कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय



काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले हजारौंको ज्यान लिइसकेको छ । विश्वका झन्डै ६० देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । अहिलेसम्म कोरोना भाइसल लागेको बिरामीको उपचार प्रभावकारी देखिएको छैन । जसकारण विश्व स्वास्थ्य संगठनजस्ता निकायहरुले कोरोना भाइरस मानव जीबनका लागि निकै ठूलो दुस्मन भएको बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल र भारत लगायतका देशहरु पनि कोरोना भाइरसको उच्च जोखिममा राखेको छ । विदेशबाट आउनेहरुलाई नेपाल सरकारले क्वारेन्टाइनमा राखेर परीक्षण गरी कोरोना नभएको पुष्टि भएपछि घर फर्काएको छ । आइतबार मात्रै चीन र कोरियाबाट आएका २ जना नेपालीलाई कोरोना लागेको आशंकामा टेकु अस्पताल भर्ना गरेको छ ।

चीन र कोरियाबाट आएका २ जना कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन के कस्ता उपायहरु अबलम्बन गर्ने भनेर हामीले डाक्टरहरुसँग सोधेर उपयोगी सामाग्री तयार पारेका छौं । तपाईंले पनि यी १३ उपाय फलो गर्नुभयो भने कोरोनाको संक्रमणबाट बच्न सक्नुहुने छ ।

१, घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।

२, एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा÷परिवर्तन गरौ ।

३, घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिकरुपमा सफा राखौं ।

४, घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।

५, ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।

६, घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली÷प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।

७, सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं।

८, रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।

९, घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं।

१०, एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं ।

११, खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।

१२, यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।

१३, दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।


पुष्प दुलाल