मेरो नियत खराब छैन, बैंकले चाँडो निर्णय गर्दिए उद्योग चलाएरै ऋण तिर्छुः चण्डीराज ढकाल (भिडियोसहित)
कुनैबेला गार्मेन्ट निर्यात गरी सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याएर धेरै वर्षसम्म सरकारबाट सम्मान पाएका व्यवसायी चण्डीराज ढकाल अहिले बैंकको ऋण तिर्न नसकेर कालोसूचिमा छन् । विगत ३ वर्षदेखि ढकालले आफ्नो डुबेको उद्योग मोमेन्टोमा विदेशी लगानी ल्याएर फेरि चलाउने बताउँदै आएका छन् । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा उनले यस्तै प्रस्ताव पठाएका छन् । अब बैंकले ऋणी असूलीको कानूनी प्रक्रिया शुरु गर्ने भनिसकेको छ । तर ढकाल भने बैंकले समयमै निर्णय नगरेका कारण आफूलाई अफ्ठेरो भएको बताउँछन् । ढकाल कसरी व्यवसायमा असफल भए ? अबको निकास के ? र, नेपाल उद्योग वाणिज्य महासंघमा हस्तक्षेप गरेको भन्ने आरोपमाथि केन्द्रित रहेको क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले ढकालसँग गरेको कुराकानीः
चण्डीराज ढकाल भन्नेवित्तिकै बैंकको ऋण नतिरेर कलोसूचीमा परेको व्यवसायीको रुपमा चिनिन्छ । तपाईंको नियत नै ऋण नतिर्ने हो ?
मैले साँच्चिकै ऋण नतिर्ने सोचाइ बनाएको भए यहाँ बस्नुपर्ने नै थिएन । जब मेरो उद्योग बन्द भयो मैले विभिन्न बैंकको करिब २ अर्ब रुपैयाँ ऋण तिरेको छु । एनसीसी बैंक, एनबी बैंक र लुम्बिनी बैंकमा गएर सोधे हुन्छ ।
म आफू बसेको घर, अफिस बेचेर बैंकको ऋण तिरेको छु । सितापाइलामा कुनै जमानामा सबैभन्दा राम्रो र ठूलो घर मेरो थियो । बैंकको ऋण तिर्न त्यो पनि बेचेँ । आज त्यसको मूल्यांकन १ अर्ब रुपैयाँ छ । मेरो पहिलो उद्देश्य भनेको यो उद्योग जसरी भए पनि चलाउने हो । त्यो उद्योगबाट जति गुमाएँ, त्यसलाई रिकोभर गरेर पुनः उद्योगलाई उचाईमा पुर्याउने छ ।
मसँग कति सम्पत्ति छ । मैले सम्पत्ति नबेचेर राखेको भए अहिले त्यसको १० प्रतिशतले सबै ऋण सकिने थियो । म उद्योग वाणिज्य महासंघमा अध्यक्ष भएको हुँदा १० करोड आउने सम्पत्ति ६/७ करोडमा बिक्री गरेको छु । आजको दिनमा मेरो ऋण वाणिज्य बैंकमा मात्र हो । नतिर्ने नियत भएको भए कसैको पनि तिर्दिनथेँ होला नि होइन र ?
एउटा सामान्य व्यक्तिले तपाईंको जस्तै बैंकको ऋण नतिरेको भए जेल परिसकेको हुन्थ्यो । तपाईं त यति लामो समयसम्म ऋण नतिर्दा पनि खुलमखुल्ला हिँडिरहनु भएको छ । कति शक्तिशाली है तपाईं ?
यो गलत भनाइ हो । चण्डीराज ढकालले अब वाणिज्य बैंकको मात्र ऋण तिर्न बाँकी छ । चण्डी ढकालले मेसिन त बेचेर खाएको छैन नि । बैंकिङ व्यवस्थापनमा बसेको व्यक्तिले यो कुरा बुझेको छ । मैले ल्याएको लगानीकर्ता जानकारी लिन अहिले गुगलबाट सकिन्छ । कोही व्यक्ति लगानी गर्न त्यसै त आएको छैन ।
तपाईंले ऋण तिर्नभन्दा पनि मिनाहा गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको शक्ति हदैसम्म प्रयोग गर्नुभयो भन्ने आरोप छ । व्यक्तिगत स्वार्थमा महासंघको शक्तिको प्रयोग गर्न मिल्छ र ?
अरु ऋण नतिर्ने व्यक्तिलाई खोज्नुपर्छ । म आफू नै बैंक खोज्दै जान्छु । नेपालमा धेरै मान्छेको बुझाइ नकारात्मक रुपमा सोच्ने भएर हो । उद्योग चलाउने भएपछि सुविधा माग्नुपर्यो । होइन भने नगए पनि भयो । उच्च व्यवस्थापकसँग सहमतिमा नै अगाडि बढेको छु । मेरो उहाँहरुबीच सिरियस छलफल नभएको भए मलाई मुद्दा लगाउन सक्ने थिए ।
हाम्रो प्रश्नको जवाफ आएन नि ? प्रष्ट भन्दिनुहोस् न ।
चण्डीराज ढकाल आफैं अध्यक्ष हुँदा त महासंघलाई आफ्नो फाइदाको लागि प्रयोग गरेन । मलाई त्यो बेला मन्त्री र सचिवले भनेका थिए- तपाईंको आफ्नो समस्याको बारेमा भन्नुहोस् भनेर । मैले आफ्नो समस्या कहिल्यै पनि राखिन । न मैले महासंघको कुनै स्रोतको नै प्रयोग गरेको छु । न यसलाई दुरुपयोग गरेको छु । त्यसैले मैले अरुलाई गाली गर्न सक्छु । मेरो समस्या सल्टाउन को व्यक्ति गएको छ ? पशुपति, शेखर, भवानी र सुरज जसलाई सोधे पनि हुन्छ ।
तर, सुरज वैद्यको पालामा उहाँले यो समस्या सल्ट्याउन पहल गर्नु भएको थियो । तपाईंले नै मान्नु भएन नि ?
सुरजजीले आफ्नो समस्या त सल्ट्याउन सक्नु भएन मेरो कसरी सक्नुहुन्थ्यो ? चिनेको व्यक्ति संचालक छ भनेपछि कुरा गर्न भनेको होला । तर, त्यो लेभलमा कुरा अगाडि बढेको थिएन ।
तपाईंको राजनीतिक पुष्ठभूमि कम्युनिष्ट होइन । अहिले देशमा बहुमतको कम्युनिष्ट सरकार छ । यो सरकारले ऋण तिर्न तीब्र दबाब दिएका कारण डराएर तपाईंले ऋण तिर्ने प्रयास गर्नु भन्ने चर्चा छ नि ?
मलाई हिँजो पनि सरकारले पेलेको थिएन । आज पनि पेलेको छैन । सरकारले मलाई सहयोग गरेको छ । मसँग अहिले सिरिसय लगानीकर्ता आएको छ । म आफै सरकारलाई खोज्दै हिँडेको छु । वाणिज्य बैंकले ५० करोडभन्दा मैले ४० करोड दिन्छु भनेर त गए नि । म ऋण तिर्नको लागि तयार छु । उद्योग चलाउछु ।
तपाईंले ठ्याक्कै वाणिज्य बैंकलाई तिनुपर्ने ऋण कति हो ?
