बैंकबाट ऋण लिएर आइफोन र सामसुङ मोवाइल किन्दा कति पर्छ इएमआई ?



काठमाडौं । महंगा मोबाइल र ल्यापटप खरिद गर्ने सोचमा हुनुहुन्छ तर खातामा भने जति पैसा छैन ? यस्तो अवस्थामा तपाईका लागि बैंक सहयोगी बन्न सक्छन् ।

जसरी घर बनाउन, कार किन्नका लागि बैंकले ऋण दिन्छन् त्यसै गरी मोबाइल र ल्यापटप किन्न पनि बैंकले ऋण दिन थालेका छन् । जसले गर्दा महंगो मोबाइल र ल्यापटप मासिक किस्ता बुझाउँदै चलाउन पाउन थालिएको छ ।

धेरैजसो बैंक तथा वित्तीय संस्थाले ग्राहकको सहुलियत अनुसार खरिद गरिने सामानको शतप्रतिशतसम्म फाइनान्सिङ गर्ने व्यवस्था गरेका छन् । जसबाट तपाईलाई मन लागेको मोबाइल तथा ल्यापटप चलाउने रहर पूरा हुने भएको छ ।

नेपालमा महंगा र राम्रा भनिने मोबाइलमा एप्पल र सामसुङ ब्राण्डका बढी प्रचलित छन् । यी मोबाइल ब्राण्डका हिसाबले राम्रा र मूल्यका हिसाबले सस्तादेखि महंगो मूल्यमा पाइन्छन् ।

उपभोक्ताको रोजाइमा परेका र तुलनात्मक रुपमा महंगा मानिने सामसुङ र एप्पलका प्रडक्टका लागि अधिकांश वाणिज्य बैंकले ऋण दिन थालेका छन् ।

विश्वभर अत्यधिक लोकप्रियता बटुलिरहेको एप्पल कम्पनीका मोबाइल ल्यापटप तथा आइप्याड खरिद गर्न इच्छुक ग्राहकलाई हाल ११ वटा वाणिज्य बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई आकर्षक ब्याजदरका साथ मासिक किस्ता भुक्तानी (इएमआई)को सुविधा दिएका छन् ।

जसका लागि बैंकले ग्राहकको आवश्यकता अनुसार न्यूनतम २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म १ बर्षदेखि १८ महिनाका लागि कर्जा उपलब्ध गराउन थालेका छन् ।

यसका लागि कतिपय बैंकले शुन्य प्रतिशत डाउनपेमेन्टमा १ हजार रुपैयाँ सेवा शुल्क लिएर ऋण दिन थालेको नेपालका लागि एप्पल कम्पनीको डिलर इभो स्टोरले जानकारी दिएको छ ।

एप्पल कम्पनीका विभिन्न प्रडक्टमध्ये हालसम्म सबैभन्दा बढी प्रयोगमा आएको आइफोन र म्याकबुक प्रो–ल्यापटप हुन् ।

जसमा आइफोन-७ का लागि न्यूनतम ७६ हजार रुपैयाँ र आइफोन- ११ प्रो म्याक्सका लागि अधिकतम २ लाख २७ हजार रुपैयाँसम्मका लागि बैंकहरुले इएमआई उपलब्ध गराउँदै आएका छन् ।

साथै एप्पल कम्पनीकै म्याक बुक प्रो-ल्यापटप १ लाख ८३ हजार रुपैयाँदेखि ३ लाख ९० हजार रुपैयाँसम्मका ल्यापटपमा बैंकले शतप्रतिशत इएमआई गरिरहेका छन् भने एप्पलका अन्य प्रडक्टमा पनि बैंकले इएमआई गरिरहेको छ ।

एप्पल कम्पनीका प्रडक्टमा इएमआई गर्ने वाणिज्य बैंकहरुमा सेञ्चुरी, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, नविल, ग्लोवल आइएमई, सिद्धार्थ, एनआइसी एशिया, एनएमबी, लक्ष्मी, मेगा र हिमालयन बैंक छन् ।

मेगा बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा अधिकतम ५ लाख रुपैयाँसम्म इएमआई गर्छ भने अन्य बैंकले २ लाख रुपैयाँसम्म इएमआई गर्ने नेपालका लागि एप्पल कम्पनीको डिलर इभो स्टोरले जानकारी दिएको छ ।

मासिक किस्ता भुक्तानीमा एप्पलका प्रडक्ट खरिद गर्न ग्राहकलाई कर्जा दिने यी बैंकहरुको कर्जाको ब्याजदर भने १० देखि १२ प्रतिशतसम्म रहेको इभो स्टोरका एक अधिकारीले बताए ।

यसैगरी एन्ड्रोइड फोनमा सबैभन्दा लोकप्रिय सामसुङ खरिद गर्ने ग्राहकका लागि पनि ७ वटा वाणिज्य बैंकहरुले क्रेडिट कार्ड प्रयोगकर्तालाई मासिक किस्ता भुक्तानीमा कर्जा उपलब्ध गराइ रहेका छन् ।

सामसुङका प्रडक्टमा हालै सार्वजनिक भएको ग्यालेक्सी एस-२० र ग्यालेक्सी एस-२० प्लस, एस सिरिज र नोट सिरिजका लागि बैंकहरुले इएमआईका लागि सम्झौता गरेको नेपालका लागि सामसुङ कम्पनीको आधिकारिक बिक्रेता आईएमएस नेपालले जानकारी दिएको छ ।

आईएमएस नेपालसँग सामसुङका मोबाइल खरिद गर्ने ग्राहकलाई इएमआई सुविधाको व्यवस्था गरिदिने बैंकमा ग्लोवल आइएमई, नविल, लक्ष्मी, मेगा, कुमारी, सानिमा, नेपाल इन्भेष्मेन्ट, माछापुच्छ्रे र एनएमबी बैंक छन् ।

यी बैंकहरुले अधिकतम १ लाख १२ हजार रुपैयाँसम्म ३ महिनादेखि १८ महिनाका लागि कर्जा सापटी दिएको दिने आईएमएस नेपालले जानकारी दिएको छ । जसमा अधिकांश बैंकले शुन्य प्रतिशत डाउनपेमेन्टमा नै केही सेवा शुल्क लिएर कर्जा उपलब्ध गराउँदै आएका छन् ।


पुष्प दुलाल