मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने साढे १ अर्ब बढी



काठमाडौं । साताको तेस्रो कारोबार (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.०९.अंकले घटेर १३३७.०४ विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार दोहोरो अंकले घटेको नेप्सेमा १ सय ७३ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा भने आज नेपाल इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । जसका १० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

यस्तै नेको इन्स्योरेन्स कम्पनीको ६ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सकोे ४ करोड ५२ लाख र ज्योति विकास बैंकको ४ करोड ४० लाख रुपैयाँ र गरिमा विकास बैंकको ३ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

गरिमा विकास बैंक नबिल बैंकसँग मर्ज हुने बजारमा हल्ला चलेसँगै बैंकको सेयर मूल्यमा २२ रुपैयाँले बढेको छ । बैंकको सोमबार सेयर मूल्य २३५ रुपैयाँ कायम रहेकोमा मंगलबार २२ रुपैयाँले बढेर सेयर मूल्य २५७ रुपैयाँ पुगेको हो ।

यसैगरी मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भएको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मूल्यमा ५.२३२५६ प्रतिशतले गिरावट आएको छ ।

मंगलबार नेप्सेमा सुचिकृत १२ वटा समूहमध्ये ४ वटा समूहको सूचक वृद्धि भएको छ भने बाँकी घटेको छ ।


क्लिकमान्डु