वाणिज्य बैंकमा मैले लिएको ऋण खासमा ९ करोड हो । त्यसपछि पुर्नतालिकरण गरेर ११ करोड रुपैयाँ लिएको थिए । त्यो लिएपछि मेरो उद्योगमा हावाहुरी आएर ३० करोडभन्दा बढीको घाटा गयो । त्यो बेला बीमा भएको थिएन । जसले गर्दा मलाई घाटा भयो । कृष्णभिरमा पहिरोको कारण ३८/३९ लाख अमेरिकी डलरका सामानहरु अड्किए । माओवादी द्वन्द्वको कारण मैले १ करोड १२ लाख अमेरिकी डलर छुट दिनुपर्यो । ६७ लाख अमेरिकी डलर मैले त्यो बेला हवाइ भाडा मात्रै तिरेँ ।
चण्डीराजसँग २३ करोडको सम्पत्ति, तिर्नुपर्ने अर्ब बढी, असूलीको कानूनी प्रक्रिया अघि बढाउँदै बैंक
विश्व बैंकको व्यवस्थापन वाणिज्य बैंकमा आयो । उसले पुनसंरचनामा सहमति जनाएको थियो । तत्कालिन व्यवस्थापनमा रहेका व्यक्तिले मेरो उद्योगको समेत भ्रमण गरेका थिए । उसले मलाई नेपालका सरकारी निकायमा रहेका व्यक्तिहरु बायस रहेको बताएको थियो । मलाई त्यो बेलापनि बैंकबाट लिएको ऋण विदेशमा लगेको आरोप लगाएका थिए । त्यो बेला उनले १ अर्बको लगानीको पनि उद्योग नबन्ने बताएका थिए । उद्योग अवलोकनपछि मलाई चाहिएको ऋण दिने आश्वासन दिएक थिए । उसले त्यो भनेपछि मैले ३० करोडको एलसी खोलेर सामान मगाएको थिए । त्यो बेलादेखि माओवादीको द्वन्द्व झनै बढ्यो ।
मेरो उद्योग चलेको बेला नेकोन एयर २ वटा फ्लाइट हरेक दिन चाटर्ड समेत गरे । आर्मीको पुमा हेलिकप्टर स्टाण्डबाई हुन्थ्यो ।
कुनैबेला सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएर सरकारले लगातार सम्मान गरेको व्यक्ति । व्यवसाय असफल हुनुमा तपाईंको आफ्नो कति हात रह्यो र बाँकीको कस्तो भूमिका रह्यो ?
मेरो व्यवसायको डाउनफलको पहिलो कारण माओवादी द्वन्द्व नै हो । गार्मेन्ट भनेको सेन्सेटिभ प्रोडक्ट हो । यसमा भुक्तानी समयमा सामान डेलिभरी गरेपछि मात्र पाइन्छ । त्यसपछि छुट दिनुपर्छ । मेरो आफ्नो भूमिका १५ देखि २० प्रतिशत रह्यो । जति मैले त्यसमा फोकस गर्नुपर्ने थियो । त्यो उद्योग वाणिज्य महासंघको राजनीतिका कारण गर्न सकिन । मसँग पुरा १०० जना विज्ञहरु थिए । म एक जमानामा व्यवस्थापनमा काम गर्नेलाई सबैभन्दा बढी तलब बाँढेको व्यक्ति हो । जुन बेला बैंकको सीइओले २ लाख तलब खाने खाँदैनथे, त्यो बेला मैले ५ देखि ६ लाखसम्म तलब दिएको थिए । त्यो व्यवस्थापनमा डिपेन्ड भए ।
त्यतिखेर वाणिज्य बैंक र नेपाल बैंकलाई वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत पुनरसंरचना गर्ने भन्यो । अब साँच्चिकै भन्नुहुन्छ भने अनन्त पराजुली भन्ने व्यक्ति वाणिज्य बैंकको व्यवस्थापनमा आए । उसको कारणबाट पनि मलाई समस्या आयो । म अमेरिकामा थिएँ । उहाँले मेरो ५०/६० करोडको लिमिड बन्द गर्दिनुभयो । त्यो बेला ७ करोड डलरको माल अमेरिकामा इम्बार्गो लाएर बसेको थियो । त्यो बेला प्रकाशचन्द्र लोहनी परराष्ट्रमन्त्री हुनुहुन्थ्यो, केदारभक्त माथेमा परराष्ट्रसचिव हुनुहुन्थ्यो ।
