मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म आईपुग्दा मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ ।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर-खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

माघ महिनासम्ममा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेकोमा भारतमा यस्तो (फेव्रुअरी महिनाको) मुद्रास्फीति ६.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१८ प्रतिशत रहेको थियो ।

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.५१ प्रतिशत, ७.७० प्रतिशत र २.९४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.८९ प्रतिशतले घटेको छ ।

माघ महिनासम्ममा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.५१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ११.३१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५५ प्रतिशत र ज्यालादर सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु