आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सरकारका नाममा त्यस्तो अन्तरिक आदेश जारी गरेको हो ।

अन्तरिम आदेशमा भनिएको छ, ‘देशको र अन्य सीमाबाट नेपाल प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरु प्रवेश गर्ने नागरिक (विदेशी समेत)हरुको अनिवार्य रुपमा कडाइका साथ दक्ष जनशक्तिसहितको स्वास्थ्य जाँचको प्रभावकारी उपकरणको व्यवस्था गर्नु ।’

अन्तरिम आदेशमा कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका देशहरु चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानआदिबाट सोझै र ट्रान्जिट भएर हवाई मार्गबाट अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा आवश्यक परे रोक लगाउन समेत आदेश दिएको हो ।

त्यस्तै, अवस्था र परिस्थितीको गम्भीरताको सुक्ष्म मूल्यांकन गरी जनताको स्वास्थ्य सम्बन्धि राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण बिना प्रवेशमा रोक लगाउनुका साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कालै आइसोलेसन र क्यारेनटाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउन भनिएको छ ।

साथै आदेशमा संक्रमण लाग्न र फैलन नदिन र साथै यसको कारणबाट बजारमा दैनिक उपभोगका अत्यावश्यक खाद्यान्न लगायतका चीज वस्तुहरुको अभाव हुन नदिन र त्यस सम्बन्धमा नियमित निगरानी राखिरहने लगायतका अन्य आन्तरिक व्यवस्थापनका साथै त्यस सम्बन्धि सूचना संकलन गरी यसलाई प्रवाह र संप्रेषण गर्ने व्यवस्थाहरु तत्काल गर्न गराउन भनिएको छ ।

आइतबार अधिवक्ता पूर्व राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेशको माग राख्दै रिट दर्ता गरेका थिए ।


क्लिकमान्डु