प्रवीणको इन्ट्रिसँगै कामना सेवाको ‘लिपफ्रग’, भन्छन्- मर्जर भए वाणिज्य बैंकसँग मात्रै



वाणिज्य बैंकमा रमाइरहेका प्रवीण बस्नेतले २०७५ सालको भदौमा करिअर परिवर्तन गर्ने निर्णय लिए ।

तत्कालिन समयमा कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका बस्नेतले ‘क’ वर्गको वाणिज्य बैंकबाट ‘ख’ वर्गको राष्ट्रिय स्तरको विकास बैंकमा आउने निर्णय लिएका थिए ।

चाटर्ड एकाउन्टेन्स समेत रहेका बस्नेतले नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका थिए । बस्नेतले नेपाल बंगलादेश बैंक (एनबी) एनआईसीहुँदै माछापुच्छ्रेमा आइपुगेका थिए ।

२०७५ साल भदौंमा बस्नेत नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कामना सेवा विकास बैंकमा प्रवेश गरे ।

गतवर्ष फागुन १ गतेदेखि उनी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) रुपमा कार्यरत छन् ।

त्यतिबेलासम्म पोखराको कामना विकास बैंक र बुटवलको सेवा विकास बैंक आपसमा मर्ज भएर राष्ट्रियस्तरको विकास बैंक कामना सेवा विकास बैंक बनिसकेको थियो ।

गण्डकी र ५ नम्बर प्रदेशमा राम्रो प्रभाव भएपनि कामना सेवा विकास बैंक बस्नेत प्रवेश गर्दा राष्ट्रियस्तरको बनेपनि सो अनुसारको सेवा दिन भने सकेको थिएन ।

बैंकलाई राष्ट्रियस्तरमा पुर्याउनुपर्छ भन्ने सोचका साथ आएर काम अगाडि बढाएको प्रमुख कार्यकारी अधिकृत बस्नेत बताउँछन् ।

‘भोलिका दिनमा वाणिज्य बैंकसँग मर्जरमा जान होस् वा एक्लै हिँड्न बलियो बन्नैपर्ने थियो त्यसका लागि शाखा खोल्ने रणनीति हामीले लियौं,’ बस्नेतले क्लिकमाण्डूसँग एकवर्ष अगाडिको योजना सुनाउँदै भने ।

बस्नेत आउने बेलामा कामना सेवा विकास बैंकको शाखा संख्या ५८ थियो । शाखाहरु बढी मात्रामा गण्डकी र ५ नम्बर प्रदेशमा थिए । अहिले शाखाको संख्या ११४ पुगेको छ ।

बस्नेत बैंकमा डेपुटी भएर आउँदा निक्षेप १५ अर्ब ९७ करोड रुपैयाँ थियो भने कर्जा १४ अर्ब १८ करोड रुपैयाँ थियो । पुस मसान्तसम्मको अवधिमा कामना सेवा विकास बैंकको निक्षेप २७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने कर्जा २४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

शाखा विस्तार, निक्षेप संकलन, कर्जामा भएको वृद्धिले बस्नेतको सफलता देखाइसकेको छ ।

उनी आउनुभन्दा अगाडि नै बोर्डलाई अब राष्ट्रियस्तरमा सञ्जाल फैलाएपछि मात्रै बैंक चल्न सक्छ भन्ने महशुस भइसकेको थियो । त्यही टिओआर अनुसार बस्नेतले कामना सेवा विकास बैंकमा भिजन २०८० को रणनीति अन्तगर्त शाखा खोल्ने काम गरे ।

‘हामीले हल्ला गर्नका लागि मात्रै शाखा खोलेका थिएनौं, ५८ वटा शाखालाई ११४ हुँदै यो वर्ष १२५ पुर्याउने छौ,’ उनले भने ।

कामना र सेवा विकास बैंक मर्जर भएपछि राष्ट्रियस्तरको विकास बैंक बनेर कामना सेवा काठमाडौं आएको थियो ।

काठमाडौंमा चिनाउनका लागि शाखा सञ्जाल आक्रामक रुपमा खोल्नुपर्ने थियो । जसले व्यवसायलाई आक्रामक ढंगले विस्तार गर्न मद्दत पुग्थ्यो ।

बस्नेतका अनुसार कामना सेवाले एकवर्षको अवधिमा शाखा मात्र नभएर बैंकका प्रडक्टलाई पनि फरक ढंगबाट लैजाने नीति लिएको थियो ।

बस्नेतले आफ्नो कार्यकालमा ल्याएको स्वर्णिम सुरक्षित बचत योजना बैंकिङ क्षेत्रमै राम्रो बताएको बताउँछन् । जसबाट ७ लाखसम्मको स्वास्थ्य बीमा ग्राहकलाई दिने योजना पायोनियर भएको र अरुले यसलाई अबलम्बन गरेको दाबी गर्छन् ।

यसबाहेक बैंकलाई आन्तरिकतर्फ पूर्णरुपमा अटोमेशन तथा एमएल सेफ्टीका लागि सफ्टवेयर खरिद गरेको सुनाउँछन् ।

‘लिपफ्रग’ नै छलाङ मार्ने रणनीति अनुसार शाखा विस्तारदेखि प्रडक्टसम्म नयाँ ल्याएर काम गरेको र अबको जोड व्यापार बढाउनेमा रहने बस्नेत बताउँछन् ।

‘१२५ वटा शाखा पुगेपछि आक्रामक शाखा अब हामी खोल्दैनौ, हामीले जोड दिने भनेको नयाँ योजना र ग्राहकलाई सन्तुष्टी हो,’ उनले भने ।

सेवा विस्तारमा कामना सेवाले प्रडक्टको समेत नयाँ काम गरेको छ । विगतमा विदेशी मुद्राको कारोबारका लागि अरु बैंकको भर पर्नुपर्ने अवस्था थियो अहिले कामना सेवामा नै काम हुन्छ भने कामना सेवा विकास बैंकको कार्ड अहिले भारतमा पनि चल्ने भइसकेको छ ।

वाणिज्य बैंकसँग मात्र मर्जरमा जाने योजना

कामना सेवा विकास बैंकले मर्जरमा ‘क’ वर्गका वाणिज्य बैंकसँग मात्र जाने योजना बनाएको छ । बस्नेतले मर्जरलाई बिजनेश डिसिजन भएको भन्दै प्रतिफलको आधारमा हुने बताउँछन् ।

‘मर्जर गरेपछि प्रतिफल बढ्ने हिसाब भएपछि मर्जरमा जाने हो, अर्को विकल्प भनेको बैंक सञ्चालन गर्न नै नसक्ने भएपछि मर्जरमा जानुपर्ने अवस्था आउने हो,’ बस्नेतले भने ।

कामना सेवा विकास बैंकले प्रतिफल बढाउनका लागि मर्जरमा जाने निर्णय लिएको बताउँछन् ।

‘हामी बलिया वाणिज्य बैंकसँग मर्जरमा जाने योजनामा छौं, केहीसँग कुराकानी नभएको पनि होइन तर, निर्णयमा पुगिएको छैन,’ बस्नेतले भने ।

उनले रोजेका वाणिज्य बैंकमा प्रतिष्ठित इतिहास भएको नियामक तथा ग्राहकले विश्वास गर्ने वाणिज्य बैंक भएको बताउँछन् ।

सेयरधनीलाई प्रतिफलमा अझै धैर्य गर्नुपर्ने

कामना सेवा विकास बैंकका सीइओ बस्नेत शाखा सञ्जाल तथा व्यवसाय बढाए पनि सेयरधनीले प्रतिफलका लागि भने अझै धैर्य गर्नुपर्ने बताउँछन् ।

‘हामीले खोलेका शाखाले आगामी वर्षदेखि प्रतिफल दिन थाल्छन्, अहिले हामीले लगानी गरेको हो त्यो प्रतिफल अर्कोवर्षबाट मात्र आउँन थाल्छ,’ उनले भने ।

प्रतिफलको दृष्टिकोणले यो वर्ष चूनौती भएपनि आगामी वर्षदेखि सेयरधनीको अपेक्षा अनुसार नै प्रतिफल दिन सकिने योजनामा बैंक रहेको उनी बताउँछन् ।


पुष्प दुलाल