म त्यो बेला २२ दिन अमेरिका बसेँ । २७ लाख अमेरिकी डलरको सामानमा ७ लाख डलरमात्र आयो । त्यो बेला बैंकले त्यो पैसा नतिर्दासम्म अरु एलसी नखोल्ने भनेर दियो । हामीसँग ७० लाख डलरको एलसी वाणिज्य बैंकमा थियो । हरेक एलसीबाट १० प्रतिशत काट्दै जानुभन्दापनि त्यो बेला ९ महिना निर्णय गर्न लगाउनुभयो । मैले तत्कालिन अर्थमन्त्री र गभर्नरसँग भन्दा उहाँले ३० लाख डलरको एलसीमा १५ लाख डलर दिन्छु भन्नुभयो । १५ लाख डलरको एलसी खोलेर सामान आएपछि अर्को १५ लाख डलरको एलसी खोल्न २ महिना लाग्यो । त्यो लटमा मैले करिब २२ लाख डलर गुमाएँ । मेरो डिजास्टरको सुरुवात त्यहीँबाट भएको हो ।
२००३/४ सालतिरको कुरा हो । मैले बंगलादेश बैंकसँग कुरा गरेर ३० लाख डलरको एलसी खोले । त्यो बेला मेरो खरिदकर्ताले माल नपठाउने हो सामान नलिने बतायो । नेपालको बैंकिङको सिस्टमलाई यसरी बुझिन्छ- घाम पर्दा छाता दिने र पानी पर्दा छाता खोस्ने । मैले जापानी कम्पनी यिचुतीलाई भित्राएको थिए । त्यो बेला वाणिज्य बैंकको व्यवस्थापन हेर्न आएको व्यक्ति क्यान्सरको कारण बित्यो । मेरो सामान कलकत्तामा आएपनि यहा निर्णय नहुँदा २ महिनामा नै कलकत्तामा अड्कियो । त्यो बेला व्यवस्थापन हेर्ने ब्रुससँग कुरा गरेर ऋण ३० करोडमा पुर्नसंरचना गर्यौं ।
अहिले सबैले ३० करोड भनेको त्यही हो । कुनै बेला वाणिज्य बैंकमा १७/१८ प्रतिशत समेत ब्याजदर थियो । हामीले पछि कागज हेर्दा केही रकम मैले बैंकबाट लिनुपर्ने जस्तो पनि देखिएको थियो । मैले १ करोडको ऋणको समेत ३ करोड सम्मपनि तिरेको देखिएको थियो ।
मैले उद्योग चलाउदा ३३ सय महिला कर्मचारीकाम गर्थे । त्यसमा २२ सय स्नातक पढेका थिए । २/३ सय विदेशी थिए । मेरो साना उद्योग थिएन । मैले आयातको एलसी मात्र १ अर्बको खोल्ने गरेको थिए । बैंक ग्यारेन्टी जिरोमा समेत खुल्ने अवस्था थियो । त्यो कुरा सम्झने हो र मसँग मेरो कुरा सुन्ने हो मलाई अन्याय भएको भनेर भन्ने छन् । कतिपय व्यवसायीहरु भारत पलायन भए । म यही छु ।
कुनैबेला यो गार्मेन्ट व्यवसाय नगरेको भए खराब अवस्था आउने थिएन भन्ने लाग्दैन ?
मैले गार्मेन्ट नगरेको भए त्यो उचाईमा पुग्ने पनि थिएन । यो फास्ट मुभिङ व्यवसाय हो । यसमा ग्लामर पनि छ । मलाई अरुले त्यो ठाउँमा अरु व्यवसाय गरौं भनेका हुन्छन् । म आफु गार्मेन्ट नै गर्न चाहन्छु । गार्मेन्टभित्रको पेन पनि थाह छ । र, ब्युटी पनि थाह छ । यो सजिलो व्यवसाय भने होइन । यदि तपाईं ट्राभलमा इन्जोय गर्न चाहनुहुन्छ भने यसमा तपार्इं इन्जोय गर्न सक्नुहुन्छ । एक महिनामा २९ दिनमा तपाईं विदेशीसँग मात्र सम्पर्क राख्नुहुन्छ । यो पछिको कुरामा मैले सबै एड्रेस गरेँ । मलाई बैंकका सीइओहरुले भनेका थिए- यो २०/३० करोड किन तिर्नुहुन्छ ।
मैले वाणिज्य बैंकमा सबैभन्दा बढी निर्यात गर्दा डलर कति दिए होला ? मैले अल्पकालिन ऋणको ब्याजदर कति तिरे होला, दीर्घकालिन ऋणको कति तिरे होला ? वाणिज्य बैंकले मसँग भन्दा कति गुणा कमाएको छ । मेरो प्रिन्सिपल एमाउन्ट भनेको ११ करोड मात्र हो । मैले ३५ करोड तिर्छु भन्न पनि गएँ । म अहिले ५२ करोड तिर्छु भनेर कागज गरेको थियो ।
तपाईंले अब कति समयमा वाणिज्य बैंकको ऋण तिर्नुहुन्छ ?
