयारीमा जुट्यो एनआरएनए



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोना विरुद्ध जुध्न घोषणा गरेको १ करोड सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको जनाएको छ ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न सरकार समक्ष आग्रह गरेको छ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन् । सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्र्याउने तयारी गरेको केसीले जनाए ।

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ ।

संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो ।


क्लिकमान्डु