कोरोनाले रेमिट्यान्समा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमः अशोक शेरचनको लेख



रेमिट्यान्सलाई नेपालको अर्थतन्त्रको सञ्जीवनीका रुपमा लिन सकिन्छ । किनकी नेपालको कुल ग्राह्स्थ उत्पादन (जीडीपी) सँगको यस्को अनुपात करिब २५ प्रतिशत छ ।

रेमिटेन्सको मुख्य स्रोत भनेको नेपालबाट रोजगारीका लागि विश्वका विभिन्न मुलुक पुगेका हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीको कमाइ हो ।

विश्वको १७२ वटा देशमा श्रम स्वीकृति लिएर नेपालीहरु बैदेशिक रोजगारीमा गएको तथ्यांक छ । करिब ५० लाख (भारतसहित) नेपालीहरु वर्तमानमा विदेशी भूमिमा विभिन्न पेशामा कार्यरत छन् ।

अनगिन्ती समस्यासँग जुध्दै यिनीहरुले आफ्ना घरपरिवार र आफन्तहरुको मुहारमा मुस्कान ल्याउने गरेका छन् । यिनैको कमाइका आधारमा धेरै नेपालीहरुको दशैं-तिहारजस्ता चाडमा गुजारा चल्ने गरेको छ । आफन्त सँगसँगै यिनले देशकै अर्थतन्त्रलाई माथि उकास्नमा पनि ठूलो भूमिका खेलेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा मात्रै रेमिटेन्सको रुपमा ८ खर्ब ७९ अर्ब नेपाल भित्रिएको थियो । विगत ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने यो रकम हरेक वर्ष बढदै गइरहेको देख्न सकिन्छ ।

यसरी हेर्दा रेमिट्यान्स रकम बढेको देखिए पनि यसको वार्षिक वृद्धिदर भने घट्दो क्रममा छ । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्सको आप्रवाह अघिल्लो वर्षको तुलनामा जम्मा ०.९ प्रतिशतले मात्र बढेर ४४७.२६ अर्ब रुपैयाँ पुगेको छ ।

यही बेला विश्वमा कोरोना भाइरसको प्रकोप शुरु भएकाले अब बाँकी रहेको महिनामा यस्को अवस्था के रहने हो आँकलन गर्न सकिने अवस्थामा छैन ।

भारतको लागि भने श्रम स्वीकृतिको आवश्यकता नपर्ने र खल्ला सिमानाका कारणले मौसमी कामदारहरु पनि प्रशस्तरुपमा जाने आउने गर्दछन् । भारतबाट आउने रेमिट्यान्स रकमले पनि नेपाल भित्रिने रेमिट्यान्समा बिस्तारै उल्लेख्य स्थान ओगट्न थालेको छ ।

तर कोरोना भाइरसको प्रकोपपछि भने विगतको रेमिट्यानस आप्रवाहको तथ्यांकमा आमूल परिवर्तन आउने निश्चित प्रायः देखिएको छ ।

नेपालले श्रम स्वीकृति प्रदान गर्न बन्द गरिसकेको छ भने खाडी मुलुकले आफना देशको आवतजावतमा प्रतिबन्ध लगाउन थालि सकेका छन् । यूरोप अहिले कोरोना भाइरसको केन्द्रबिन्दूको रुपमा परिचित भइरहेको छ भने दक्षिण कोरिया, जापानले यस्को उत्कर्षलाई झेलिरहेका छन् ।

छिमेकी देश भारतमा भाइरसको प्रारम्भिक अवस्था देखा पर्दैछ । भारतले यसको उत्कर्ष अवस्था भोग्नु परेको खण्डमा नेपालले पनि त्यस्को ठूलो मूल्य चुकाउनु पर्नेछ ।

कोरोना भाइरसका कारणले हाम्रो देशको रेमिट्यान्सको मुख्य स्रोत देशको अर्थतन्त्रमा राम्रै असर पर्ने लक्षण देखिएको छ । कोरोनाको कहरबाट जोगिनका लागि सबै देशले समूहमा बसेर गरिने कामलाई बन्द गरिदिएका छन् । अर्थात् उद्योग कलकारखाना, ठूला परियोजना, पूर्वाधारका काम, विमानस्थल, स्कुल कलेज, सपिङ मल र सिनेमा हल, सवारीसाधन, होटल, क्यासिनोलगायतका धेरै क्षेत्रहरु विश्वमै केही महिनाका लागि बन्द रहने छन् ।

यी सबै निकायले आफ्ना कर्मचारीलाई बेतलवी बिदा लिनका लागि अनुरोध गरिरहेका छन् । अझ विदेशमा त हायर एण्ड फायरको सजिलो प्रावधान आवश्यकता पर्दा लागू गर्ने चलन पनि छ ।

एक सर्वेक्षणका अनुसार नेपालका करिब ६० प्रतिशत घरपरिवारले रेमिट्यान्स रकम प्राप्त गर्छन् । रेमिट्यान्सका कारणले नेपालको मानव सूचांकमा छोटो अवधिमा धेरै परिवर्तन आएको कुरालाई निम्न तथ्यांकले प्रस्ट पार्दछ ।

यसरी नेपालीको जीवनस्तरमै ठूलो परिवर्तन ल्याउन भूमिका खेल्ने रेमिट्यान्स वर्तमानमा कोरोना भाइरसका कारणले उच्च जोखिममा छ । अर्थतन्त्रमा ठूलो महत्व राख्ने यसले वैदेशिक सहायता र वैदेशिक प्रत्यक्ष लगानीमार्फत् प्राप्त हुने विदेशी रकमलाई उछिन्ने गरेको छ ।

रेमिट्यान्स नेपालको विदेशी मुद्रा सञ्चितीको सबैभन्दा ठूलो स्रोत पनि हो । बढ्दो व्यापार घाटा र शोधानान्तर स्थितिलाई समेत सन्तुलनमा राख्नका लागि रेमिट्यान्सले प्रमुख भूमिका खेलेको सत्यता समेत कसैबाट छिपेको छैन ।

बैंकले निक्षेप संकलन र कर्जा परिचालनमा समेत रेमिट्यान्सका कारणले आफनो दायरालाई फराकिलो पार्न सकेका छन् ।

अन्त्यमा, नेपालको अर्थतन्त्रमा ठूलो महत्व बोकेको, ६० प्रतिशतभन्दा बढी घरपरिवारको दैनिकी थेगेको यस क्षेत्रलाई कोरोना भाइरसले पार्ने प्रभावका बारेमा राज्यले उचित रणनीति बेलैमा लिन नसकेको खण्डमा समग्र देशले नै आर्थिक असन्तुलनको फरक खाले वातावरण झेल्नुपर्ने भएकाले केही प्रभावकारी उपायको अवलम्बन गरिहाल्नु पर्ने देखिन्छ ।


पुष्प दुलाल