चीन र कोरियाबाट आएका २ जना कोरोनाको आशंकामा टेकु अस्पतालमा भर्ना



काठमाडौं । चीन र दक्षिण कोरियाबाट आएका २ जना नेपालीलाई कोरोना भाइरस लागेको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।

दुबै जनामा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि आइसोलेसनमा राखिएको अस्पतालका सञ्चालक डा. बासुदेव पाण्डेले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘चीन र कोरियाबाट आएका २ नेपालीलाई कोरोनाको लक्षण देखिएपछि आइतबार आइसोलेसनमा भर्ना गरेर परीक्षण शुरु गरिसकेका छौं, भोलि रिपोर्ट आउँछ,’ डा. पाण्डेले भने, ‘रिपोर्टमा कोरोना पुष्टि नभए उनीहरु घर फर्किन्छन् ।’

दुबै जनाको घाँटी र नाकको र्‍यालको नमूना संकलन गरी कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको उनले जानकारी दिए ।

दुबै जना चीन र दक्षिण कोरियाबाट नेपाल आएको १४ दिन नबितेको र ज्वरो र रुघाखोकी देखिएकाले अस्पतालको सम्पर्कमा आएका थिए।

अहिलेसम्म कोरोना संक्रमणको आशंकामा २१ जनालाई आइसोलेसनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि चीन र कोरियाबाट आएका २ जनालाई आइसोलेसनमा राखिएको तर रिपोर्ट आउन बाँकी भएकाले अहिले नै केही भन्न नसकिने जानकारी दिए ।

‘रुघाखोकी र ज्वरो देखिएको छ, रिपोर्ट आएपछि मात्रै कोरोना हो वा होइन भन्ने पुष्टि हुन्छ,’ डा. देवकोटाले भने, ‘उनीहरुको स्वास्थ्य परीक्षणका लागि नमूना संकलन गरी पठाइएको छ ।’

विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक यात्रुको विशेष स्वास्थ्य परीक्षण गर्ने भएको छ । यसका लागि अत्याधुनिक उपकरणहरु राखिने छ । आगमन र प्रस्थान गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । यसका लागि आइतबाार मन्त्रालयले कार्यदल नै गठन गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म झन्डै ३ हजार जनाले ज्यान गुमाइसकेका छन् भने झन्डै ९० हजार व्यक्तिमा लक्षण देखिएको छ । विश्वका झन्डै ६० देशमा कोरोनाको लक्षण देखिएको छ । विश्व स्वाथ्य संगठनले नेपाल र भारत लगायतका देशलाई पनि कोरोनाको उच्च जोखिममा राख्दै सतर्कता अपनाउन सुुझाब दिएको छ ।

चीनसँगै दक्षिण कोरिया, इटली र इरान कोरोना भाइरसनको सबैभन्दा बढी जोखिममा परेका छन् ।


पुष्प दुलाल