कोरोना भाइरसका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल हुँदैनः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालको आर्थिक वृद्धिमा संकुचन आउने बताएका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा आयोजित २ दिने तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन समारोहमा उनले अबको आर्थिक वृद्धि खुम्चिन सक्ने बताए ।
‘हामी लगातार ३ वर्ष उच्च आर्थिक वृद्धि र नियन्त्रित मूल्य कायम गर्न सफल भएका थियौ’ उनले भने ‘चीनमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन र चीनसँगको व्यापार रोकिएको कारण लक्ष्य अनुसारको आर्थिक वृद्धि हासिल र मूल्य वृद्धि नियन्त्रण गर्न कठिन छ ।’
तर धेरै चुनौतीहरुको बावजुत पनि नेपालको वित्तीय तथा आर्थिक क्षेत्रको स्थायित्व कायम रहेको उनको भनाइ छ ।
पछिल्लो समय प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी बढेको कारण मुलुकले उच्च आर्थिक वृद्धि हासिलमा गर्न सफल भएको उनको भनाइ छ ।
राष्ट्र बैंकले अझै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई प्रत्साहित नीति अबलम्वन गरी आन्तरिक उत्पादन बढाएर वैदेशिक व्यापार घाटा कम गर्दै मुलुकमा दिगो आर्थिक वृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।
मुलुक संघीयतामा गएसँगै वित्तीय क्षेत्रलाई वित्तीय पहुँच विस्तार र वित्तीय स्थायित्व तथा वित्तीय सुदृढीकरण गर्न प्रोत्साहन पुगेको साथै नेपालको बैंक तथा वित्तीय क्षेत्रमा भुक्तानी प्रणाली तथा प्रविधिमा क्रमिक रुपमा आधुनिकिकरण गरिएको उनले बताए ।
‘हामी अहिले वित्तीय परिदृष्यको आधुनिकीकरण परिवर्तनको प्रक्रियामा छौ’, उनले भने ‘अन्तर्राष्ट्रिय सम्मेलनले अझै यसमा नीतिगत व्यवस्था र अन्य विषयहरुमा सुधार गर्न सुझाव सहितको सहयोग हुने अपेक्षा हाम्रो छ ।’
चीनमा फौलिएको कोरोना भाइसरले पारेको प्रभावलाई रोक्दै विगतको भन्दा बढी वित्तीय स्थायित्व कायम गर्न र आर्थिक वृद्धि हासिल गर्न केन्दिैय बैंकले थप कामहरु गरिरहेको उनले बताए ।
राष्ट्र बैंकद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्त सम्मेलन शुक्रबार र शनिबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा भारत, बंगलादेश, चीन, जापान, अमेरिका, जर्मनीलगायतका देशको सहभागिता रहेको छ ।