मैले वाणिज्य बैंकमा कागज गरेको छु । मसँग लगानीकर्ता पनि यहाँ लगानी गर्नका लागि तयार छ । कुन मोडालिटीमा जाने भनेर निर्णय पनि गरेको छु । मसँग लगानी गर्छु भनेको मान्छे ३ वर्षदेखि कुरेको छ । उसले यहाँ आएर गभर्नरलाई पनि भेटेको छ । सीइओलाई भेटेको छ । वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठ धेरै नै सकारात्मक पाएँ । उहाँले यसलाई सल्टाउन खोज्नु भएको छ ।
मैले सुरुमा ३५ करोड सम्म तिर्ने अफर गरेको थिएँ । त्योभन्दा हामी अगाडि गएर ५० र ५२ करोडमा तिर्न तयार छु । सुरुमा टोकन मनिको रुपमा ८ देखि १० करोड तिर्ने हो । ५ वर्षभित्रमा सावाँ र ५ वर्षभित्रमा ब्याज तिर्ने बिजनेश प्लान दिएको छु ।
४ महिनामा उद्योग चलाउँछु । उद्योग चलाएपछि कमाइ हुन्छ, त्यसले ऋण तिर्छु । अब बन्द भएको कम्पनीलाई ब्याज जरिवाना लगाएर ठूलो रकम छ भन्न मिल्दैन ।
गार्मेन्ट व्यवसायमा अहिले विश्वमै तीब्र प्रतिस्पर्धा छ । यस्तो अवस्थामा फेरि डुबेको गार्मेन्ट उद्योग व्यूताउँछु र चलाउँछु भन्नुहुन्छ । तपाईंको कुरालाई के का आधारमा विश्वास गर्ने ?
मेरो व्यवसाय बिजनेश नपाएर बन्द भएको होइन । मेरो जुन खरिदकर्ता आएको त्यो खुसी भएर गएको थियो । टाइम डेलिभरी गर्न नसेको कारण म समस्यामा परेको हो । त्यो बेला एक महिनासम्म नोपल बन्द भएको थियो । मैले हेलिकप्टर र प्लेनबाट समेत सामान पठाएको छु । गार्मेन्टबाट नै गर्न सक्छु भन्ने विश्वास छ ।
बिजनेशको असफलतालाई कसरी समीक्षा गर्नुहुन्छ ?
त्यो अवस्थामा मेरो उद्योगको उत्पादन क्षमता ३ लाख पिस थियो भने मैले २ लाख पिस मात्र उत्पादन गर्नुपर्ने थियो । मसँग टप क्लासको व्यवस्थापन थियो । मैले यो महिना डेढ करोड घाटा भयो अब रातदिन उत्पादन गरौं भनेर थप उत्पादन गर्ने नीति नै अन्तत गलत भयो । आजको मेरो उद्योग डेढ अर्बको लगानीले पनि खुल्दैन ।
सफलताको शिखरमा पुगेको तपाईं असफलताको सडकम झर्नु भएको छ । बैंकको ऋण तिर्न नसकेका कारण कालोसूचिमा पनि पर्नु भएको छ । चौतर्फी आलोचना खेप्नुपरेको छ । कस्तो अनुभूति भइरहेको छ ?
तपाईंले भनेको सत्य हो । कुनैबेला नेपालको अर्थतन्त्र मैले चलाउने गरेको थिए । नेपालले गर्ने कुल निर्यातमा २७ प्रतिशत हिस्सा मेरो थियो । यो अवस्थामा आउँदा कता कता असहज स्थिति हुन्छ । म एउटा कारणबाट नै जिउन सक्ने आधार भनेको मेरो नियत खराब छैन । मैले अरु बैंकको करिब २ अर्ब रुपैयाँ तिरिसकेको छु । अब मेरो समस्या भनेको वाणिज्य बैंकको मात्र हो ।
केही पटक त बिजनेशमा भएको असफलताले डिप्रेशन पनि भयो । तर, बलियो आत्मबल भएकाले सम्हालिन सकेँ । म समस्या सल्ट्याउन लागेको छु । त्यो उद्योगलाई चलाउँछु भन्ने इच्छाशक्तिमा नै भएको हो ।
मैले आफ्ना समस्या समाधान गर्दैछु । जुन देशमा १० वर्ष माओवादीको द्वन्द्व भयो । त्यसपछि संविधान बनाउनको लागि १० वर्ष लाग्यो । भूकम्प र नाकाबन्दी भयो । यो समस्या चण्डीराज ढकालले गर्दा भएको होइन । ५० करोड डलर भित्र्याएको गार्मेन्ट, कार्पेट र पश्मिना क्षेत्र धरासायी भयो ।
हिँजो बनस्पती घिउ,यार्नबाट रातारात करोडपति भएका व्यक्ति कहाँ गए ? उनीहरुको नाम पनि छैन । मसँग हिँजो बढी निर्यातकर्ता हुनुभन्दा बढी आज मेसिन छ । मैले आइटिसीसँग मिलेर जोन प्लेयर जस्ता ब्राण्डलाई यहा भित्र्याउन मद्दत गरे । चारैतिरबाट प्रहार हुँदा असहज अनुभव गर्नु स्वभाविक हो ।
तपाईंसँग फेरि उद्योग चलाउने प्रष्ट आधार र योजना के छ ?
योजना भएर नै म बैंकमा गएको हो । मसँग लगाानी गर्छु भन्ने लगानीकर्ता छ । मसँग सम्पत्ति छ । उद्योग छ । म उद्योग चलाउन सक्छु । मसँग अहिले लगानीकर्ता लगानी गर्नको लागि तयार छ । विदेशी लगानीकर्ता आएर देशको लागि फाइदा हुने हो । मसँग ५ हजार करोडको व्यापार गरेको लगानीकर्ता आउन लागेको छ । बन्द भएको उद्योग लिलामीमा जाँदा २० करोड रुपैयाँ पनि आउँदैन । भोलि चल्यो भने ५० करोडभन्दा बढी लगानी छ ।
मैले रिलायन्ससँग कुरा गरेको छु । दुबईको पर्फेक्ट ग्रुपसँग कुरा भएको छ । अर्को राज भन्ने मद्रासको । अर्को रविचन्द्र भन्ने भारतको । थोमस् भन्ने लगानीकर्ता आएको छ । मैले त्यो सम्झौता पनि बैंकमा पेश गरिसकेको छु । मैले चाहे अनुसार काम भएको भए यतिबेलासम्म १ करोड डलरको निर्यातसमेत गरिसक्ने अवस्था हुने थियो ।
कहिलेसम्ममा तपाईको उद्योग चल्छ ?
जुनदिन बैंकले निर्णय गर्छ । त्यसको ४ महिनाभित्रमा उद्योग चल्छ । बैंकको निर्णय जति छिटो भयो त्यति नै छिटो उद्योग चल्छ ।
बैंकले के निर्णय गर्नुपर्ने हो ?
बैंकसँग विभिन्न खाले हामीले प्रपोजल हालेका छौं । ऋणको पुनसंरचना गर्नुपर्ने छ । वाणिज्य बैंकलाई निश्चित रकम तिरेपछि एलसी खोल्न कसरी दिने ? त्यसको लागि शुरुमा १० करोड राख्न तयार छु । ननफण्डेड लिमिटको क्लियर आउन बाँकी छ । कोरोनाका कारण प्रक्रिया लम्बिन सक्छ । चैतमा निर्णय गराएर उद्योगलाई ४ महिनासम्म चलाउने मेरो तयारी थियो ।
एफएनसीसीआईका क्रियाकलापमा अनावश्यक हस्तक्षेप गरेको भन्दै तपाईंको आलोचना भइरहन्छ । चण्डीराज ढकाल एफएनसीसीआई नभई बाँच्नै सक्दैन हो ?
