स्ट्याण्डर्ड चार्टर्डको नाफा १ अर्ब २२ करोड, खुद ब्याज आम्दानी ११.२१ ले बढ्यो



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.१२ प्रतिशत नाफा वृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ८ करोड १५ लाख रुपैयाँले नाफा बढाएर १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ७ लाख रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप संकलनमा ६.३५ प्रतिशत र कर्जा प्रवाहमा २.२६ प्रतिशतको वृद्धि देखिएको छ । पुस मसान्तसम्म बैंकले ८० अर्ब ५४ करोड ७ लाख रुपैयाँ निक्षेप संकल गरी ५४ अर्ब २९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ७५ अर्ब ७३ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ९ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीतर्फ भने ११.२१ प्रतिशतको वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म १ अर्ब ६५ करोड १८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १८ करोड ५१ लाख रुपैयाँले बढाएर १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म बैंकको हाल चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा, प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात १९.१३ गुणा कायम भएको छ ।

सो अवधिसम्ममा बैंकको खराब कर्जा ०.१७ प्रतिशत, कष्ट अफ फण्ड ४.७७ प्रतिशत, वेसरेट ७.३३ प्रतिशत, स्प्रेडरेट ५.९३ प्रतिशत र सीसीडी रेसियो ७८.५६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु