कुन बैंकले ब्याजदर बढाए, कुनले घटाए: कस्को बेस रेट कति ? (सूचिसहित)



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ८ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्जाको व्याजदर बढाएका छन् ।

कर्जाको प्रकार अनुसार बैंकहरुले बेसरेटभन्दा केही प्रतिशत थपगरि कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बेसरेटभन्दा तल रहेर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई कर्जा दिदैनन् ।

हालसम्म सबै वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कर्जाको प्रकार अनुसार फरक-फरक ब्याजदर तोकिए पनि प्रवाहित कर्जाको ब्याजदरभन्दा बैंकहरुको बेसरेट परिवर्तनले कर्जाको ब्याजदरमा हेरफेर हुनेहुन्छ ।

८ वटा बैंकले गत वर्षको पुस मसान्तको तुलनामा ०.१० देखि २९.०४ प्रतिशतसम्म बेसरेटमा वृद्धि गरी कर्जाको ब्याजदर बढाएका हुन् । १९ वटा बैंकले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बेसरेट ०.०२ प्रतिशतदेखि १० प्रतिशतसम्म बेसरेट घटाएर कर्जा प्रवाह गरिरहेका छन् ।

वाणिज्य बैंकको औषत बेसरेट भने गत आवको पुस मसान्तको तुलनामा १.९० प्रतिशतले घटेको छ । गत आवमा बैंकहरुको औषत बेसरेट ९.७८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा औषत बेसरेट ९.४९ प्रतिशत कायम भएको छ ।

बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको दोस्रो त्रैमासको तुलनामा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नविल बैंक, नेपाल एसबीआइ बैक, प्रभु बैंक र एनएमबी बैंकले चालु आवको सोही अवधिमा बेसरेट बढाएका हुन् ।

गत वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै सरकारी बैंक नेपाल बैंकले बेसरेट बढाएको छ ।

गत वर्षको पुस मसान्तमा ६.०६ प्रतिशत बेसरेट कायम गरी कर्जा प्रवाह गरिरहेको बैंकले चालु आवको सोही अवधिमा बेसरेट २९.०४ प्रतिशतले बढाएर ७.८२ प्रतिशत पुर्याएको छ ।

पुर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी बेसरेट बढाएर कर्जा प्रवाह गर्ने बैंकको दोस्रो नम्बरमा सुचिकृत भएको छ । गत आवको पुस मसान्तमा ५.६० प्रतिशत बेसरेट कायम गरी कर्जा प्रवाह गरेको बैंकले चालु आवको सोही अवधिमा बेसरेट १७.८६ प्रतिशतले वृद्धि गरी ६.६० प्रतिशत पुर्याएको छ ।

त्यसैगरी, गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा एनआइसी एशिया बैंकले ९.३३ प्रतिशतमा ३.११ प्रतिशतले वृद्धि गरी ९.६२ प्रतिशत, एभरेष्ट बैंकले ८.२२ प्रतिशतमा २.९२ प्रतिशत थप गरी ८.४६ प्रतिशत, नविल बैंकले ७.९४ प्रतिशतमा २.०२ प्रतिशत थप गरी ८.१० प्रतिशत पुर्याएको छ ।

त्यसतै, नेपाल एसबीआइ बैंकले ९.८२ प्रतिशतमा १.२२ प्रतिशत थप गरी ९.९४ प्रतिशत, प्रभु बैंकले ९.३७ प्रतिशतमा ०.८५ प्रतिशत थप गरी ९.४५ र एनएमबी बैंकले ९.३७ प्रतिशत रहेकोमा ०.१० प्रतिशत थप गरी १०.१२ प्रतिशत पुर्याएको छ ।

कर्जा लिन इच्छुकले बैंकको कर्जाको प्रोडक्ड अनुसारको ब्याजदर हेर्नुभन्दा पहिला कर्जा लिन बैंकको बेसरेट कति छ भनेर बुझ्न पर्दछ । बैंकहरुले मासिक वा त्रैमासिक रुपमा बेसरेट परिवर्तन गरिरहेका हुन्छन् । बेसरेट परिवर्तनसँगै कर्जाको ब्याजदरमा परिवर्तन आउने हुन्छ ।

कर्जा लिने व्यक्तिले कुनै एक बैंकबाट कर्जा लिनु अगाडि सञ्चालनमा रहेको सबै बैंकहरुको बेसरेट कति छ र ती बैंकहरुको बेसरेट कहिले परिवर्तन हुन्छ भनेर निक्योल्य गर्न अति आवश्यक छ ।

हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये केही बैंकको बेसरेट उच्च हुनुका साथै ति बैंकहरुको बेसरेट पनि छिटोछिटो परिवर्तन भइरहेका छ । त्यस्ता बैंकको कर्जाको ग्राहक बन्दा भविष्यमा पछुताउनु पर्ने अवस्था आउनसक्छ ।

त्यसैकारण वाणिज्य बैंकको कर्जाको ग्राहक हुन चाहने ग्राहकले कुन बैंकको बेसरेट थोरै छ र अघिल्लो वर्ष वा अघिल्लो त्रैमासको तुलनामा कति थपघट भइरहेको छ बुझेर कर्जा लिन आवश्यक हुन्छ ।

गत वर्षको पुस मसान्तको तुलनामा १९ वटा वाणिज्य बैंकले चालु आवको सोही अवधिमा बेसरेट घटाएर कर्जा प्रवाह गरिरहेका छन् । जसमा सबैभन्दा धेरै सेन्चुरी बैंकले १० प्रतिशत र सबैभन्दा थोरै हिमालयन बैंकले २.०९ प्रतिशत समिक्षा अवधिमा बेसरेट घटाएर कर्जा प्रवाह गरेका हुन् ।

गत आवको पुस मसान्तको भन्दा चालु आवको सोही अवधिमा सेन्चुरी बैंकले ११.५० प्रतिशतबाट १० प्रतिशत घटाएर १०.३५ प्रतिशत, मेगा बैंकले १०.८३ प्रतिशतबाट ९.८८ प्रतिशतले घटाएर ९.१० प्रतिशत, कुमारी बैंकले ११.५५ प्रतिशतबाट ९.८८ प्रतिशतले घटाएर १०.४५ प्रतिशत, कृषि विकास बैंकले ११.१५ प्रतिशतबाट ८.७९ प्रतिशतले घटाएर १०.१७ प्रतिशत, नेपाल बंगलादेश बैंकले १०.८२ प्रतिशतबाट ८.३२ प्रतिशतले घटाएर ९.९२ प्रतिशत, प्राइम बैंकले १०. १७ प्रतिशतबाट ७.०८ प्रतिशत घटाएर ९.४५ प्रतिशत, माछापुच्छ्रे बैंकले १०.९९ प्रतिशतबाट ६.६४ प्रतिशत घटाएर १०.२६ प्रतिशत र सनराइज बैंकले १०.६३ प्रतिशतबाट ६.०२ प्रतिशत घटाएर ९.९९ प्रतिशत पुर्याएको छ ।

यस्तै, गत आवको पुस मसान्तको भन्दा चालु आवको सोही अवधिमा बैंक अफ काठमाण्डूले १०.६० प्रतिशतबाट ५.७५ प्रतिशत घटाएर ९.९९ प्रतिशत, सिद्धार्थ बैंकले १०.५९ प्रतिशतबाट ५.१९ प्रतिशत घटाएर १०.०४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ८.९६ प्रतिशतबाट ४.८० प्रतिशत घटाएर ८.५३ प्रतिशत, सानिमा बैंकले ९.७५प्रतिशतबाट ४.७२ प्रतिशत घटाएर ९.२९ प्रतिशत, ग्लोबल आइएमइ बैंकले १०.०९ प्रतिशतबाट ४.४६ प्रतिशत घटाएर ९.६४ प्रतिशतमा झारेको छ ।

त्यसैगरी, सिभिल बैंकले ११.३१ प्रतिशतबाट २.९२ प्रतिशत घटाएर १०.९८ प्रतिशत, स्ट्याण्र्ड चार्डर्ट बैंकले ७.५५ प्रतिशतबाट २.९१ प्रतिशत घटाएर ७.३३ प्रतिशत, एनसीसी बैंकले १०.५८ प्रतिशतबाट २.६७ प्रतिशत घटाएर १०.५८ प्रतिशत, लक्ष्मी बैंकले १०.३६ प्रतिशतबाट २.६१ प्रतिशत घटाएर १०.०९ प्रतिशत र हिमालयन बैंकले ९.११ प्रतिशतबाट २.०९ प्रतिशत घटाएर ८.९२ प्रतिशत कायम गरी कर्जा प्रवाह गरिरहेको छ ।


पुष्प दुलाल