उहाँहरुलाई चाहिँदा म दुधले धोएको हुने । चण्डी दाई मलाई केही पनि थाह छैन भन्दै आउने । अनि चुनाव जितेपछि म बिग्रेको हुने ? ऋण तिर्न नसकेको हुने ? मैले नै उहाँहरुलाई चुनाव जिताएको होइन र ? त्यो कुरा बिर्सनु त भएन नि ।
मेरो बुई चढेर कोही मान्छे कुर्सीमा पुग्छ अनि मैले दाइजो ल्याएको भनेर भन्छ भने म त भिड्न तयार हुन्छु । आज केपी शर्मा ओलीले कसैलाई मन्त्री बनाउनुभयो, अनि मन्त्री बनाएपछि त्यो मन्त्रीले मैले प्रधानमन्त्रीका कतिवटा काम गर्दिएँ भन्न मिल्छ रु उसलाई काम गर्ने अवस्थामा कस्ले लगेको ?
अरु पूर्वअध्यक्षहरु चाहीँ चुप लागेर बस्न सक्ने तपाईंचाहीँ कहिले विशिष्ट, कहिले विधान समित, कहिले के, कहिले के पद नभइ नहुने ? यो त अलि सुहाएन नि ?
महेशलाल श्रेष्ठ र पदम ज्योतिको पालामा पनि बिनोद चौधरी हाबी भएका थिएन । खै को बोल्यो त्यो बेला ? रविभक्तजी, महेशलालजी, पशुपतिजी, कुशजी, सुरजजी नै हाबी हुन आए भैगो नि । अरु पूर्वअध्यक्षहरुलाई मैले वा अरु कस्ले भनेको छ महासंघमा नजाउ भनेर रु उहाँहरु पनि लाग्नुहोस्, आफ्नो टिम जिताउनुहोस् ।
महासंघको चुनावी अंकगणितमा निकै प्रभावशाली हुनुहुन्छ । तपाईंसँग चुनावी नतिजा प्रभाव पार्नसक्ने तागत छ । ठ्याक्कै भन्नुस् न तपाईंले जहाँ भन्यो त्यहीँ भोट हाल्नेको संख्या कति छ ?
जिल्ला नगरमा हेर्ने हो भने मैले भन्दा साथीहरुले मलाई विश्वास गरेर भोट हाल्नेहरुको संख्या ५५ देखि ६० प्रतिशत छ, जसले निर्वाचनलाई प्रभाव पार्न सक्छ । मैले सहयोग गरेको टिम ल्याउँछु भन्ने आशा छ ।
महासंघका पूर्वअध्यक्षहरुले सहमतिमा नेतृत्व चयन गर्नका लागि पहल थालिसकेका छन् । देशको परिस्थिति पनि त्यस्तै छ । तपाईं चाहीँ सहमतिबाट नेतृत्व ल्याउने पक्षमा हो कि होइन ?
ढकालले ४ जना मान्छे बसेर निर्णय गर्नासाथ त्यो लागू हुँदैन । म पनि पूर्वअध्यक्ष हुँ । तर सहमतिमा नेतृत्व चयन गर्ने भन्ने कुरा अहिलेसम्म मलाई कसैले भनेको छैन ।
चुनाव गर्ने कि नगर्ने र चुनावलाई एउटा लेभलमा प्रधाव पार्नसक्ने व्यक्ति हामीहरुसँग कुनै छलफल नै छैन, अनि उहाँहरुले कोठामा बसेर गरेको कुराले पूर्णता पाउँछ जस्तो मलाई लाग्दैन, साथीभाइहरु चुनावका लागि धेरै अघि बढिसकेका छन् ।
पूर्वअध्यक्षज्यूहरु कहीँ न कहीँ आफूलाई चुनावमा सक्रिय गराउन चाहनुहुन्छ । सहमतिमा नेतृत्व चयन गर्ने मुद्दा पनि त्यति मात्रै हो । कस्को लागि सहमति गराउने रु एउटा व्यक्तिको लागि रु कि समग्र टिमको लागि रु जुन कुरा संभव छैन ।